After SEE Portal

जीर्ण बन्दै प्राविधिक शिक्षालय

Bridge Course

मर्मतसम्भारलागि बजेट अभाव हुदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ ।

विसं २०४० मा ८६५ रोपनीमा स्थापित यो शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ ।

जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने सो विद्यालय क्षेत्र कुनैबेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । अहिले यहाँ निर्मित ४७ भवन जीर्ण देखिन थालेका छन् भने वरिपरिको वातावरण तथा रमणीय चिया बगान, माछा पोखरीलगायतका स्थल जङ्गल बनेका छन् ।

बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिए ।

मर्मतसम्भारका लागि नेपाल सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उनले बताए ।

“भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ”, कोइरालाले भने, “लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा कोहीबेला प्रयोगात्मक परीक्षा नै रोकिन्छ ।”

हाल विद्यालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर शिक्षालय सञ्चालन गरिरहेको उनले जानकारी दिए । शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब रु चार करोड खर्च लाग्ने आचार्यले जानकारी दिए । वार्षिक एक सय ६० विद्यार्थी भर्ना लिने यस शिक्षालयमा हाल ३२० विद्यार्थी अध्ययनरत छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० बाट सम्बन्धन प्राप्त देशभरिका ६५ आङ्गिक शिक्षालमा कोशी प्रदेशअन्तर्गत सात वटा रहेका छन् ।

त्यसमा धनकुटाको एकमात्र पुरानो शिक्षालय हो । पछिल्लो समयमा स्थानीय तहमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको कमी आएकाले यसलाई बचाउनसमेत चुनौती थपिएको प्राचार्य कोइरालाले बताए ।

A Levels MA