कम्प्युटर शिक्षामा दक्ष विद्यार्थी उत्पादन गर्न सफ्ट्वेएरका कलेज अफ आइटी एन्ड इ–कमर्स काठमाडौँले बेलायतमा लोकप्रिय रहेको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपाल भित्र्याएको छ ।
नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको उक्त कार्यक्रम सञ्चालन भए विद्यालयस्तरमै विद्यार्थीले उच्चस्तरको कम्युटर शिक्षा प्राप्त गर्नसक्ने जनाइएको छ । कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम शुरु भएपछि उनीहरुले अन्तरराष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउनेछन् ।
‘डिजी स्कुल’को आज यहाँ भएको उद्घाटन समारोहमा एनसिसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले उक्त कार्यक्रम बेलायत, सिङ्गापुर, पाकिस्तान, भारतलगायत देशमा लोकप्रिय रहेको बताउनुभयो । यो कोर्ष पढ्ने विद्यार्थीले एनसिसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम सञ्चालन गर्न चाहने स्कुलले सफ्ट्वेएरका कलेजमार्फत अध्यापन गराउन सक्नेछन् । डिजी स्कुल पढ्ने विद्यार्थीले स्कुलमै जाभा, पाइथन, सिउडोकोड, स्क्रटाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवयर मर्मतलगायत विषय सिक्न सक्नेछन् । यस्तै आफैँ सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने सफ्टवेरिकाका डिजी स्कुल, प्रोग्राम अफिसर सम्झना बडालले बताउनुभयो ।
अफलाइन प्रणालीबाट समेत उक्त अध्ययन गर्न सकिनेछ । कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आ–आफ्नै लग इन हुने भएकाले उनीहरुको प्रगति विवरण शिक्षकले चाहेका बेला सजिलै हेर्न सक्ने जनाइएको छ । नेपालका स्कुले विद्यार्थीले पनि अन्तरराष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याइएको हो । सन् २०१० देखि उक्त कलेजले शिक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।