Bachelors Portal

शिक्षकको तलब जुटाउन समस्या

कञ्चनपुर, २७ माघ (रासस) : मुठ्ठिदान बाट सञ्चालनमा रहेको शुक्लाफाँटा नगरपालीका–८ बेलडाँडीमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका नीजि स्रोतका शिक्षकलाई तलब जुटाउन समस्या परेको छ । स्थानियवासीले प्रत्येक घरबाट चन्दाका रुपमा अन्न संकलन गरी बिक्री गरेर सञ्चालन गरेको विद्यालयमा अधिकांश शिक्षक नीजि स्रोतमा कार्यरत छन् । 

शिक्षकको तलबका लागि वार्षीक रु १२ लाख बढी खर्च लाग्ने गरेको विद्यालयका प्रधानाध्यापक गोविन्द ढाँटले बताउनुभयो । विद्यालयमा आठ शिक्षक नीजि स्रोतका छन् । आधारभूत तहका एक शिक्षक स्थायी र दुई राहतमा बाहेक अन्य शिक्षक नीजि स्रोतमा कार्यरत छन् । 

विद्यालयसँग रहेको जग्गा भाडामा दिएवाफत वार्षीक पाउने रु एक लाख, कालिका सामुदायिक वनले उपलव्ध गराएको रु एक लाख र अभिभावकबाट उठाएको रु १२ हजार मात्रै आन्तरिक स्रोतका रुपमा रहेको छ । “आन्तरिक स्रोतका रुपमा पाइएको रकमले शिक्षकलाई तलब दिन पुग्दैन”, प्रधानाध्यापक ढाँटले भन्नुभयो, “अरु रकमका लागि नगरपालीकालाई गुहारेका छौं ।” 

गत आवमा वडा कार्यालयले उपलब्ध गराएको रकमले भौतिक पूर्वाधार विकास, विद्युत् जडान र पङ्खाको व्यवस्था गरिएको थियो । विद्यालयले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पठनपाठनको कार्य समेत शुरु गरेको छ । 

नगर प्रमुख दिलबहादुर ऐरले नगरपालीका भित्र ३२ वटा सामुदायिक विद्यालय रहेकाले अबस्था हेरेर बजेट विनियोजन गरिने बताउनुभयो । सो विद्यालयमा अधिकांश जनजाती, दलित, सुकुम्बासी परिवारका गरी तीन सय बढी बालबालिका अध्ययन गर्दै आएका छन । 

Thuprai - Books and E-books