बूढानीलकण्ठ नगरपालिकाले जारी गर्यो १५ बुँदे प्रतिबद्धतापत्र

बूढानीलकण्ठ नगरपालिकाले शिक्षकका १५ बुँदे प्रतिबद्धपत्र सार्वजनिक गरेको छ ।

सो नगरपालिकाले आयोजना गरेको प्रथम नगर शिक्षक सम्मेलनमा घोषणा गरिएका १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

नगरपालिकाका शिक्षा प्रमुख ललितविक्रम सिंहले ती प्रतिबद्धता कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

१. प्रत्येक बालबालिका हाम्रो गौरब हुन् । यसका लागि प्रत्येक विद्यालयमा प्रारम्भिक वाल विकास र सेवालाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नेछौ ।

२. अबको एक वर्षभित्र प्रत्येक विद्यालयमा आवश्यक सूचक तथा पूर्वाधार विकास गरी र प्रक्रिया पूरा गरी बालमैत्री विद्यालय घोषणा गर्नेछौ ।

३ प्रत्येक विद्यार्थीलाई वर्षमा कम्तिमा २ पटक विद्यालय तहमा एकिकृत स्वास्थ्य जाँच तथा उपचारको उचित प्रबन्ध गर्नेछौ  ।

४. नगरपालिका क्षेत्रमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एक वर्ष भित्र न्यूनतम् सक्षमताको अवस्था सुनिश्चित ग`र्न मापदण्ड निर्माण गरी कार्यान्वयन गर्नेछौ ।

५. शिक्षा क्षेत्रमा न्यूनतम् २० प्रतिसत बजेट बिनियोजनको सुनिश्चितता गर्नेछौ ।

६. उच्च मनोबलयुक्त र अभिप्रेरित शिक्षक विकास र व्यवस्थापनका लागि न्यूनतम् पारिश्रमिक र सुविधाको सुनिश्चितता र पेसागत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछौ ।

७. नगरपालिका र वडा स्तरमा वालउद्यान र  खेल मैदान लगायतका बालमैत्री पूर्वाधार निर्माण गर्नेछौ  ।

८. प्रत्येक विद्यालयमा सक्षम नेतृत्वको विकास र व्यवस्थापन गरी उच्च शैक्षिक नतिजाको प्रर्बद्धन गर्नेछौ ।

९. प्रत्येक विद्यालयमा संगीत, नृत्य, खेलकुद  र योगा लगायतका अतिरिक्त क्रियाकलापमा आवश्यक शिक्षण सिकाइका लागि नगर शिक्षक बैंकबाट शिक्षक परिचालन गरी अतिरिक्त सिकाइको सुनिश्चितता गर्नेछौ ।

१०. विद्यालय शिक्षामा सूचना प्रविधियुक्त शिक्षण, समतामूलक शिक्षण, जीवनपयोगी पाठ्यक्रमको कार्यान्वयन, सघन शिक्षण सेसन सञ्चालन, शिक्षण सिकाइको परीक्षण, विद्यार्थी निमार्णात्मक मूल्यांकन र अभिभावक शिक्षा लगायतका क्रियाकलाप सञ्चालन गरी शिक्षाको गुणस्तर वृद्धि गर्नेछौ ।

११. विद्यालय र नगरपालिकाबीच द्रुत सञ्चार समन्वय र सहकार्यका लागि डिजिटल सञ्चार लगायतको संयन्त्र विकास गरी परिचालन गर्नेछौ । साथै विद्यालय, वडा कार्यालय र नगरपालिकाबीचको प्रभावकारी समन्वय सहकार्य र साझेदारी अभिवृद्धि गरी विद्यालयको शैक्षिक सुधार, विकास र उन्नयनमा जोड दिनेछौ ।

१२. शिक्षकले प्रधानाध्यापक प्रधानाध्यापकले नगरपालिकासँग कार्यसम्पादन करार गरी लक्ष्यसूचकका आधारमा विद्यालयको सञ्चालन गर्नेछौ । उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शिक्षक विद्यार्थी र उत्कृष्ट विद्यार्थीका अभिभावकलाई विद्यालय वडा र नगरपालिका तहमा प्रोत्साहन गर्नेछौ । कमजोर नतिजा भएको विद्यार्थी, शिक्षक र विद्यालयका लागि उपचारात्मक विधि अबलम्बन गर्नेछौ ।

१३. मेरो विद्यालय, मेरो सपना कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक बजेट र कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नेछौ ।

१४. विद्यालय कक्षा शिक्षण, विद्यार्थी मूल्याकन र शिक्षक मनोबल अभिवृद्धि मापदण्ड विकास गरी कार्यन्वयन गर्नेछौ ।

१५. विद्यालय शिक्षा सम्बन्धी नगरपालिकाको नीति र गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नेछौ ।