Thuprai - Books and E-books
Scholarship edusanjal

शौचालय गएका महाकवि देवकोटा बीचैमा फर्किए

Admission edusanjal
Schools edusanjal

२००७ साल कात्तिक २५ गते बेलुकी ६ बजे । भारतबाट आएको हवाइजहाजबाट काठमाडौँ उपत्यकामा पर्चा छरियो । भारतसँग विना लाइसेन्सको हवाइजहाजलाई नेपाल सरहदभित्र उड्न दिइएको कुरा सोधियो । मंसिर १ गते मोहनशमशेरले नेपालीका नाममा सम्बोधन गरे, “नेपालका केही कुपुत्रहरूले कुबाटोमा लागेको देख्दा हामीलाई ठूलो अफसोस लागेको छ । अहिले नेपालमा क्रान्तिको कुनै कारण छैन ।” 

नेपालको अवस्था बुझ्न दिल्लीस्थित ब्रिटिस डेपुटी हाइकमिस्नर फ्रायन्क रोबर्ट र पूर्व हेर्ने राजदुत एवं परराष्ट्र मामिलाका विशेषज्ञ सर इस्टर डेनिङलाई पठाइने भयो । उनीहरु मंसिर १८ गते नेपाल आउने तय भयो । भारतीय दूतावासका जासुसले इन्द्रचोकमा आएर विदेशी आउँदैछन् भनी गोप्यरूपमा जानकारी दिए । 

बजारबाट सयौँको संख्यामा विमानस्थल क्रान्तिकारीहरू पुगे । ती विदेशीलाई विमानबाट ओर्लिएर मोटरमा बस्न दिइएन । प्रहरीले बन्दूक सोझ्याउन खोज्यो । नेतृ शान्ता श्रेष्ठले ‘मलाई गोली हान्’ भनेर थापेपछि बन्दूक चलाउन सकेन । निकै संघर्ष भयो । अन्ततः ती विदेशी भारतीय दूतावासतर्फ लागे ।

अवस्था थामिन सक्ने थिएन । मोहनशमशेरका प्रतिनिधि विजयशमशेरको दिल्ली–काठमाडौँ हवाइयात्रा बाक्लो बन्दै थियो । पुस २४ गते सुधारको घोषणा गरियो । सोही घोषणा बमोजिम माघमा राजनीतिक बन्दीहररूलाई रिहा गर्न थालियो । २६७ मध्ये १२५ बन्दीलाई रिहा गरियो । माघ ८ गते नेपाली काँग्रेसले हतियार बिसाउने निर्णय ग¥यो । फागुन ४ गते तत्कालीन राजा त्रिभुवन स्वदेश फिरे । फागुन ७ गते प्रजातन्त्रको घोषणा गरियो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यिक सम्मेलनमा सहभागी हुन भारतको बनारस पुगेका थिए । पूर्वमन्त्री ऐश्वर्यलाल प्रधानाङ्ग सुनाउने गर्दथे, “महाकविले बाहुला माथि सारेर भन्ने गर्नुहुन्थ्यो कि त्यो शान्ति निकुञ्ज होइन, क्रान्ति निकुञ्ज हो ।” नेतृ शान्ता श्रेष्ठ जस्ता क्रान्तिकारीहरू शान्ति निकुञ्जका विद्यार्थी थिए । त्यसैले शान्ति निकुञ्ज नभई क्रान्ति निकुञ्ज हो भन्ने भनाइ महाकविको थियो ।

२००७ सालको क्रान्ति सफल भएपछि स्कुल खुल्ने क्रम धमाधम थपिन थाल्यो । २००७ साल फागुन १९ गते ठँहिटीमा शान्ति शिक्षा मन्दिर नामक स्कुल खुल्यो । प्रधानाध्यापक थिए डा. बद्रीप्रसाद श्रेष्ठ । तिनै बद्रीप्रसाद पछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका थिए भने शाहीकालमा मन्त्री बनेका थिए । महाकवि देवकोटासँग उनको परिचय थियो । उनी सरस्वति पूजाको केही दिनअघि महाकवि निवास डिल्लीबजार पुग्थे र गीत मागेर ल्याउँथे । कान्छा बुद्धलाई सङ्गीत भर्न दिइन्थ्यो । स्वयम्भूमा रहेको सरस्वति मन्दिरमा सबै विद्यार्थीलाई लगिन्थ्यो । त्यहाँबाट अपरान्ह फर्किदा महाकविको गीतलाई लयवद्ध गरी विद्यार्थीहरूले गाउनुपर्ने चलन बद्रीप्रसादले थाले । 

“फर्किदा महाकविले दिएको गीत गाउँदै मन्दिरबाट फर्किन्थ्यौँ” ती दिन स्मरण गर्दै प्रा.डा. त्रिरत्न मानन्धरले भने, “हरमोनियम बनाउन जिम्मा दिइएकाले त्यसलाई घाँटीमा झुण्ड्याएर बनाउने गर्दथे । एउटा मानिसको ढाडमा तबला अड्याइएको हुन्थ्यो । उनको पछाडि रहेकाले हिँड्दै तबला बजाउँथे ।” हरमोनियम र तबला बजाउनेलाई ज्यालादारीमा ल्याइन्थ्यो । सङ्गीतकार कान्छा बुद्धले करिव १५ दिन लगाएर विद्यार्थीलाई स्कुलमै गाउने अभ्यास गराउँथे ।

२००७ साल चैतमा सरस्वति पूजा परेको थियो । मानन्धर कक्षा १ मा भर्ना भएका विद्यार्थी । तिनताक काठमाडौँमा दरबार हाइस्कुल, जुद्धोदय पब्लिक स्कुल, पद्मोदय स्कुल, शान्ति निकुञ्ज र शान्ति विद्यागृह निकै चलेका स्कुल थिए । उनको बसोबास पनि ठँहिटी भएकाले घर नजिकैको स्कुलमा भर्ना गरिएको थियो । नेवारी भाषामा थ भनेको माथि र को भनेको तललाई जनाउँछ । हिटी भनेको धारा । कुनै बेला काठमाडौँ सहर सानो थियो । राजदरबार हनुमानढोकाको दरबार नै थियो । दरबारको माथिल्लो सहर उत्तरतर्फलाई जनाउँथ्यो भने तल्लो सहर दक्षिणतर्फलाई जनाउँथ्यो । माथि रहेको धारा अर्थात् थहिटी र तल रहेको धारा कोहिटी । त्यहाँ ढुङ्गे धारा थिए । माथि र तलको धारा भन्न थालियो । अपभ्रंस हुँदै ‘थ’लाई ‘ठ’ भन्न थालियो । क्रमशः धारा रहेको स्थान नै त्यस टोलको नामकरण हुन पुग्यो । यद्यपी त्यस टोलको नाम ठँहिटी छ । जैसिदेवल नजिकैलाई कोहिटी भनिन्छ ।

मानन्धर भर्ना भएको पहिलो वर्षको सरस्वति पूजाको गीत अहिले पनि स्मरण छ । महाकवि लक्ष्मीप्रसाद देवकोटासँग गीत माग्न गएर ल्याएका थिए हेडमास्टर बद्रीप्रसादले । 

“नयाँ दिन नयाँ जाेस

नव युग आइरहेछ,

नेपाल हाम्रो देशमा

क्रान्तिको लहर फैलिएको छ...” । 

भर्खरै क्रान्ति सकिएको थियो । लक्ष्मीप्रसादले पनि क्रान्तिको लहर फैलिएको गीत लेखिदिएका थिए ।तिनताक गाइएका सबै गीत स्मरण सम्भव पनि छैन । केही केही वर्षका केही गीतका पहिलो अनुच्छेदसम्म गाउन सक्छन् इतिहासकार एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति त्रिरत्न मानन्धरले । 

२०१२ साल तालको गीत यस्तो थियो– 

“जगतकी जननी अनन्त विद्या

सरस्वतिको पुकार गर्छौँ,

समस्त बालक मिलेर हामी

झुकी चरणमा निधार धर्छौँ ।

उच्च शिखरमा उकल्न देउ

चरण पर्दछाैँ माता लेउ

भार अध्याराे मनकाे सारा

अमर बनाउ विद्या द्वारा”

यतिञ्जेल आइपुग्दा अब क्रान्तिलाई जोडेर गीत लेखिरहनुपरेन भन्ने लक्ष्मीप्रसादको पनि मान्यता हुनुपर्दछ । फेरी अर्काे साल पनि बद्रीप्रसाद गीत लिन महाकविको दैलोमा पुगे ।

महाकविले गीत लेखेर दिए–

“जय जय जननी ज्योति अपार

अमर र दिव्य छ तिम्रो मुहार

निर्मल शान्त वचन स्वभाव

परम कलेवर सज्दछ ज्ञान ।”

अर्काे वर्षकाे अर्काे गीत–

“आउ शारदे 

ओर्ल शारदे

शुद्ध दिल भक्तलाई समाउ शारदे”

महाकविले निःशुल्कमा गीत दिन्थे । महाकविलाई पैसाको आवश्यकता निकै थियो । उनले बेचेका कविता अरूले आफ्नो नामबाट प्रकाशित गराएका प्रसङ्ग निकै सुनिन्छ । तिनताकका व्यक्तिहरुले सुनाउँछन्, “लक्ष्मीप्रसाद घण्टाघर नजिकै भूँइमा बसेर धमाधम कविता लेखिरहेका हुन्थे । एक जनाले हरेक पाना जम्मा गरिदिने गर्दथे । उनले पानाका हिसाबले कविता बेच्थे ।” नाम लक्ष्मीप्रसाद भए पनि आर्थिकरूपमा उनी विपन्न नै थिए । सरस्वतिले माया गरेकी तर लक्ष्मीले हेला गरेकी पात्र बने लक्ष्मीप्रसाद । 

तिनताक कतिपय विद्यालयमा प्रार्थना गीत गाउने परिपाटी पनि रहेको थियो । पद्मोदय, विश्व निकेतन जस्ता स्कुलले विहान कक्षा सुरु हुनुअघि विद्यार्थीलाई ‘स्कुल बन्दना’ गाउन लगाउँथे । ती बन्दना लक्ष्मीप्रसादले रचिदिएका हुन्थे । राष्ट्रिय गीत गाउने चलन थिएन । पछि पञ्चायतकालमा राष्ट्रिय गीत गाउनुपर्ने चलन चलाइयो । 

हेडमास्टर बद्रीप्रसादले कुनै वर्ष गीत लिन महाकविको घरमा पुग्दाको घटना सबै विद्यार्थीलाई सुनाएका थिए । त्यो घटना निकै रोचक पनि थियो । मानन्धर त्यो घटनालाई यसरी स्मरण गर्छन्, “गुरु बद्रीप्रसाद गीत लिन महाकविको घर पुग्नु भएको थियो । ठिक त्यसैबेला महाकवि देवकोटा लोटामा पानी राखेर ट्वाइलेट जाँदै हुनुहुन्थ्यो । बद्रीप्रसादलाई देख्नुभयो । बद्रीप्रसादले सरस्वति पूजाका लागि गीत लिन आएको भनेपछि महाकविले लोटालाई त्यही बीच बाटोबाट राखेर फर्किनुभयो र पाँच मिनेटमै गीत लेखेर दिनुभयो । त्यसपछिमात्र ट्वाइलेट जानुभएको थियो ।”

महाकवि लक्ष्मीप्रसादसँग जोडिएका रमाइला प्रसङ्ग अनगिन्ति छन् । साइकल बोकेर दौडिरहेको देखेर एक व्यक्तिले महाकविलाई किन साइकल बोकेको भन्दा उनले आफूलाई हतार भएकोले साइकल बोक्नु परेको भन्ने जस्ता किस्सा उबेलाका बुढापाकाहरू सुनाउँछन् । यस्ता किस्सा उनलाई उडाउन अरू साहित्यकारले सिर्जना गरिदिएको पनि हुन सक्दछ ।

मानन्धर त्रिचन्द्र क्याम्पसमा पढ्दा लक्ष्मीप्रसाद अन्तिम अवस्थामा छन् भन्ने सुनेर पशुपति घाटमा पुगेका थिए । सिकिस्त थिए महाकवि । ऐया र आत्थु गरिरहेका थिए । क्यान्सरले निकै पीडा दिइरहेको थियो । साँस जान निकै सकस भइरहेको थियो । पत्नीको काखमा टाउको अड्याएर सुत्ने गर्दथे । त्यही अवस्थामा मानन्धर र उनका साथीहरूले अन्तिममा देखे पनि । ज्यादै कठोर मरण बन्यो लक्ष्मीप्रसादको ।

तिनताक अब्बल विद्यार्थीलाई हरेक छ महिनामा कक्षा चढाउने चलन पनि थियो । त्यो चलन शान्ति शिक्षा मन्दिरमा मात्र थिएन, अरु स्कुलमा पनि थियो । कक्षा ८ सम्म निःशुल्क शिक्षा पाएका थिए त्रिरत्नले । कक्षा ९ र १० मा मात्र शुल्क तिर्नुप¥यो । मासिक तीन रुपियाँ शुल्क तिर्नुपथ्र्याे । 

निजी स्तरबाट खुलेको स्कुलले कसरी निःशुल्क शिक्षा उपलब्ध गराउन सक्यो होला ? अहिलेका लागि रोचक प्रसङ्ग लाग्न सक्छ । निःशुल्क शिक्षा उपलब्ध गराउने गज्जबको काइदा प्रयोगमा ल्याएका थिए बद्रीप्रसादले । ठँहिटीका हरेक पसलले मासिक एक रुपियाँ स्कुललाई दिनुपर्ने चलन थियो । हरेक पसले वाध्य थिए । मानन्धरको पिताले पनि किराना पसल सञ्चालन गर्दथे । उनले पनि मासिक एक रुपियाँ स्कुललाई योगदान गर्दथे । “त्यसरी पैसा दिएर स्कुल चलाउने चलन निकै राम्रो थियो” उनले भने ।तिनताक शिक्षकले विद्यार्थीलाई कुटेरै तह लगाउँथे । शिक्षकका हातबाट कुटाइ खान्थे विद्यार्थीहरूले । उठबस गराउने चलन । कुनै कुनै शिक्षकले लौरोले पनि पिट्थे । “गृहकार्य नगरेका र शिक्षकले सोधेको प्रश्नको उत्तर दिन नसक्दा कुटाइ खानुपथ्र्याे । त्यस बेला निकै सास्ती हुथ्यो” उनले भने ।