विनासकारी भूकम्प गएको चार वर्ष भइसके पनि उत्तरी धादिङको बृचेत माविका विद्यार्थी अझै टहरामा पठनपाठन गर्न बाध्य छन् । भारत सरकारले पुनःनिर्माण गर्ने जिम्मा लिएर पनि काम शुरु नगरेपछि बृचेत जस्तै धादिङका १० ठूला विद्यालय अझै टहरामा पढ्न बाध्य छन् । एशियाली विकास बैंकले निर्माणको जिम्मा लिएको पाँच विद्यालयका पुनःनिर्माण शुरु नै भएको छैन ।
भूकम्प गइसकेपछि क्षतिग्रस्त विद्यालयमा त्रिपाल र अस्थायी टहरा बनाई पढाइ सञ्चालन गरेका विद्यालयमा विभिन्न सङ्घसंस्था तथा विद्यालय आफैंले पनि विद्यालय भवन निर्माण गरेका छन् । विद्यालय निर्माणमा ढिलाइ भएका कारण विद्यार्थी अझैसम्म पनि अस्थायी टहरामा नै बसेर पढिरहेका छन् । पुनःनिर्माणकार्य प्रभावकारी नहुँदा विद्यार्थी हिउँदमा चिसो र बर्खामा घामपानीको कष्टप्रद अवस्थामा पढ्न बाध्य छन् ।
जिल्लामा अझै पनि भूकम्पले भत्काएका ३५ प्रतिशत विद्यालयको पुनःनिर्माण गर्न बाँकी छ । हालसम्म २५१ विद्यालयका दुई हजार ५२१ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न गरिएको विद्यालयमा नियमित पठनपाठन भइरहेको छ । भत्किएका विद्यालय निर्माण तीन वर्षभित्र सक्ने शिक्षा मन्त्रालयको योजना बनाएको थियो तर निर्माण सम्पन्न गरिने समयसीमाभन्दा थप साढे एक वर्ष बितिसक्दा पनि विद्यालय पुनःनिर्माण पूर्णरूपमा सम्पन्न हुनसकेको छैन ।
निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमीजस्ता कारणले विद्यालय पुनःनिर्माणमा ढिलाइ भएको नेपाल सरकार शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ धादिङका सूचना अधिकारी ईश्वरकुमार श्रेष्ठले बताउनुभयो । अझै विद्यालय पुनःनिर्माण गर्न डेढ वर्ष लाग्ने श्रेष्ठको भनाइ छ ।
क्षतिग्रस्त सबै विद्यालयमा पुनःनिर्माणको काम भइरहेको छ । कुनै विद्यालयमा कक्षाकोठा थोरै भएका कारण थप भवन निर्माण शुरु गरिएको छ, यसले पनि ढिलाइ भएको हो । निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्रछात्रा र अपाङ्गतामैत्री शौचालयको पनि निर्माण गरिएको छ । विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ । ह्वीलचियर गुड्ने गरी विद्यालय तथा शौचालयको संरचना निर्माण गरिएको आयोजनाको दाबी छ तर विद्यालय पुनःनिर्माण गर्दा आपाङ्गतामैत्री संरचना नबनाएको अपाङ्गताको क्षेत्रमा कार्यरत अपाङ्गता कल्याण सङ्घका अध्यक्ष गुणराज खतिवडाले बताउनुभयो ।
विद्यालय पुनःनिर्माण गर्दा एउटा स्ल्याब हालेर अपाङ्गतामैत्री नहुने भन्दै संयुक्त राष्ट्रसङ्घले भनेअनुसार शौचालय पाँच÷पाँच फिट फराकिलो हुनुपर्ने, दृष्टिविहीनका लागि पनि संरचना बनाउनुपर्ने, शौचालयमा अनिवार्यरूपमा कमोडसहित दुवैतर्फ समात्ने डण्डी राख्नुपर्नेजस्ता आधार पूरा नगरेको अपाङ्गता अधिकारकर्मी यमकुमारी इटनीको भनाइ छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठका अनुसार जिल्लामा हालसम्म निर्माण भएकामध्ये तीन विद्यालय मात्र पूर्ण अपाङ्गतामैत्री रहेको बताउनुभयो ।
भूकम्पले क्षति पुर्याएको ५८२ विद्यालयमध्ये २५१ विद्यालय पुनःनिर्माणको काम सम्पन्न भएको छ । चार हजार ४३९ कक्षाकोठामध्ये दुई हजार ५२१ कक्षाकोठा निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले जानकारी दिएको छ । एशियाली विकास बैंकले बनाउने छ विद्यालयमध्ये सदरमुकामको नीलकण्ठ मावि नमूना विद्यालयका रूपमा निर्माण गरिसकेको छ भने अन्य पाँच विद्यालयको पुनःनिर्माण शुरु नै भएको छैन ।