A Levels MA

सिमकोटमा छात्रवृत्ति दिन दलित छात्रछात्रा भेटिएनन्

कर्णाली प्रदेशको हुम्ला जिल्लामा अवस्थित सामाजिक विकास कार्यालय सिमकोटले छात्रवृत्ति प्रदान गर्ने दलित विद्यार्थी भेटाएन । सो कार्यलयले आफ्नो मातहतका दलित विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिका लागि आवेदन माग गरेको भएपनि सो कार्यालयमा अहिलेसम्म एउटा पनि निवेदन परेको छैन ।

कार्यालयले गत फागुनमा माग गरेको दलित छात्रवृत्ति र उच्च शिक्षा तथा अपाङ्ग छात्रवृत्तिमा कसैले पनि आवेदन दिएकै छैनन् । दलित समुदायको मानव अधिकारको सम्मान तथा हक, हितको संरक्षण र संवर्धन तथा सो समुदायको सशक्तीकरणका लागि सरकारले दलित समुदायका बालबालिकालाई छात्रवृत्ति दिने कार्यक्रम ल्याए पनि पहिलो पटकको सूचनामा कसैले आवेदन नदिएको निमित्त सामाजिक विकास अधिकृत रेशमबहादुर खत्रीले जानकारी दिए ।

सो कार्यालयले कसैको निवेदन नपरेका कारण पुनः १५ दिनको म्याद थप गरी पुनः आवेदन माग गरेको छ । कार्यालयले हरेक क्षेत्रमा पछाडि रहेको दलित समुदायलाई मूल प्रवाहमा प्रभावकारीरूपमा अगाडी बढाउन कार्यक्रम ल्याएको भए पनि कोही कसैले निवेदन पेश नगरेको प्रमुख खत्रीले बताए ।

दुर्गम जिल्ला हुम्लामा बसोबास गर्ने दलित समुदायका नागरिकमा अझै बालबालिकालाई पठनपाठन गराउनुपर्छ भन्ने मानसिकता नभएको, जनचेतनाको अभाव र सूचनाको अभावका कारण कसैले पनि आवेदन नदिएको प्रमुख खत्रीको दाबी छ ।

जिल्लाभित्र दलितको साक्षरता न्यून छ । कमै मात्र दलितका बालबालिकाले पठनपाठन गर्ने गरेको पाइन्छ । घरको आर्थिक अवस्था कमजोर भएका कारणसमेत उनीहरुले ५ देखि ८ सम्म र कसैकसैले एसईई दिएर पढाई छोड्ने गरेको गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए । ‘बिचैमा विद्यालय छाड्ने बालबालिकालाई पुनः विद्यालय, ल्याउने, टिकाउने र सिकाउने लक्ष्य अनुरुप यो छात्रवृत्ति प्रदान गर्न सुरु गरिएको हो ।’ अध्यक्ष लामाले भने, ‘पहिलो सूचनामा कसैको आवेदन परेन फेरी १५ दिनका लागि म्याद थप गरेर सूचना प्रकाशित गरेका छौं ।’

निजी विद्यालय त परै जावस् सरकारी स्वामित्वमा रहेका सामुदायिक विद्यालयमा समेत पठनपाठन गर्न आउने दलित बालबालिकाको सङ्ख्या न्यून रहेको रलिङ माध्यामिक विद्यालयका शिक्षक सूर्यमणि बोहराले जानकारी दिए ।

सिमकोट गाउँपालिकाको वस्तुस्थिति विवरण २०७६ अनुसार यस गाउँपालिकाको ५ बर्ष भन्दा माथिको कुल जनसंख्या ११हजार ९९५ (महिलाको जनसंख्या ५५३१ र पुरुषको जनसंख्या ५८०९) रहेको छ । पालिकाको कुल साक्षरता दर ८८.०१ प्रतिशत रहेको छ । ११.९९ प्रतिशत निरक्षर रहेका छन् । कुल साक्षरता दर मध्ये पुरुष साक्षरता दर ८९.८३ प्रतिशत र महिलाको साक्षरता दर ८५.८८ प्रतिशत रहेको छ ।

त्यसैगरि पुरुष र महिलाको निरक्षरता दर क्रमशः १०.१७ र १४.१२ प्रतिशत रहेको छ । यस पालिकाको कुल साक्षरता दरमध्ये वडागत साक्षरता दरको विश्लेषण गर्दा सबैभन्दा बढी वडा नं. ८ को साक्षरता दर ९६.१० प्रतिशत रहेको छ भने सबैभन्दा कम वडा नं. १ को ४६.३१ प्रतिशत रहेको छ ।

गाउँपालिकाभित्र ५हजार १ जना विद्यार्थी रहेका छन् । जसमध्ये पूर्व प्राथमिक तहमा १ हजार १७५ जना, आधारभूत तह (कक्षा १ देखि ५ सम्म) २ हजार २३३ जना, आधारभूत तह (कक्षा ६ देखि ८ सम्म) ८१७ जना, माध्यमिक तह (कक्षा ९ देखि १० सम्म) ५२३ जना र माध्यमिक तह (कक्षा ११ देखि १२ सम्म) २५३ जना अध्ययनरत रहेको गाउँपालिकाले जानकारी दियो ।

त्यसैगरि छात्राछात्रको कुल संख्या मध्ये पूर्व प्राथमिक तहमा छात्रा ५९३ र छात्र ५८२ जना, आधारभूत तहमा छात्रा १ हजार १७२ र छात्र १ हजार ६१ जना, आधारभूत तहमा छात्रा ३९५ र छात्र ४२२ जना, माध्यमिक तहमा छात्रा २७१ र छात्र २५२ जना र माध्यमिक तहमा छात्रा १३८ र छात्र ११५ जना अध्ययनरत रहेको देखिन्छ । विभिन्न तहमा अध्ययनरत जनजाति छात्राछात्रको संख्या पूर्व प्राथमिक तहमा १२४ जना, आधारभूत तहमा ३८९ जना, आधारभूत तहमा १४३ जना र माध्यमिक तहमा ५४ जना दलित अध्ययनरत रहेको देखिन्छ । यस बाहेक वांकी सबै अन्य (क्षेत्री, बाहुन, ठकुरी) को संख्या रहेको छ ।

पालिकाको विद्यार्थी विवरण

Thuprai - Books and E-books