आठ महिना पछि नेपाल खुला विश्वविद्यालयमा उपकुलपतिका रुपमा प्राडा शीलु (मानान्धर) ब्रजाचार्यलाई नेपाल सरकारले माघ १७ गते नियुक्त गरेको छ । आठ महिना नेतृत्व विहीन बनेको विश्वविद्यालयमा पहिलो पटक महिलालाई उपकुलपतिको रुपमा सरकारले नियुक्त गरेको छ । नेतृत्व सम्हालेसंगै समस्या पहिचान तथा समाधान सहित भावि रणनीतिका विषयमा जनता टेलिभिजन र इडियु सञ्जालको सहकार्यमा सञ्चालित ‘शिक्षाका कुरा’ कार्यक्रममा उपकुलपति ब्रजाचार्यले व्यक्त गरेको विचारको सारसंक्षेपः
नेपालमा खुला विश्वविद्यालयको सान्दर्भिकतालाई कसरी हेर्नु भएको छ ?
नेपालमा ११ ओटा विश्वविद्यालय र ४ ओटा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यी मध्ये नेपाल खुला विश्वविद्यालय कान्छो विश्वविद्यालय हो । यो विश्वविद्यालय अन्य विश्वविद्यालय भन्दा फरक छ । यसको प्रमुख उद्देश्य भने कै दुर जराजमा रहेका उच्च शिक्षा प्राप्त गर्न नसकेका, विभिन्न कारण उच्च शिक्षामा पहुँच नपुगेका मानिसलाई शिक्षा प्रदान गर्ने हो । यो अरु विश्वविद्यालयको कम्लिमेन्टरी हो । यो महत्वपूर्ण छ । उच्च शिक्षा प्रदायक धेरै विश्वविद्यालय आइसक्दा पनि हाम्रो इनरोलमेन्ट करिब २० प्रतिशत छ । यो विश्वविद्यालय उच्च शिक्षामा सबैको पहुँच स्थापित गर्ने गरी यो स्थापना भएको हो । हाम्रो विश्वविद्यालयमा भर्ना भएका विद्यार्थी अधिकांश कामकाजी छन् । आफ्नो ठाउँमा बसेर विद्यार्थीले पढ्न पाएका छन् । कोभिडको अवस्थामा पनि हामीले इन्टेक लिन सकेका छौं, कक्षा सञ्चालन भएको छ, परीक्षा भएको छ । शैक्षिक कार्यक्रम निरन्तर सञ्चालनमा आए । आठ महिना विश्वविद्यालय पदाधिकारी विहीन भएपछि यसको क्यालेन्डेरमा असर परेको छ । खुला विश्वविद्यालयमा असर नपर्नुपथ्र्यो पर्यो ।
खुला विश्वविद्यालयले कस्ता कस्ता कार्यक्रम सञ्चालनमा ल्याएको छ ?
सम्पूर्ण संकायलाई हेर्दा स्नातक देखि पिएचडी कार्यक्रम सञ्चालनमा आएको छ । संकायगत रुपमा हेर्दा स्नातक तहमा बीबीएस, एलएलबी तीन वर्से प्रोग्राम सञ्चालनमा आएको छ । बीबीएसमा एक्सेस टु अल प्रोग्राम सञ्चालनमा ल्याएको हो । बीबीएसमा पैसा पनि कम छ । आवेदक जति सबैलाई प्रवेश परीक्षा नै नलिई भर्ना गरेर पठनपाठन गराउँदै आएको छ । स्नातकोत्तरमा दुईटा कार्यक्रम सञ्चालनमा आएको छ । एमबीए र एमएसडीएमडी सञ्चालनमा आएको छ । संघीयतामा आवश्यक पर्ने मानवीय संशाधन उत्पादन गर्नेगरी एमएसडीएमडी कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसमा नेपाल सरकारका उप–सचिवदेखि स्थानीय तहमा कार्यकरत कर्मचारी र स्थानीय नेता अध्ययनरत छन् । सम्पूर्ण विद्यार्थीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । अन्य संस्थाले पनि आआफ्नै तरिकाले छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
विश्वविद्यालयमा काम गर्नका लागि असहजता छ ?
कुनै पनि संस्थामा काम गर्नका लागि टिम स्पिरिट हुनुपर्छ । राम्रालाई हाम्रा भन्न पाउँनुपर्छ । मैले डिन भएको समयमा यसको उपयोग गरेको छु ।
सरकारसंग जग्गा लिएर पूर्वाधार निर्माणका लागि के कस्ता कार्य भएका छन् ?
काम भइरहेको छ । हामीलाई सरकारले ९ रोपनी जग्गा ठिमीमा दिइसकेको छ । अब भवन बनाउनुपर्छ ।
त्रिविबाट पिएचडी गरेर विश्वविद्यालयको उपल्लो तहको पदाधिकारी उपकुपति जस्तो पदमा नियुक्त हुनुभएको छ कस्तो अनुभूति गर्नुभएको छ ?
मलाई खुसी लागेको छ । मलाई कामको सही मूल्याङ्कन भयो जस्तो लागेको छ । चार वर्से कार्यकालमा मूल्याङ्कन गरेर महिलालाई अवसर दिएको छ । चुनौती र समस्या हुँदाहुँदै पनि अवसरका रुपमा लिनुपर्छ ।
विश्विविद्यालयमा गर्ने भावी योजना के कस्ता छन् ?
विश्वविद्यालयको संस्थागत र दिगो विकास मेरो पहिलो प्राथमिकतामा छ । उच्च शिक्षा प्रदायक ठुलो विश्वविद्यालय बनाउने सोचमा छु । यसका लागि विश्वविद्यालयको संस्थागत विकास गर्नुपर्छ । यसको दिगो विकासका लागि पूर्व अनुभवलाई आधार मानेर सञ्चालनमा आएका कार्यक्रम परिस्कृत, परिमार्जित गर्दै दिगो विकास गर्नुपर्छ । अन्य दुईओटा प्रोग्रामका बेसिक प्रोग्राम ६ महिना भित्र आउँनु पर्छ । विश्वविद्यालयको स्थायित्वका लागि मानवीय संशासनका लागि ध्यान दिनुपर्छ । विश्वविद्यालयको भौतिक संरचना दुई वर्षभित्र निर्माण गरी मैले त्यहीबाट काम गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसंग समन्वय तथा सम्झौता गरेर संगै अघि बढ्नुपर्छ । बजारले माग गरेका कार्यक्रम पहिचान गरी विकास गर्नुपर्छ । विश्वविद्यालय नयाँ भएका कारण अहिले कस्ता कार्यक्रम सञ्चालन गर्दा धेरैको सहभागिता बढाउन सकिन्छ सबैको सल्लाह र सुझावका आधारमा हामी अगाडि बढ्नुपर्छ । त्यही अनुसारका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
नेपालका सन्दर्भमा भर्चुअल कक्षा त्यति अभ्यस्त छैन अहिले कोभिडका कारण केही सुधार भएको छ यो चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
कोभिड पछि अन्य विश्वविद्यालयलाई पनि भर्चुअल कक्षामा जानुपर्ने बाध्यता भयो । यसका लागि हाम्रा शिक्षकलाई अलिकति मात्र गाइड भयो भने सजिलै सम्बोधन हुन्छ ।
एकातिर शिक्षक छैनन्, अर्कोतर्फ भाडामा विश्वविद्यालय चलाइरहँदा केही असहजता त होला नि ?
वास्तवमा चार वर्षमा धेरै अप्ठेरो भोगेर आाएका छौं । विचमा केही समस्या आयो । अब यस्तो अवस्था रहँदैन । पिएचडीमा गाइड गर्ने एक जना प्राध्यापक र एक जना सह प्रध्यापक बाँहेक अन्यमा त्रिविका सेवा निवृत्त प्राध्यापकहरुबाट काम चलाउँदै आएका छौं । यो चार वर्से कार्यकालमा के के गर्ने र के गर्न सकिन्छ भनेर रणनीतिक योजना बनाउने सोचमा छु । सबैलाई मिलाएर बनाउनु पर्छ । मानव संशाधन परिचालन गर्नका लागि व्यवस्थापन गर्नुपर्छ । कि त सरकारले पैसाको व्यवस्थापन यगनुृपर्छ या त विद्यार्थीबाट लिनुपर्छ । यसको विकल्प छैन ।
सबै विश्वविद्यालयमा समयमा परीक्षा र नतिजा प्रकाशन नहुने समस्या छ, नेपालमा नै सञ्चालनमा आएका विदेशी विश्वविद्यालयले समयमै परीक्षा तथा नतिजा प्रकाशन गरेर विद्यार्थी पासआउट भइसक्दा पनि नेपालका विश्वविद्यालयका विद्यार्थी एउटै तहमा अल्झिएर बसेको अवस्था छ शैक्षिक क्यालेण्डरलाई कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन ?
सक्नुपर्छ । सबै फ्याकल्टिीले आफ्नो शैक्षिक क्यालेण्डर बनाउनु पर्छ । पहिलै प्रि प्लान गरेर गरेको काम कार्यान्वयन गर्नुपर्छ । सक्नुपर्छ । मानव संशाधन उचित मात्रामा व्यवस्थापन भएपछि शैक्षिक क्यालेण्डर कार्यान्वयनमा समस्या हुँदैन ।
खुला विश्वविद्यालयमा यहाँको नेतृत्वमा शैक्षिक क्यालेण्डर निर्माणमा निर्देशनको जरुरी छ नि ?
विश्वविद्यालय अभिभावक विहीन भएर यस्ते समस्या देखिएको हो । शैक्षिक क्यालेण्डर निर्माणमा निर्देशन जरुरी छ । म बुझ्ने क्रममा छु ।
२१ औं शताब्दीमा औपचारिक शिक्षाबाट बञ्चित भएकालाई शिक्षा प्रदान गर्ने विशेष विश्वविद्यालय हो । यसमा प्रविधि हाइटेक हुनुपर्ने हो यस्तो त देखिँदैनन नि ?
सही हो । मलाई पनि अप्ठेरो लागिरहेको छ । जे हुनुपर्ने हो त्यो भएन । सबै संकायमा औपचारिक डीन नियुक्त भइसकेपछि वेबसाइट बनाउनुपर्छ । यसमा सुधारको आवश्यकता छ ।
विश्वविद्यालयको समग्र अवस्था सुधार गर्न चुरो समस्या समधान गर्नका लागि यहाँको टिप्स के रहन सक्छ ?
विश्वविद्यालयमा पढाउने शिक्षकको क्वालिटी सुधार गर्नुपर्छ । शिक्षक छनोट गर्दा नै राम्रोलाई हाम्रो बनाउन सक्नुपर्छ । राम्रा शिक्षकलाई प्रवेशको बाटो खोल्नुपर्छ । शिक्षक लिने प्रणाली यस्तै हुनुपर्यो । शिक्षकलाई काम गर्ने वातावरण हुनुपर्यो । काम अनुसारको दाम हुनुपर्यो । शिक्षक संवृद्धि हुने खालको व्यवस्था हुनुपर्यो । तालिमको व्यवस्था हुनुपर्यो । राम्रा विद्यार्थी छनोट, पाठ्यक्रम पनि बजारको माग अनुसारको हुनुपर्यो । पाठ्यक्रममा नै स्वरोजगार उत्पादन गर्न सक्ने हुनुपर्यो । शिक्षक कर्मचारीलाई काम गर्न सक्ने वातावरण हुनुपर्छ । आफ्नो शैक्षिक क्षमता प्रदर्शन गर्न पाउने स्वतन्त्र वातावरण हुनेगरीको नीति तय गर्नुपर्छ । शिक्षकलाई अनुसन्धान केन्द्रित बनाउनु पर्यो । इ–लाइब्रेरी बन्न सकेको छैन । बनाउनु पर्यो ।
अन्त्यमा, शिक्षक विद्यार्थीलाई केही भन्न चाहनुहुन्छ ?
हामी समूह कार्य गरौं । हाम्रो विश्वविद्यालयलाई बनाउन सबैको हातेमालोको आवश्यकता छ । सम्पूर्ण सरोकारवालाई हातेमालो गर्न आग्रह गर्न चाहन्छु । सबैको सहयोगमा चार वर्षमा हाम्रो विश्वविद्यालयले फड्को मार्छ भन्नेमा विश्वस्त छु ।