Thuprai - Books and E-books

चार वर्षभित्र सबै कक्षाका पाठ्यक्रम परिमार्जन गरिने

सरकारले पाठ्यक्रम पुनरावलोकनको तयारी थालेको छ । पाठ्यक्रमलाई समयानुकुल र व्यावहारिक बनाउन माध्यामिक तहमा केहि नयाँ विषय थपिदैंछ भने शिक्षालाई व्यवहारिक बनाउन ज्ञानमा भन्दा सिपलाई जोड दिएर पाठ्यक्रम तयार गरिँदै छ । कक्षा १ देखि १० सम्म नेपाली, सामाजिक, अंग्रेजी, नैतिक शिक्षा, पेसा, स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, गणित, विज्ञानलगायत १२५ वटा पाठ्यपुस्तक लागू भएका छन् । नयाँ पाठ्यपुस्तक छपाइका लागि करिब  एक अर्ब लागत लाग्ने भएको छ । यसै सन्दर्भमा  पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईसंग गरिएको कुराकानीको सारसंक्षेपः 

कतिवर्ष पछाडि कक्षा १ र ११ को पाठ्यक्रम परिमार्जन हुँदैछ ?

सामान्यतया पाँच वर्ष पछाडि पाठ्यक्रम परिमार्जन र १० वर्ष पछाडि पाठ्यक्रम परिवर्तन गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता छ तर हामी १० वर्षपछि मात्र पाठ्यक्रम परिमार्जन गर्न लागि रहेका छौं ।

परिमार्जन अलि ढिला भएको होइन र ?

विविध कठिनाइका कारण अलिक ढिलै भएपनि समयानुकूल पाठ्यक्रम परिमार्जन गर्दै छौं । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । हामी सबै कक्षाका पाठ्यक्रम समयसापेक्ष बनाउँदै छौं ।

कुनकुन कक्षाको परिमार्जन गर्दै हुनुहुन्छ नि ? 

कक्षा १ र ११ मा आगामि शैक्षिक सत्र देखि परिमार्जित पाठ्यक्रम लागु हुन्छ । यी दुवै कक्षाको पाठ्यक्रम परिमार्जन भइसकेको छ । पाठ्यपुस्तक धमाधम छापिइरहेका छन् । भने, हाल कक्षा चारदेखि आठको पाठ्यक्रम परिमार्जन गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ । कक्षा ६ को पाठ्यक्रम आगामी शैक्षिक सत्रमा परीक्षण गने तयारीमा छौं । 

कति जिल्लामा परीक्षण गर्दै हुनुहुन्छ नि ?

पाठ्यक्रम पास हुने तयारीमा छ । पाठ्यक्रम पास भएपछि जिल्ला र विद्यालय छनौट गर्छौं । अनि परिमार्जित पाठ्यक्रम परीक्षणका रुपमा लिएर जाछौं । अहिले नै मासमा जादैंन । कक्षा १ को परिमार्जित पाठ्यक्रम २०७७ वैशाख देखि लागु गरिने छ भने कक्षा ११ को २०७७ साउन देखि लागु गर्ने भएका छौं । त्यसपछि क्रमश परिमार्जन हुदैं जान्छ ।

कहिलेबाट सबै कक्षाका विद्यार्थीले नयाँ पाठ्यक्रमको अध्ययन गर्न पाउँछन् नि ?

शैक्षिक सत्र २०८० देखि सबै तहमा नयाँ पाठ्यक्रम लागू गर्ने गरी हामीले काम तीव्र पारेका छौं । पाठ्यक्रमलाई समयसापेक्ष, देशकाल र परिवेश अनुकूल बनाउँने लक्ष्यमा छौं ।

नयाँ विषय पनि थप्नु भएको छ कि ?

विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्रबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरेका हौं । सिकाइलाई प्रविधिमैत्री बनाइ विद्यार्थीलाई प्रविधिमा हस्तान्तरण गर्न मद्दत मिलोस् भनेर यो विषय थपेका हौं । कक्षा ४ देखि १० सम्म विज्ञान तथा प्रविधि विषयको अध्यापन गरिने छ । कक्षा चारदेखि आठसम्म सामाजिक अध्ययनसंग मानवीय मूल्य शिक्षा भन्ने विषय थप भएको छ । स्थानीय तहले थप एक विषय बनाउन पाउने व्यवस्था छ । कक्षा १ देखि आठ कक्षासम्म थप एक विषय आफैं पाठ्यक्रम वनाएर लागु गर्न पाउँछन् । केहि विद्यालयमा परिमार्जित पाठ्यक्रम परीक्षण हुन्छ । त्यसको पृष्ठपोषणका आधारमा परिष्कार गरी लागु गर्छौं । नयाँ पाठ्यक्रमअनुसार कक्षा १–३ मा नेपाली, अंग्रे्रेजी, मेरो सेरोफेरो र गणित विषयलाई एकीकृत पाठ्यक्रम बनाइएको छ । नैतिक शिक्षालाई मानव मूल्य शिक्षा बनाएका छौं । हाल कक्षा ६–८ मा अध्यापन हुँदै आएको पेसा, व्यवसाय र प्रविधि विषयलाई राष्ट्रिय पाठ्यक्रमबाट हटाइएको छ । यस्तै, कक्षा ९–१० मा अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय हटाइएको छ । अब आठवटा विषयबाट सातवटामा झारिएको छ । कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली विषय थप गरिएको छ ।

नयाँ पाठ्यक्रममा जोड दिइएका पक्षहरु के के हुन् ? 

नयाँ आउने पाठ्यक्रम र परिमार्जन भएको पाठ्यक्रमले व्यवहारिक सिपमूलक शिक्षालाई प्राथमिकतामा राखेको छ । स्थानीय विषयहरु समेत समावेश गरिएको छ । स्थानीय तहको आवश्यकताहरुको पहिचान गर्दै पाठ्यक्रम परिमार्जन गरेका छौं । त्यसैले पनि सिपसंग जोडिएको शिक्षालाई प्राथमिकतामा राखेका छौं । शिक्षालाई व्यवहारिक बनाउन ज्ञानमा भन्दा सिपलाई जोड दिएर पाठ्यक्रम तयार गरिएको छ । कक्षा १२ मा अनिवार्य विषयको रुपमा जिवनोपयोगी शिक्षा भन्ने विषय आउँछ । स्थानीय तहले बनाउने पाठ्यक्रमहरु पनि व्यावहारिक शिक्षासंग सम्वन्धित हुन्छ । त्यसमा भाषा, पेशा, संस्कृति, रीतिरिवाज, धर्मसंग जोडिएका विषयहरु सहितको पाठ्यक्रम हुन्छ । त्यसैले अबको पाठ्यक्रमले व्यक्तिलाई मूल्यमान्यता सिकाउँछ । कक्षा १ देखि चारसम्मको पाठ्यक्रम एकिकृत प्रकृतिको हुन्छ । सवै विषयहरुमा एकै खालका थीम (साराशं) हरु हुन्छन् । पढ्ने विषय एकै खालको हुन्छ तर, एउटै विषयबाट भिन्न भिन्न कुराहरु सिकाइन्छ । सबै विषयमा एउटै शीर्षकको पाठ हुन्छ । तर, सिक्नुपर्ने कुराहरु फरक फरक हुन्छन् । एउटै शिक्षकले पनि सबैलाई पठनपाठन गराउन सक्ने गरी पाठ्यक्रम बनाइएको छ । सिपमा आधारित शिक्षालाई जोड दिएर पाठ्यक्रम परीमार्जन गर्ने काम अघि बढेको छ । सबै विषयहरु सिप सिकाउने गरी तयार भएका छन् । कक्षा १२ उत्तीर्ण गरेपछि कुनै पनि विद्यार्थीले सामान्य जिवनयापन गर्न सकोस, आफै गरेर खाओस, आत्मनिर्भर बनोस भन्ने उद्देश्य राखेर पाठ्यक्रम तयार गरिएको छ । सामान्य व्यवसाय गर्न सकोस भनेर ती विषयहरु तयार गरिएको हो ।

परिमार्जित पाठ्यक्रम अनुसारका कक्षा १ र ११ का पाठ्यपुस्तक छापिए त ?

पाठ्यपुस्तक धमाधम छापिइरहेका छन् । पाठ्यपुस्त छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र, काठमाडौं, भक्तपुर र विराटनगरका २० निजी छापाखानाले छापिरहेका छन् । आउँदो शैक्षिक सत्रमा २ करोड ११ लाख थान पाठ्यपुस्तक छापिने छन् । अहिले दैनिक एक लाख थान पाठ्यपुस्त छापिइरहेका छन् । अहिले १ करोड १८ लाख पुस्तक तयार भएसकेका छन् । कक्षा १ देखि १० सम्म नेपाली, सामाजिक, अंग्रेजी, नैतिक शिक्षा, पेसा, स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, गणित, विज्ञानलगायत १२५ वटा पाठ्यपुस्तक लागू भएका छन् । समयमै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने गरी छापिइरहेका छन् । पाठ्यपुस्तक छाप्न करिब एक अर्ब रुपियाँ खर्च हुने छ ।