कोरोना कहर : चुनौति र सकारात्मक सोच

सबैको जीवनमा समस्या, चुनौति र कठिनाइ आइरहेकै हुन्छ । आदिकालदेखि आजसम्म यस्तो समस्या नभएको वा नभोगेको न कुनै समय छ नत कुनै मानिस । यस्तो कठिन परिस्थिति र अवस्थामा हामीलाई बचाउने वा जोगाउने कुनै वस्तु, विज्ञान वा भगवान छ भने त्यो हौसला र सकरात्मक सोच एवं सकरात्मक भावना नै हो । विषम परिस्थितिलाई आफ्नो पक्षमा पार्न र जति सुकै नकारात्मक अवस्था भए पनि त्यसलाई सकरात्मक पार्न हाम्रो सोच तथा विचारले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । केही समय पहिले अमेरिकामा भएको एक अनुसन्धानले पनि मानिसको उमेरको सवालमा सकरात्मक सोच भएका मानिसहरुको उमेर नकरात्मक सोच भएका मानिसहरुको भन्दा धेरै बढी हुने तथ्य पत्ता लगायो । त्यस्ता राम्रा सोच भएकाहरु जीवनका हरेक क्षणमा सुख, शान्ति, समृद्धि तथा आनन्द प्राप्त गर्दछन् । उनीहरु जिन्दगीमा सफलताको उचाइमा पुग्दछन् । कहिले पछाडि फर्केर हेर्नु पर्दैन । सदैव सफलताको शिखरतर्फ उन्मुख रहन्छन् । संसारमा भएका यस्ता विभिन्न खोज अनुसन्धानले प्रमाणित गरेको कुरा यो हो कि सकरात्मक भावना र विचारमात्र यस्तो अस्त्र हो जसले जस्तो सुकै समस्यामा विजय दिलाउन सक्छ ।

एक समयको कुरा हो । एउटा गाउँमा गोलियथ नाम गरेको एउटा राक्षस बस्दथ्यो । त्यो राक्षस देखेर सबैजना भयभित थिए । एक दिन त्यही गाउँमा डेविड नाम गरेको एकजना भेडा गोठालो आइपुग्यो । डेविडले गाउँलेलाई भन्यो, “तपाईँहरु त्यो राक्षससँग किन लड्नु हुन्न ? किन उसलाई परास्त गर्न सक्नुहुन्न ?”

गाउँलेहरुले भने, “त्यो राक्षस यति ठूलो ज्यानको छ कि, त्यसलाई मार्न सकिदैन ।”

डेविडले भन्यो, “तपाईँहरुको भनाइ सही हो उ ज्यानमा ठूलो छ तर ठूलो हुँदैमा उसलाई मार्न नसकिने हो र ? बरु वास्तविकता यो हो कि त्यो यति ठूलो छ, उसलाई आक्रमण गरेपछि निशाना खेर जाँदैन । जति पनि निशाना लगाइन्छ, सबै निशाना उसको शरीरमा लाग्दछ । उसको शीर छेदन गर्न सहज सकिन्छ । बरु शरीर ठूलो भएको कारणले उ माथिको कुनै पनि निशाना खेर जाँदैन ।” 

त्यसपछि सबैमा आँट र साहस आयो । त्यो भीमकाय राक्षससँग लड्न डेविड अगाडि बढ्यो । डेविडले गुलेलीको प्रयोग गरेर त्यो राक्षसलाई समाप्त पारिदियो । यसैगरी कुनै पनि समस्या आफैमा ठूलो वा सानो हुँदैन । जसरी एउटा सामान्य भेडा गोठालो डेभिडले गोलियथ जस्तो भीमकाय राक्षसलाई परास्त गर्यो त्यसैगरी हामी अहिलेको नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट पनि मुक्ति पाउन सक्छौं । यसका लागि हामी सबै सकरात्मक सोचका साथ एकजुट भएर लाग्नुको विकल्प छैन ।

हेलेन केलरको यो भनाइलाई हेरौं– Keep your face to the sunshine and you cannot see a shadow । यो भनाइले हामीलाई हाम्रा दृष्टिकोणको बारेका स्पष्ट बन्न उत्प्रेरित गर्दछ । भित्तामा सेतो चुनले पोतेको ठाउँमा सानो कालो दाग छ भने हामी सबै सेतो भागलाई बेमतलब गरी कालो दागलाई मात्र देख्छौँ । राम्रो कुरा सबल पक्ष र असल पाटोभन्दा हामी नराम्रो तिर बढी अभिरुचि राख्छौँ । हामी कालो धब्बा र टाटाहरु मात्र खोज्छौँ । घामतिर नहेरेर छाँयातिर फर्कन्छौँ । घाममा भएको प्रकाश नदेखेर छाँया मात्र देख्छौँ । हामी सकारात्मक सोचप्रति आकर्षित हुन जरुरी छ । नकारात्मक सोचले गर्दा हामी हरेक क्षेत्रमा पछाडि परिरहेका छौँ । हामी सकरात्मक भावनाका साथ अगाडि बढेमा जस्तोसुकै परिस्थितिलाई काबुमा राख्न सक्छौँ र मानव जातिले विजय प्राप्त गर्न सक्छौँ ।

एकदिन एकजना मानिस टेम्पो चढेर रेलवे स्टेशनमा जाँदै थिए । एक्कासी तीव्र गतिमा एउटा कार पार्किङबाट सडकमा आयो । टेम्पो चालकले जोडले ब्रेक लगाउनाले कार र टेम्पो ठोक्किनबाट अलिकतिले बच्यो । कार चालक रिसले चुर भयो । रिसको झोकमा टेम्पो चालकलाई जथाभावी र तथानाम गाली गर्न थाल्यो । तर टेम्पो चालक रिसाएन । उसले नकारात्मक जवाफ दिएन । अपशब्द र नराम्रो बचन लगाएन । उ सबैको भलो होस् भनेर कामना गर्ने र असल स्वभाव तथा विचार भएको मानिस थियो । उल्टै कारवालासँग माफी मागेर उ आफ्नो बाटोमा लाग्यो । टेम्पोमा बसेको यात्री अचम्ममा पर्यो । टेम्पोमा यात्रा गरिरहेको यात्रुले टेम्पो चालकलाई भन्यो, “तपाईले त्यो कार चालकलाई केही नभनी किन जान दिनुभयो ? जबकी गल्ती उसको थियो ।” 

चालकले उसलाई एकदमै मार्मिक जवाफ दिए, “सर धन्य हाम्रो भाग्य बलियो रहेछ र दुर्घटना भएन, नत्र हामी उसकै कारणले यतिवेला कुन अस्पतालमा हुने थियौँ होला ।” 

उसले अझै थप्यो, “त्यो कार चालकको दिमागमा धेरै कुँडाकरकट भरिएको रहेछ, कोही मानिसहरु आफ्नो दिमागमा फोहोरको डुँगुर बोकेर हिँड्छन् ।” त्यो टेम्पो चालकले यात्रीलाई भने, “कोही मानिसहरु आफ्नो जीवनमा काम नलाग्ने सोच, विचार र नकरात्मक भावनाको चाङ लिएर हिडेका हुन्छन् र कहाँ फालौं भनेर खोज्छन् । दिमागमा त्यही रिस, क्रोध, चिन्ता, निराशा बोकेर हिँड्छन् । अर्कोतर्फ सकरात्मक भावना र विचार । त्यसैले त यो संसार अजीव छ र सजीव पनि ।” यो सुनेर यात्रु पनि अवाक बने । यो घटनाले विचार र स्वभाव तथा भावना सकरात्मक हुँदा कसैलाई हानी हुदैन र ज्यान बच्छ र बचाउन सकिन्छ भन्ने स्पष्ट हुन्छ ।

विष्टर्न चर्चिलले झनेका छन्, “निरासावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आसावादी व्यत्ति भने हरेक समस्यामा अवसर देख्छ ।” यो भनाइले प्रस्ट पारेको छ, समस्या र अवसर भन्ने कुरा पनि अरू केही नभएर मानिसको सोचाइ मात्र हो । समस्या र समाधान एउटै सिक्काका दुई पाटा हुन् । जहाँ समस्या त्यहाँ समाधान । यो त ध्रुवसत्य कुरा हो । समस्या मान्छेलाई लडाउन होइन बरु उठाउन आउँछ । तसर्थ समस्या आउँदा आँटिलो, साहसिलो, गर्विलो र दर्विलो हुनुपर्छ । खुट्टा लुलो होइन, दह्रो बनाउनुपर्छ । डराउने होइन, भाग्ने होइन, समस्यासँग जुधेर समाधान गर्नुपर्छ । कोरोना भाइरसका कारण देशमा भएको सामाजिक, शैक्षिक, आर्थिक, मानसिक तथा अन्य नकरात्मक भावना र यथार्थलाई जितेर अगाडि बढ्न सकारात्मक सोचको विकल्प छैन । सकारात्मक सोचले हामीलाई सफलताको शिखरमा पुराएरै छाड्छ । सकरात्मक सोचले मानिसलाई असल बनाउँछ, राम्रो बनाउँछ । यसबाट मानव सभ्यता असल र राम्रो बन्दछ । 

अन्त्यमा

“सकारात्क सोच नै मानिसको जीवनको ऊर्जा हो । बन्दुकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुणा बढी शक्ति हुन्छ” भन्ने प्रसिद्ध भनाइले हामीलाई यसको महत्व र उपादेयता स्पष्ट पार्दछ । कोरोना भाइरसका कारण नेपालमा जति समस्या छ त्योभन्दा लाखौँ गुणा बढी हाम्रो दिमागमा भएको नराम्रो सोचका कारण समस्या आएको छ । आज २०७६ चैत्र १८ मङ्गलबारसम्म जम्मा पाँच जना यो रोगबाट सङ्क्रमित भेटिएका छन् भने एक जनाले पनि यो भाइरसका कारण मृत्युवरण गरेको अवस्था छैन । सङ्क्रमितमध्ये केही त निको भएर आफ्नो घरमा गइसकेका छन् । देशभरका नागरिक एकजुट भएर यो रोगसँग लड्न एकाकार भएका छन् । देशका सबै तह र तप्काका मानिसहरु डटेर लागेका छन् । रोगसँग बच्न, बचाउन सक्रियता पूर्वक लागेका छन् । सञ्चार माध्यमबाट व्यापक प्रचार गरिएको छ । सुरक्षा र स्वास्थ्य संयन्त्र परिचालित भएको छ । हामी सुरक्षित र संयमित भएर काम गरिरहे यो रोग ढिम्किन सक्दैन । लकडाउनको समयलाई जीवनोपयोगी सीप, परिवर्तन, सुधार, अध्ययन तथा भावी समयको लागि योजना निर्माणका लागि लगाउन आवश्यक छ । सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्नु आजको आवश्यकता हो । यसले हाम्रो र भावी पुस्तको जीवन सुरक्षित बनाउँछ । हाम्रा सामाजिक, आर्थिक, राजनीतिक र समग्र पक्ष सबल हुन्छन् । जीवन र जगतको स्वरूप नै उत्कृष्ट सुन्दर बन्दछ । त्यसैले भनिन्छ नि आफू भलो त जगतै भलो । अस्तु ।

(लेखक काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित बालविकास माध्यमिक विद्यालयका शिक्षक हुन्)