After SEE Portal

खुला विश्वविद्यालयमा इन्टरनेटबाट कपिपेस्ट गर्दै पढाउँदै

Bridge Course

बेथितिको अखडा बन्न थाल्यो नेपाल खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालयलाई पनि त्रिभुवन विश्वविद्यालयको जस्तै रोगले गाँज्न थालेको छ । समस्यामुक्त हुने विश्वासमा नयाँ स्थापना भएको विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको थियो, तर त्रिविकै दुरुस्त समस्या नेपाल खुला विश्वविद्यालय (एनओयु)मा देखिन थालेपछि सुरुमा उत्साहित बनेका विद्यार्थीहरुको भरोसा खस्किन थालेको छ ।

एनओयुले समयमा कक्षा सुरु नगर्ने, पुस्तकालयमा पर्याप्त सहयोगी सामग्री नभएको, पाठ्यक्रम समयमा उपलब्ध नगराउने लगायतका समस्याले विद्यार्थीहरु आजित भइसकेका छन् ।

फ्याकल्टी अफ साइन्स, हेल्थ एण्ड टेक्नोलोजीअन्तर्गतको मास्टर इन ई–गभर्नेन्स दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु विश्वविद्यालयको पठनपाठनप्रति सन्तुष्ट हुन नसकेको बताउँछन् ।

विश्वविद्यालयले सो विषयको पहिलो सेमेस्टरको परीक्षा गत नोभेम्बर महिनामा सञ्चालन गरेको भए पनि अहिलेसम्म नतिजा सार्वजनिक गर्न सकेको छैन । उक्त संकायका डिन लगायतका पदाधिकारीले दुई चार दिनभित्र नतिजा सार्वजनिक गर्ने भन्दै एक महिना अगाडिदेखि झुलाइरहेको विद्यार्थीहरुको गुनासो छ ।

विश्वविद्यालयले निर्धारित समयमा कक्षा सञ्चालन गर्न सकेको छैन । हरेक दिन साढे ६ बजेदेखि कक्षा सञ्चालन गर्ने भनिए पनि निर्धारित समयमा कहिल्यै कक्षा सञ्चालन हुन सकेको छैन । ‘दोस्रो सेमेस्टरको परीक्षा आइसक्यो तर पनि पहिलो सेमेस्टरको नतिजा सार्वजनिक हुन सकेको छैन । सम्बन्धित निकायमा सोद्धा दुई–तीन दिनपछि हुन्छ भन्दै महिनौं टारी सके’ ती विद्यार्थीले नाम उल्लेख नगरदिन आग्रह गर्दै भने, ‘विश्वविद्यालयले पहिलो सेमेस्टरमा विद्यार्थीलाई प्रदान गरेको छात्रवृत्तिको रकमसमेत अहिलेसम्म प्रदान गरेको छैन । हामीले पटकपटक विश्वविद्यालयमा सम्पर्क गर्दा पदाधिकारीले ‘रेस्पन्स’ नै गर्दैनन् ।’

विश्वविद्यालयले गत वर्षबाट सञ्चालन गरेको सो विषयका शिक्षक पेसागत दृष्टिले दक्ष नभएको विद्यार्थीको आरोप छ । शिक्षक विज्ञ नहुँदा आफूहरुलाई जाभा–टी–पोइन्ट डब्लूथ्रीस्कूल्सबाट कपिपेस्ट गरेर पढाउने गरेको विद्यार्थीको आरोप छ । दोस्रो सेमेस्टरका कुनै पनि ‘एसाइनमेन्ट’मा शिक्षकले ‘कमेन्ट वा फिडब्याक’ दिएकै छैनन् । परीक्षा केही दिनभित्र सुरु हुँदैछ । कक्षामा विद्यार्थीले नै स्लाइड बनाएर प्रदर्शन गर्ने गरे पनि कुनै शिक्षकले अहिलेसम्म भयो वा भएन भनेर ‘फिडब्याक’ नदिएको विद्यार्थीको दुःखेसो छ ।

ओपन प्रोग्राम, ओपी विषयको कक्षा कार्यमा इन्टरनेटबाट स्क्रिनसर्ट गरेर बुझाउँदासम्म शिक्षकले ‘कमेन्ट’ गर्दैनन् । शिक्षकले अध्यापन गरेका विषयवस्तुको लिङ्क नै पठाए पनि पढाइ परिवर्तन नभएको विद्यार्थीले जानकारी दिए ।

खाली समयको सदुपयोग गर्ने, बीचैमा पढाइ छाडेका र काम गर्दै पढ्ने लगायतका विद्यार्थीको लागि भनेर गत २०७३ सालमा स्थापना भएको विश्वविद्यालयको शिक्षण कार्यप्रति विद्यार्थीहरु असन्तुष्ट देखिएका छन् ।

मास्टर इन इ–गभरर्नेन्सको सुरुको पहिलो सेमेस्टरमा ४५ जना विद्यार्थी भर्ना भएका थिए । ती विद्यार्थी अहिले दोस्रो सेमेस्टरमा पुगेका छन् र तीमध्ये करिव २५ जनामात्र सक्रिय छन् । नियमितरुपमा कक्षा लिने विद्यार्थी पुगनपुग १० जनामात्र छन् । बाँकी १५ जनाले विश्वविद्यालयमा आफ्नो पढाइ निरन्तरता दिनका लागि ८० प्रतिशत हाजिरी पुग्नैपर्ने भएकोले मात्र कक्षाको अन्त्यमा उपस्थिति जनाउने गरेको बताए ।

उक्त विषय पढ्नका लागि विद्यार्थीले विभिन्न शीर्षकमा एक सेमेस्टरको करिव ४० हजार रुपियाँ शुल्क तिर्नुपर्छ । पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीले परीक्षा शुल्क र केही अतिरिक्त शुल्क तिर्नुपर्ने भए पनि अन्य रुपियाँ विश्वविद्यालयले अहिलेसम्म फिर्ता गरेको छैन । छात्रवृत्ति रकम लिनलाई विद्यार्थीले धेरै प्रयास गर्नुपर्ने विद्यार्थीको गुनासो छ ।

प्रविधिको उच्चतम सफ्टवेयर प्रयोग गरेर कक्षा सञ्चालन गर्ने भनिए पनि सबै कक्षा स्पष्टसँग सुनिदैन । बीचबीचमा झ्यारझ्यार आवाज आउने गरेको छ । यस विषयमा सम्बन्धित निकायमा पटकपटक विद्यार्थीले जानकारी गराए पनि सुनुवाइ हुन सकेको छैन ।नियमित कक्षा लिइरहेका विद्यार्थीको छात्रवृत्ति रकम विद्यार्थीलाई प्रदान गर्ने जानकारी विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । कुनै पनि शिक्षकले अनलाइन वा अन्य माध्यमबाट सिधै कक्षामा ल्याएर आफ्नो सामग्री भनेर पढाएको पाइएमा विश्वविद्यालयले कारवाही गर्ने सो संकायका डिन इन्द्रबहादुर कार्कीले बताए । ‘अनलाइन वा अन्य कुनै माध्यमबाट कक्षामा सिधै पढाउन पाइँदैन तर विदेशी विश्वविद्यालयले गरेको अभ्यास हेर्न र विद्यार्थीलाई सोर्स दिएर देखाउन पाइन्छ’ उनले तर्क गरे, ‘सिधै कक्षामा कपी पेस्ट गरेको पाइएमा ऐनले गरेको व्यवस्थाअनुसार कारवाही गर्छौँ ।’

विश्वविद्यालयले उक्त संकाय बाहेक फ्याकल्टी अफ सोसियल साइन्स एन्ड एजुकेसन र फ्याकल्टी अफ म्यानेजमेन्ट एण्ड लका विभिन्न विषयमा पठनपाठन गराउँदै आएको छ ।अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने सन् १९६९ मा बेलायतबाट सुरु भएको खुला विश्वविद्यालयको अवधारणा तत्कालीन बेलायती प्रधानमन्त्री होराल्ड विल्सनले सन् १९६४ ल्याएका हुन् । विश्वका विभिन्न ६५ मुलुकमा अहिले खुला विश्वविद्यालय अभ्यासमा छन् । आधुनिक प्रविधिको प्रयोग गरी आफ्नो कार्यक्षेत्रमै बसेर पढ्न सकिने हुनाले यो विश्वविद्यालय नेता, पेसाकर्मी, कलाकारलगायत बीचैमा पढाइ छाडेका विद्यार्थीलाई वरदान सावित भएको उपकुलपति प्राडा लेखनाथ शर्माले बताए । ‘सबै समस्यालाई सम्बोधन गरेर नेपालको उत्कृष्ट विश्वविद्यालय बनाउछौँ’ उनले भने ।

A Levels MA
Thuprai - Books and E-books