CMAT

सार्कस्तरीय वैज्ञानिक सम्मेलन गरिने

हेटौँडा, १० फागुन (रासस) : प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्व विद्यालयको दुई फरक फरक विभागबीच युवा वैज्ञानिक सम्मेलन तथा सार्कस्तरीय वैज्ञानिक सम्मेलन गर्ने गरी आज समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको उपस्थितिमा मन्त्रालयका सचिव शिवकुमार वाग्ले र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका निर्देशक डा दीपक अर्याल तथा सोही विश्व विद्यालयका प्राविधिक अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा रामेश्वर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । 

सम्झौतापछि मुख्यमन्त्री पौडेलले देशका कुना काप्चामा लुकेका प्रतिभाको कदर गर्न तथा नेपाली वैज्ञानिकको पहिचान गरेर समृद्धिको यात्रामा समाहित गराउन कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले नेपालमा सरकारीस्तरबाट पहिलो पटक वैज्ञानिकको भेला गरेर उनीहरुको दक्षताको पहिचान गर्न लागिएको जानकारी गराउनुभयो । 

प्रदेश सरकारको योजनालाई त्रिविले सहकार्य गर्न देखाएको तत्परताले आफूलाई खुशी लागेको उहाँले बताउनुभयो । कार्यक्रममा उद्योगमन्त्री नेपालले प्रदेश सरकार देशको हरेक क्षेत्रको विकास गर्न लागि परेको र वैज्ञानिकहरुको सम्मेलन गरेर नेपालको कृषि तथा पर्यटन एवं औद्योगिक विकासका लागि उनीहरुको ज्ञानको प्रयोग गर्न सोे कार्यक्रमका आयोजना गरिएको जानकारी दिनुभयो । 

सम्झौताअनुसार आगामी वैशाख १० र ११ गते त्रिभुवन विश्व विद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले नेपालभित्र भएका विज्ञान तथा प्रविधि क्षेत्रका नवप्रतिभालाई थप प्रोत्साहन तथा हौसला बढाउन सहयोग पु¥याउन राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन गरी अनुसन्धान कार्यपत्र प्रकाशनको आधार तयार पार्ने विभागका कार्यकारी निर्देशक डा रामेश्वर अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार सम्मेलनमा प्रदेश तथा देशभित्रका १५० युवा वैज्ञानिकको सहभागिता रहनेछ । त्यस्तै विश्व विद्यालयको अर्को विभाग जल तथा मौसम विज्ञान विभागले आगामी जेठ २२ र २३ गते कम्तीमा पनि ५० को सहभागिता रहने गरी सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन गर्नेछ । 

विभागका प्रमुख डा दीपक अर्यालकाअनुसार प्रस्ताव आह्वान गरी नेपालको आवश्यकतालाई ठिक हुने गरी प्राप्त प्रस्तावमध्ये समितिमार्फत छनोट गरेर सार्कका सबै देशबाट प्रतिनिधित्व रहने गरी सहभागी गराइने छ । दुवै कार्यक्रमका लागि कूल रु ८० लाख खर्च हुने र जसमध्ये राष्ट्रिय युवा वैज्ञानिक भेलाका लागि रु ३० लाख खर्च हुनेछ भने सार्क वैज्ञानिक सम्मेलनका लागि रु ३० लाख खर्च हुने सम्झौता पत्रमा उल्लेख छ । 

Thuprai - Books and E-books