सामुदायिक विद्यालय भौतिक र शैक्षिकरुपमा पछाडि रहेको गुनासो आइरहेको समयमा दाङको एक सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापका लागि सभाहल तयार भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं १८ मा रहेको रझेना माध्यमिक विद्यालयमा सभाहल निर्माण गरिएको हो । जिल्लामा शैक्षिक र भौतिक गुणस्तरमा अब्बल रहेको रझेना माविले विद्यालयमा सेमिनार, गोष्ठी र अन्य औपचारिक कार्यक्रमका लागि स्तरीय सभाहलको निर्माण गरेको छ ।
प्रदेश सरकारको रु ४० लाख र विद्यालयको आन्तरिक रु २२ लाख गरी करीब रु ६२ लाख लागतमा उक्त भवन निर्माण गरिएको हो । सुविधायुक्त पक्की शौचालयसहित तयार पारिएको सभाहलको प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले एक समारोहकाबीच उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री पोखरेलले अब सामुदायिक विद्यालयलाई नमूना बनाउनका लागि सरकार, स्थानीय तह, जनसमुदाय सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले प्रदेश सरकारले प्रत्येक जिल्लामा नमूना विद्यालय, प्रविधियुक्त विद्यालय बनाउने कार्यलाई तीव्रता दिएको भन्दै अब सामुदायिक विद्यालयको स्तरवृद्धिमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।