​ वालिङमा सात सामुदायिक विद्यालयलाई एकापसमा समायोजन

 नयाँ शैक्षिक सत्रको शुरुआतसँगै यहाँका सात सामुदायिक विद्यालयलाई एकापसमा समायोजन गरिएको छ ।

 स्मार्टनगरको रुपमा घोषणा भई कार्यान्वयनको चरणमा रहेको वालिङ नगरपालिकाले विद्यालय शिक्षा (१–१२) कक्षा स्थानीय तहको अधिकारभित्र आएसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि ती विद्यालयलाई एकापसमा समायोजन गरेको हो ।
 
शैक्षिक सत्रको शुरुआत चरणमै पाँचवटा सामुदायिक विद्यालयलाई समायोजन गरेर जिल्लामै पहिलो नमूना अभ्यास गरेको वालिङ नगरपालिकाले थप दुईवटा सामुदायिक विद्यालय समायोजन र नौ वटाको तह घटाउने निर्णय गरेको हो ।
 
वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम सापकोटाका अनुसार समायोजनमा परेका विद्यालयहरुमा वालिङ– ११ स्थित पञ्चमूल आधारभूत विद्यालयलाई नजिकैको टापु भञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयमा र वालिङ ९ स्थित जन्मभूमि आधारभूत विद्यालयलाई नजिकैको भूम्रे माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
 
त्यस्तै शारदा आधारभूत विद्यालयलाई राम्चेदेवी आधारभूत विद्यालयमा, कालिकादेवी आधारभूत विद्यालयलाई भगवती आधारभूत विद्यालयमा र चन्द्रज्योति आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । शारदा, राम्चेदेवी र चन्द्रज्योतिमा १–५ कक्षा सञ्चालन भएको थियो भने कालिकादेवी र भगवतीमा १–३ कक्षा सञ्चालनमा रहेको थियो । 

यसैगरी तह घटेका विद्यालयमा मुटु भञ्ज्याङ आधारभूत विद्यालय वालिङ १३ रहेको छ । यो विद्यालयमा कक्षा १ देखि ६ सम्म पठनपाठन हुँदैआएको थियो । कक्षा ५ सम्म पठनपाठन हुने गरी तह घटाइएको शिक्षा शाखा अधिकृत प्रकाशबन्धु अर्यालले बताउनुभयो ।
 
अर्यालका अनुसार बनपाला आधारभूत विद्यालय, प्रभात आधारभूत विद्यालय, अमर आधारभूत विद्यालय, भविष्य उज्ज्वल आधारभूत विद्यालय, फूलबारी आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालयको पनि तह घटाइएको छ । 
 
मदन–आश्रित आधारभूत विद्यालय र गणेशमान स्मृति आधारभूत विद्यालयको पनि तह घटाइएको शिक्षा शाखा अधिकृत अर्यालले बताउनुभयो ।
 
“विद्यार्थी सङ्ख्या न्यून हुनु एउटा कारण हो भने अर्को कारण भौगोलिक विकटता हो” वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “शिक्षामा गुणस्तर वृद्धिका लागि विद्यालय समायोजन गरिएको हो ।”
 
नयाँ शैक्षिक सत्रको शुरुआतसँगै पहिलो चरणमा पाँच वटा सामुदायिक विद्यालय समायोजन गरिएको र दोस्रोचरणमा दुई वटा सामुदायिक विद्यालय समायोजन तथा नौ वटाको तह घटाएको नगर प्रमुख खाँणले बताउनुभयो ।
 
“विद्यालयलाई एकआपसमा समायोजन गरी शैक्षिक व्यवस्थापन प्रणालीलाई मजबुत बनाउने हाम्रो उद्देश्य हो” नगर प्रमुख खाँणले भन्नुभयो, “न्यूनतम मापदण्ड नपुगेका विद्यालयलाई मात्रै समायोजनको प्रक्रियामा लगिएको छ ।”
 
स्मार्ट सिटीकोरुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले जिल्लामै पहिलो पटक विद्यालय समायोजन गरेको शिक्षा शाखाको दाबीे छ । वालिङ नगरपालिकाभित्र कूल ८० वटा सामुदायिक विद्यालय रहेकामा सात वटा समायोजन भएसँगै अब ७३ वटा रहेका छन् । 

शिक्षा शाखा प्रमुख सापकोटाका अनुसार वालिङ नगरभित्रका १४ वटै वडामा सामुदायिकतर्फ माध्यमिक विद्यालय १६ वटा र आधारभूत विद्यालय ५७ वटा रहेका छन् । त्यस्तै संस्थागत विद्यालयको सङ्ख्या १७ रहेको छ भने धार्मिक प्रकृतिको मदरशा एउटा दर्ता छ ।
 
शिक्षा शाखाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि नगर कार्यपालिकालाई शैक्षिक गुणस्तर वृृद्धिका लागि विभिन्न ५० बुँदे कार्यक्रम प्रस्ताव गरेको शिक्षा शाखा प्रमुख सापकोटाले बताउनुभयो ।
 
नगर कार्यपालिकाले बनाउने आगामी नीति तथा कार्यक्रममा समावेश गर्नका लागि बालमैत्री विद्यालय व्यवस्थापन, दिवा खाजाको व्यवस्था, नैतिक शिक्षा प्रदान, सेनेटरी प्याडको व्यवस्था, एक शिक्षक एक झोला कार्यक्रम, एक विद्यालय एक पुस्तकालय, इ–लाईब्रेरीको व्यवस्था, जङ्क फूड निषेध, प्राथमिक उपचार बाकसको व्यवस्था, स्थानीय पाठ्यक्रम निर्माणजस्ता ५० वटा बुँदा समेटिएको प्रस्ताव पेश गरेको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।  

–तोलाकान्त बगाले