Bachelors Portal

इजरायली दूतावासद्वारा ‘निरन्तर मेडिकल शिक्षा’ प्रदान

काभ्रेपलाञ्चोक, २९ भदौ (रासस): पश्चिम एशियाली मुलुक इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित दूतावासले आज धुलिखेल अस्पतालमा प्रशिक्षण कार्यक्रम अयोजना गरी ‘निरन्तर मेडिकल शिक्षा’ (सीएमई) प्रदान गरेको छ ।

एकदिने प्रशिक्षण कार्यक्रममा मातृ स्वास्थ्य एवं प्रसूति तथा शिशु स्वास्थ्यबारे जानकारी दिइएको इजरायलस्थित तेल अभिभ स्वार्रस्के मेडिकल सेन्टरका प्रा डा आर्यल मनीले बताउनुभयो । उहाँले भन्नुभयो, “मातृस्वास्थ्यमा पनि प्रसूति सेवा गम्भीर हुन्छ, यसमा कार्यरत चिकित्सक एवं स्वाथ्यकर्मीले विशेष ध्यान दिनु जरुरी पर्दछ ।” प्रसूति सेवाअन्तर्गत शल्यक्रिया गरी शिशु जन्माउने प्रक्रिया ‘गम्भीर मातृ–शिशु स्वास्थ्य’ भएको उहाँले बताउनुभयो । दूतावासले इजरायली पाँच जनाको स्त्री रोग विशेषज्ञ तथा बाल रोग विशेषज्ञको टोली ल्याई प्रशिक्षण दिएको हो । ‘ब्रिङ्गिङ लाइफ् इन वल्र्ड’को नारा बोकेर तेल अभिभस्थित मेडिकल सेन्टरले निरन्तर मेडिकल शिक्षा दिँदै आएको प्रा डा मनिले बताउनुभयो ।

“सीएमई कार्यक्रमअन्तर्गत मातृ–शिशुको स्वास्थ्य व्यवस्थापन प्रमुख विषय हो, हामीले यसलाई स्वास्थ्यकर्मीका बीच निरन्तरता दिँदै आएको छौँ”, उहाँले भन्नुभयो । प्रशिक्षणमा वीर अस्पतालस्थित (नेम्स्), नेपाल मेडिकल कलेज, केएमसी, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, काठमाडौँ विश्वविद्यालय स्कुल अफ् मेडिकल साइन्स्, किष्ट मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेजका स्त्री रोग विषयमा स्नातकोत्तर तहमा अध्ययनरत ४० विद्यार्थी सहभागी भएका धुलिखेल अस्पताल मातृ स्वास्थ्य विभागका प्रमुख डा अञ्जना डङ्गोलले जानकारी दिनुभयो ।

इजरायली चिकित्सक टोलीले आजै धुलिखेल अस्पताल प्रसूति विभागको निरीक्षण तथा मातृ–शिशुको स्वास्थ्यको अवस्थाबारे जानकारीसमेत लिएको छ । प्रशिक्षण कार्यक्रममा चिकित्सकले प्रसूति सेवा तथा शल्यक्रियाद्वारा शिशु जन्माउने नौलो प्रयोग तथा इजरायलको प्रविधिबारे विस्तृत जानकारी गराइएको डा डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “मास्टर्स इन् मीडवाईफीका विद्यार्थीलाई इजरायली चिकित्सक टोलीको निरन्तर मेडिकल शिक्षाको ज्ञान महत्वपूर्ण भएको छ ।”

स्वतन्त्रता दिवसका अवसरमा गत वर्ष इजरायली दूतावासले धुलिखेल अस्पतालमा बृहत् आँखा शिविरको आयोजना गरी ३० भन्दा बढी आँखा रोगीको निःशुल्क शल्यक्रिया गरेको थियो । यस्तै, सन् २०१० मा पनि इजरायलको स्वतन्त्रता दिवसका अवसरमा इजरायली दूतावासले जिल्लाका विकट गाउँ मानेखर्कमा इजरायलको ‘आईफ्रमजायन’बाट नेत्र विशेषज्ञको टोली ल्याई बृहत् आँखा शिविर सञ्चालन गरी ५५ जना मोतियाविन्दुका रोगीको निःशुल्क शल्यक्रिया गरेको थियो ।

सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएदेखि नै इजरायली परराष्ट्र मन्त्रालयको अन्तरराष्ट्रिय सहयोग निकाय (मसाभ)ले आफ्नो स्थापना दिवसमा नेपाललाई विशेषगरी मानव स्रोतको दक्षता विकासमा सहयोग पु¥याउँदै आएको छ । इजरायलको ७१औँ स्वतन्त्रता दिवससँगै मसाभ स्थापना भएको ६१ वर्ष पुगेको छ । नेपाल इजरायललाई समर्थन गर्ने दक्षिण एशियाकै पहिलो मुलुक हो ।

Thuprai - Books and E-books