कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि  (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

आगामी असोज ३० र ३१ गते विहान ११ बजेदेखि दिउसो २ बजेसम्म परीक्षा सञ्चालन गर्नेगरी बोर्डले तालिका सार्वजनिक गरेको हो ।

गत जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७८ भएका ) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा अवर्गीकृत (नन् ग्रेड) वा अनुपस्थित विद्याथीलाई लक्षित गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागिअसोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी रु. ६०० रकम बुझाई सक्नुपने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरुका लागि असोज १४ गतेभित्र विलम्ब शुल्क सहित आवेदन दिन सक्नेछन् । विद्यार्थीले बुझाएको शुल्क सम्बन्धित विद्यालयमार्फत असोज २५ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा जम्मा भइसक्नु पर्ने छ ।

एक विषयकोमात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपाउने छन् ।

अनिवार्य अङ्ग्रेजी विषयमा ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिन मात्र सञ्चालन हुनेछ ।

अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने सूचनामा उल्लेख गरेको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित गरिने छैन ।