A Levels MA

कक्षा ११ को वार्षिक परीक्षा असारमा गरिसक्नुपर्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १८–२५)

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी असार महिनाभित्र कक्षा ११ को परीक्षा सम्पन्न गरिसक्न विद्यालयहरूलाई परिपत्र गरिने जानकारी दिए ।

कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्नुपर्ने प्रावधान बनाइएको छ । विद्यालय आफैँले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ । विद्यालयले मार्क लेजर बोर्डको सम्बन्धित जिल्ला वा प्रदेशस्तरीय कार्यालयमा बुझाउनुपर्ने हुन्छ । कक्षा ११ मा न्यूनतम ३५ प्रतिशत अर्थात् विषयगत रूपमा डीप्लस ल्याएको हुनुपर्छ । सोभन्दा कम प्राप्त गर्नेले कक्षा १२ को परीक्षामा सम्मिलित नगराउने व्यवस्था छ ।

यसैबीच बोर्डले कक्षा १० मा विज्ञान, गणित र अङ्ग्रेजी विषयको स्तरीकृत परीक्षा सञ्चालन गरेको छ ।

देशका ४२ विद्यालयका पाँच हजार विद्यार्थीमा यस्तो परीक्षा सञ्चालन गरिएको छ । यस्तो परीक्षा पहिलोपटक सञ्चालन गरिएको हो र यस वर्षको एसईईमा सहभागी हुने विद्यार्थीहरूलाई नै स्तरीकृत परीक्षामा सम्मिलित गराइएको थियो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको प्रश्नपत्र सुधार गर्न र समानस्तरको प्रश्नपत्र तयार गरी परीक्षा सञ्चालन गर्ने उद्देश्यले यसखाले परीक्षा सञ्चालन गरिएको जानकारी दिए ।

“यस परीक्षाका आधारमा कक्षाकोठामा अध्यापनमा सुधार र परिवर्तन ल्याउनुपर्छ” उनले भने, “यसैका आधारमा आगामी वर्षबाट एसईईको प्रश्नपत्रमा सुधार गरिनेछ ।”

स्तरीकृत परीक्षाका लागि ३० हजार शिक्षकलाई सहभागी गराएर प्रश्नपत्र तयार गरिएको बोर्डले जानकारी दिएको छ । शिक्षकबाट अनलाइन र भौतिक उपस्थितिका आधारमा प्रश्न सङ्कलन गरिएको थियो ।

बोर्डका अध्यक्ष डा. शर्माले कक्षा ८ को पनि नमुना प्रश्न बनाइएको बताए । उनले देशका ७५३ पालिकाका शिक्षा अधिकारीलाई तालिम दिने र तिनै अधिकारीमार्फत शिक्षकलाई तालिम दिने योजना तयार गरिरहेको बताए ।

पाँच रुपियाँ लिएर तरकारी बजारमा जानुभयो भने कति थरिका कति परिणाममा तरकारी किन्न सक्नुहुन्छ ? अब त पाँच रुपियाँमा एक मुठा हरियो धनियाँ पनि हात पर्दैन ।

सुन्दा पत्यार नलाग्न सक्छ काठमाडौँको तीनधारा पाकशालामा बस्ने विद्यार्थीलाई राज्यले तरकारी खान दैनिक पाँच रुपियाँ उपलब्ध गराउँदै आएको छ ।

आवासीय रूपमा त्यहाँ बस्ने संस्कृतका विद्यार्थीलाई खान्कीका रूपमा पाँच रुपियाँको तरकारीबाहेक दाल, भात र दैनिक एक तोला घ्यू उपलब्ध गराउने गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले ठेकेदारमार्फत दाल र चामल पाकशालालाई उपलब्ध गराउँछ । तरकारी र घ्यूवापतको रकम पाकशालालाई सिधै उपलब्ध गराउने गरिएको छ ।

 शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजित विद्यालयका कर्मचारीलाई समायोजन भएको विद्यालयमा विद्यार्थी संख्या र आवश्यकता अनुरुप समायोजन गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।

केन्द्रले दिएको निर्देशनमा समायोजित विद्यालयमा विद्यालय कर्मचारीको आवश्यकता नहुने भए सम्बन्धित स्थानीय तहले आफ्नो क्षेत्रभित्रको अन्य आवश्यक विद्यालयमा पठाउन निर्देशन दिएको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशन आज देखि सुरु भएको छ ।

महाधिवेशनमा ‘नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदानको विषयमा हिसान शिक्षा बहस’ का लागि आधा दर्जन भन्दा बढी कार्यपत्र प्रस्तुत गरी त्यसमा छलफल हुने भएको छ ।

कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै ओखलढुङ्गा, खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी गरेकी छिन् ।

आफूलाई चार वर्षसम्म तलब नदिएर श्रम शोषण गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापनविरुद्ध उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी हुन् ।

पछिल्लो तीन वर्षमा विदेश अध्ययन गर्न जाने विद्यार्थीसंगै नेपाली मुद्रा  ७३ अर्ब ३७ करोड रुपियाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुासर चालु आर्थिक वर्षको शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७६-७७ मा विदेशमा अध्ययन गर्न जानेहरुबाट २५ अर्ब ८१ करोड, २०७७-७८ मा पनि २४ अर्ब ९६ करोड र चालु आर्थिक वर्षमा २२ अर्ब ६० करोड रुपियाँ विदेशिएको छ । पछिल्लो तीन वर्षमा वैदेशिक अध्ययनका लागि ७३ अर्ब ३७ करोड रुपियाँ विदेशिको हो ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। आयोगले आज गोरखापत्रमा सूचना प्रकाशन गरी दर्खास्त आह्वान गरेको हो।

आयोगले विश्वविद्यालयका विभिन्न निकायहरुका लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, प्रशिक्षक र उप( प्रशिक्षक पदको लागि दर्खास्त आह्वान गरेको छ। उक्त पदमा आयोगले आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि विज्ञापन गरेको जनाएको छ।

Thuprai - Books and E-books