अब बालबालिकाले घरैमा शिक्षक पाउने (गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ सहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले होम स्कूलिङको अवधारणा कार्यान्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ तयार गरेको छ।

विषम परिस्थिति तथा प्रत्यक्षरूपमा विद्यालयमा उपस्थित भई शिक्षण सिकाइ गर्न नसकिने परिवेशमा घरमा नै बसेर सिकाइलाई निरन्तरता दिई तोकिएको सिकाइ उपलब्धि तोकिएकै समयमा प्राप्त गर्न सघाउ पुर्याउने उद्देश्यले उक्त सामग्री तयार गरेको हो ।

बालबालिकाको सिकाइ सहजीकरणमा अभिभावकलाई सहभागी गराई सिकाइमा सुधार गर्न नयाँ विधि र प्रक्रियालाई प्रयोग गर्दै बालबालिकाको पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भन्ने अवधारणालाई स्थापित गर्न गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ तयार गरिएको केन्द्रले जानकारी दियो ।

सिकाइलाई दैनिक जीवन, व्यवहार र श्रमसँग जोडी जीवनोपयोगी सिप विकास गर्ने लक्ष्य सहति यो सामग्री तयार गरिएको महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।

कोरोना महामारीका कारण विद्यालय उमेर समूहका करिब ७० लाख बालबालिकाको सिकाइ निरन्तरताका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ र विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना २०७७ स्वीकृत भई हाल कार्यान्वयनमा रहेको छ ।

सो कार्ययोजनाको बुँदा नं. ११ मा प्रत्येक घर परिवारलाई आफ्ना बालबालिकाको सिकाइमा सघन रुपमा सहभागी बनाउने गरी गृह विद्यालयको अवधारणा कार्यान्वयन गर्ने भनी उल्लेख गरिएको छ । सोही बुँदाको आधारमा केन्द्रले विभिन्न निकायको भूमिका स्पष्ट गर्दै सामग्री तयार गरेको हो ।

निर्देशिकामा होम स्कूलिङको परिचय, आवश्यकता, उद्देश्य, होम स्कुलिङ सञ्चालन प्रक्रिया, गृह शिक्षकले गर्न सक्ने क्रियाकलापहरु, सिकाइ सहजीकरणका लागि अभिभावक, विद्यालयको  कक्षा शिक्षाक, विद्यालय व्यवस्थापन समिति, स्थानीय शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाइ र गैरसरकारी संस्थाहरुको भूमिका पनि तोकिएके छ ।

‘गृह विद्यालयको अवधारणा कार्यान्वयनका लागि परिवारका सदस्यहरु जस्तैः आमा, बुबा, दाइ, दिदी, बाजे, बज्यै, पढेलेखेका अन्य सदस्य नै शिक्षक हुन सक्दछन्। उनीहरुले बालबालिकालाई प्रत्येक दिनको कार्ययोजना बनाएर सोही अनुसार पठनपाठनमा सहयोग गर्न सक्छन्। परिवारका सदस्यहरुले बालबालिकाको व्यक्तिगत सरसफाइ, घरको सरसफाइ उनीहरुको संरक्षकको बारेमा ध्यान दिन सक्छन्। सम्बन्धित सेवा क्षेत्रभित्रका विद्यालयका शिक्षकहरुले आवश्यकता अनुसार सम्बन्धित टोलमा गएर गृह शिक्षकलाई अप्ठेरो परेको विषयमा सहजीकरण गर्न सक्छन्। त्यसैगरी गृह शिक्षकले आफूलाई अप्ठेरो परेको विषयमा शिक्षकहरुसँग फोन गरेर वा भेटेर सहयोग लिन सक्छन्।’ कार्यविधिमा उल्लेख गरिएको छ।

यसरी पठनपाठन गराएका विद्यार्थीको मूल्याङ्कन भने विद्यालयले गर्ने कार्यविधिमा उल्लेख छ। ‘बालबालिकाकाले घरमा सिकेका विषयवस्तु समेत समेटेर विद्यालयले विद्यार्थीको निरन्तर मूल्याङ्कनको व्यवस्था गर्ने’ कार्यविधिले निर्देश गरेको छ ।

गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८