लकडाउनमा बालबालिकाको सिकाइ र अभिभावकको भूमिका

देश अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट बच्न र बचाउन लागिपरेको छ । आजको दिनसम्म आइपुग्दा यस महामारीका कारण विश्वमा लाखौं व्यक्तिले आफ्नो अमूल्य ज्यान गुमाइसकेको अवस्था छ भने लाखौं सङ्क्रमितको अवस्थामा छन् । यो कति समयसम्म लम्बिने हो यसको पनि कुनै लेखाजोखा छैन । पूर्व सावधानीका बाबजुत पनि नेपालमा यस रोगका कारण दिनहुँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो अवस्थामा छ । यो निकै चिन्ता र चासोको विषय हो । जनताको स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर राख्दै नेपाल सरकारले यसका लागि आफ्ना सम्पूर्ण साधन र स्रोतको व्यापक परिचालनका साथ अघि बढिरहेको छ । यस्तो जटिल एवं विषम परिस्थितिजन्य राष्ट्रिय अभियानमा सरकारलाई सहयोग गर्नु र तोकिएका स्वास्थ्य मापदण्डको पालना गर्नु गराउनु राज्यका हरेक निकाय तथा नागरिक समाजको दायित्व हुन्छ । 

लामो समयसम्म घरमा बस्दा मानसिक तनाव उत्पन्न हुनसक्छ । यस्तो अवस्थामा बालबालिकालाई सम्हाल्न र उनीहरुको पठनपाठनलाई सहज बनाउन निकै समस्या परिरहेको हामीले देखिरहेका छौं । बालबालिकाको यस उर्वर र सम्वेदनशील समयमा उनीहरुको दिनचर्यालाई कसरी सहज बनाउने ? उनीहरुको मानसिक तनावलाई कसरी सामान्यीकरण गर्ने र यो सिकाइको उमेर समूहलाई कसरी उपलब्धिमूलक बनाउने भन्ने कुरा सबै अभिभावकका लागि निकै अहम् सवाल बन्न पुगेको छ । बालबालिका स्वभावैले चञ्चले स्वाभावका हुन्छन् । उनीहरु एकै ठाउँमा स्थिर वा संयम भएर बस्न सक्दैनन् र उनीहरुको गतिशिलता तथा शारीरिक एवं मानसिक विशेषताका आधारमा कुनै न कुनै सिकाइ प्रक्रियामा सहभागी गराउँदै लकडाउनको समयलाई थप उपयोगी र कामयाबी बनाउनु अर्को चुनौतीको विषय पनि हो । यस्तो अवस्थामा बालबालिकालाई घरमा बसेर पनि धेरै कुराहरु सिकाउन सकिन्छ भन्ने उद्देश्यले यो सामग्री तयार गरिएको हो । यसले गर्दा हामी शिक्षक तथा अभिभावक वर्गलाई घरमै बसेर पनि वैकल्पिक एवं अनौपचारिक तवरले बालबालिकालाई धेरै ज्ञानवर्द्धक कुरा सिकाउन सकिन्छ भन्ने यस लेखको आशय हो ।

घर परिवार भनेको बालबालिकाको पहिलो पाठशाला हो । बाबुआमा तथा अभिभावक भनेका बालबालिकाको पहिलो गुरु हुन् । भनिन्छ– बालबालिकाको ९० प्रतिशत सिकाइ अरुको अनुकरणबाट हुने गर्दछ । उनीहरुले अरुले भनेको सुनेर, गरेको देखेर, अभिनय गरेर, छोएर, चलाएर वा अनुभूति गरेर धेरै कुरा सिक्न सक्छन् । बालमस्तिष्क आलो काँचो हुन्छ । सुरुमा जस्तो कुरा सिकायो वा सुन्यो त्यही नै उनीहरुको मानसपटलमा दीर्घकालसम्म दिगो भएर बसेको हुन्छ । कतिपय बालबालिकाको जिज्ञासामा हामी प्रौढहरु रिसाउने, झर्कने वा कुनै चिज बिग्रन्छ भनेर छुन वा अनुभूति गर्नै नदिने र बालबालिकालाई सिक्ने अवसर नै नदिने गर्छौं । यो बिलकुल गलत कुरा हो । विश्व विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ कि, “जसले कुनै गल्ति गर्दैन उसले कुनै पनि कुरा सिक्दैन ।” हामीले उनीहरुको जिज्ञासालाई समयमा र सहीरूपमा सम्बोधन गरेनौं भने उनीहरुको बालमस्तिष्कमा सधै खुल्दुली र अन्योल कायम भैरहन्छ । र, उनीहरुको सिकाइको चाहना र उत्प्रेरणा मरेर जान्छ । फलतः सिकाइ कमजोर हुन पुग्छ । 

मनोवैज्ञानिक थर्नडाइकको भनाइमा प्रयत्न र भुलबाट नै धेरै सिकाइ हुन्छ । हामीले बालबालिकाको अगाडि सामुन्ने वा उनीहरुले थाहा पाउने गरी कुनै गलत काम गर्नुहुँदैन । पहिलो कुरा त हामी कुनै पनि कुलतमा लाग्नु हुँदैन र कथंकदाचित लागेको छ भने पनि बालबालिकाको अगाडि ती कुरा प्रदर्शन गर्‍यौं भने त्यसको नकारात्मक प्रभाव सिधै उनीहरुमा पर्न जान्छ । जस्तैः सुर्तिजन्य पदार्थ तथा मादक पदार्थ कुनै पनि अवस्थामा सेवन गर्नुहुँदैन । त्यसैगरी शौचालयमा मात्र दिसा पिसाब गर्ने, जहाँपायो त्यहीँ नथुक्ने, हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, कपाल कोर्ने, हात खुट्टाका नङ काट्ने, बोल्दा मृदुभाषी, सम्मानजनक र विनयशील शब्द चयन गर्ने आदि कुराहरुमा हामी शिक्षक तथा अभिभावकले निकै ध्यान दिनुपर्छ ।

भाषा सञ्चारको माध्यम हो । विदेशी वा अन्तर्राष्ट्रिय भाषाको रुपमा रहेको अङ्ग्रेजी भाषाका कारण हाम्रा बालबालिकाले हाम्रो मौलिक भाषा संस्कृति र परम्परालाई बिर्साइदिएको छ । यो गलत कुरा हो । भाषा सिक्नु राम्रो हो तर भाषाको नाममा आफ्नो पहिचान नै मेट्नु गलत हो । बुबा, आमा, मुमा, दाजु भाइ, दिज्यू सानोबुबा, हजुरबुवा हजुरआमा जस्ता हाम्रा नेपाली भाषी साइनोहरुलाई बिगारेर अङ्ग्रेजीकरण गर्दागर्दा ड्याडी, मम्मी, ब्रदर, सिस्टर, अङ्कल, ग्राण्ड पा, ग्राण्ड मा आदि भन्दै गर्दा हाम्रा बालबालिकाले आफ्नो पहिचान नै बिर्सने अवस्था पनि आएको छ । यसकारण बालबालिकाको सिकाइमा अङ्ग्रेजीलाई मात्र महत्व नदिएर नेपाली भाषालाई प्राथमिकतामा राखेर सिकाउनु बेस हुन्छ । हामी अभिभावक पनि बच्चाले अङ्ग्रेजी बोल्दा मख्ख हुन्छौँ । हामीले यो बुझौं कि भाषाभन्दा विषयवस्तु सिक्नु ठूलो कुरा हो । यसको मतलब अङ्ग्रेजी नसिकाउनु भन्न खोजेको भने होइन । 

परिवारमा सिकाइ

सुप्रसिद्ध वैज्ञानिक एवं शिक्षाविद् अल्बर्ट आइन्सटाइनले भन्नुभएको छ “I never teach my pupil= I only attempt to provide the condition in which they can learn”  हो । वास्तवमा शिक्षकवा अभिभावकले बालबालिकालाई पढाउने होइन । उनीहरुले त सिक्नका लागि अनुकूल वातावरण बनाइदिने हो । बालबालिकाको दिमाग रित्तो हुँदैन । यो जहिले पनि सुषुप्त हुन्छ । यसमा अनुकूलता हुने बिक्तिकै सिकाइ सत्रिय हुन थाल्छ । अतः लकडाउनको समयमा बालबालिकालाई अभिभावकले विभिन्न कुरामा कुनै अभिनय वा कथा, कहानी वा प्रवचनको माध्यमबाट र स्वयं काम गरेर वा प्रदर्शनबाट पनि धेरै कुरा सिकाउन सकिन्छ । यसका लागि हामीले दैनिक कार्यतालिका बनाउन सकिन्छ । यसबमोजिम नियमितरूपमा बालबालिकालाई झर्को नलाग्ने गरी देहायका विषयमा सिकाउन तथा अभिनयको माध्यमबाट पनि प्रदर्शन गर्न र उनीहरुको मानसपटलमा छाप बसाल्न सक्छौं । यसका लागि विशेषतः प्राथमिक तह (कक्षा १–५)का बालबालिकालाई पाठ्यक्रममा अन्तरनिहित विभिन्न सिकाइ उपलब्धि हासिल हुने गरी प्रत्यक्ष वा परोक्षरूपमा उनीहरुलाई यसप्रकार सिकाउन सकिन्छ : 

१) हाम्रो वरिपरिको वातावरण र यसको संरक्षण वृक्षारोपण, रुख विरुवाको महत्वका बारेमा सिकाउन सक्छौं । जस्तैः महत्वपूर्ण र गुणकारी वृक्ष तुलसी तथा पिपलको बोटको महत्व यसको संरक्षण र यसबाट हुने फाइदाका बारेमा बताउन सकिन्छ ।

२) घर आँगन तथा करेसावारीको सरसफाइ फोहरमैलाको बिसर्जन गर्ने तरिका तथा फोहरमैलाबाट सर्नसक्ने रोग र यसबाट आउनसक्ने सम्भावित जोखिमका बारेमा प्रत्यक्ष बताउन सकिन्छ । 

३) बालबालिकालाई आफ्नो भाषा, संस्कृति, रहनसहन, भेषभुषा, मौलिक परम्परा, बानी व्यहोरा र पालन गर्नुपर्ने आचारसंहिता सिकाउन सकिन्छ । यसले गर्दा बालबालिकाले आफ्नो भाषा, संस्कृति, पहिचान सिक्नुका साथै उनीहरुमा सामाजिकीकरण हुन पनि मद्दत पुग्दछ । 

४) करेसाबारी निर्माण, तरकारी बगैँचा, कौशी खेती (छत र बरण्डामा) र यसको महत्व तथा फाइदाका बारेमा बताउन सकिन्छ । यसले गर्दा वरिपरिको वातावरण हरियाली र स्वच्छ हुनुका साथै स्वावलम्बी बन्ने र श्रमप्रति सम्मान गर्ने बानीको विकास पनि गराउन सकिन्छ । 

५) पाहुना र अतिथि सत्कार, विनयशीलता, नम्रता र आज्ञाकारिता तथा यसको महत्वका बारेमा दीक्षित गराउन सकिन्छ । अतिथि देवो भवःको मर्मबमोजिम बालबालिकामा हाम्रो अलग्गै पहिचान छ । यसको संरक्षण र सम्वर्द्धन गरिनुपर्छ भन्ने बारेमा आफू नै नमुना पात्र बनेर सिकाउन सकिन्छ । 

६) घरमा बस्दा संगीतको ज्ञान (हार्मोनियम, मादल, बाँसुरी, गिटार, झ्याली, म्युजिक बोर्ड........आदि) उनीहरुसँग आफै खेलिदिनोस् । उनीहरुले नजाने पनि बिगारे पनि ‘स्याबास् राम्रो छ, अझै राम्रो गर्नुपर्छ’ भनेर हौसला र उर्जा थपिदिनुहोस् । यसबाट उनीहरु थप उप्रेरित हुन्छन् । किनकी उत्प्रेरणा भनेको सिकाइको आधार हो ।

७) बालबालिकालाई आफ्नो काम आफै गर्नुपर्छ भन्ने सन्देश दिन र स्वावलम्बी बन्ने बानी सिकाउन कपडा धुने, आइरन गर्ने तरिका, कपडा पट्याएर राख्ने तरिका, आफ्नो सामानको हिफाजत गर्ने, पानी भर्ने, कोठा सफा गर्ने वा फोहोरमैला विसर्जन गर्ने जस्ता स्वावलम्बी बन्ने तरिका सिकाउन सकिन्छ । यसबाट बालबालिकामा आत्मनिर्भर बन्ने बानीको विकास क्रमशः हुँदै जान्छ । 

८) शौचालय प्रयोग गरिसकेपछि पानी हालेर सफा गर्नुपर्छ तथा धाराको प्रयोग गरिसकेपछि बन्द गर्नुपर्छ र शौचालय तथा धारा वरिपरि नियमितरूपमा सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन सकिन्छ । यसको लागि उनीहरुलाई नै व्यवहारिक अभ्यास गराउन सकिन्छ ।

९) हाम्रा मौलिक संस्कृतिका बारेमा (चाडबाड र परम्परा) जस्तै दसैं, तिहार, श्रीपञ्चमी, बुद्धजयन्ती जनैपूर्णिमा, इद, क्रिस्मस आदि पर्वको महत्वका बारेमा सिकाउन सकिन्छ । कतिपय हाम्रा चाडपर्व पौराणिक वा धार्मिक वा सनातन धर्मसँग जोडिएका छन् भने कतिपय हाम्रा पर्वमा वैज्ञानिक कारण पनि जोडिएको छ । जस्तै छठ पर्व । यसमा सूर्यको आराधना गरिन्छ किनकी सूर्यलाई हामी भगवानको रूपमा मान्छौं किनभने सूर्यको अभावमा सारा सृष्टि रहदैन । सबैलाई बचाउने र संरक्षण गर्ने भएर सूर्यलाई भगवान भनिएको हो । सूर्य शक्ति र उर्जाको स्रोत पनि हो । यसरी यसमा भएको वैज्ञानिक कारण बताइदिएर बालबालिकाको खुल्दुली मेटाउन सकिन्छ ।

१०) कतिपय घटनामा भौगर्भिक वा प्राकृतिक एवं वैज्ञानिक कारण जोडिएका हुन्छन् जस्तैः पानी पर्ने, बादल लाग्ने, असिना पर्ने, भूकम्प जाने कारण र यसबाट बच्ने उपाय, दिन रात कसरी हुन्छ ? जस्ता प्रश्नहरुलाई तार्किक र वैज्ञानिक कारणका माध्यमबाट बालबालिकाको जिज्ञासा शान्त पार्न सकिन्छ । यस्ता सामान्य कुराहरुका लागि कुनै थप विषयगत ज्ञान चाहिँदैन । यसका लागि अभिभावकहरुले माध्यमिक तहमा अध्ययन गरेको र बुझेको ज्ञान नै पर्याप्त हुन्छ । 

११) शरीर स्वस्थ राख्ने विभिन्न उपायमध्ये योग र शारीरिक व्यायाम पनि महत्वपूर्ण छ । यसका बारेमा बालबालिकामा प्रत्यक्ष अभ्यासबाट सिकाउन सकिन्छ । यो प्रक्रियाले सबैलाई फाइदा पुर्‍याउँछ । योगले मानसिक तनाव व्यवस्थापन गर्नुका साथै शारीरिक र संवेगात्मक तनावको समाधान पनि गर्दछ । यो बालबालिकाको लागि अत्यन्त महत्वपूर्ण छ । 

१२) घरमा रहँदा अभिभावले खेलकुद क्रियाकलापमा सहभागी बन्न सकिन्छ । यसका लागि इन्डोर वा आउटडोर खेल ब्याडमिन्टन, चेस, लुडो, क्यारमबोर्ड, फुटवल, भलिबल, टेबल टेनिस आदि खेलकुद सिकाउन र अभ्यास गराउन सकिन्छ । खेलकुद र सङ्गीत भनेपछि बालबालिका हुरुक्कै हुन्छन् ।

१३) कहिलेकाहीँ शब्दार्थ सिकाइ अन्ताक्षरी वा वर्ड मिनिङ् खेलेर बालबालिकाको शब्द भण्डार बढाउन सकिन्छ । यसमा सानो सानो पुरस्कारको घोषणा गरिदिनुहोस् र बालबालिकासँग पनि आफै खेल्नुहोस् । जस्तै : World - Door - River - rose - elephant - tomato - orange - engine - ecosystem- mango आदि । यसबाट बालबालिकामा लेखन र बाचन कलामा निखार ल्याउन मदत गर्दछ । 

१४) बालबालिकालाई घरमा गीत सङ्गीत सिकाउनुहोस् । मनोरञ्जनात्मक र सन्देशमूलक गीत सिकाउनुहोस् । यसका लागि अन्ताक्षरी गीत गाउन सकिन्छ । यसले बालबालिकाको मन मष्तिस्कलाई ताजा बनाउँछ, तनाव व्यवस्थापन गर्छ र काम गर्ने स्फूर्ति बढाउँछ । आफूले गाउन वा नाच्न सुरु गर्नोस् र बालबालिकालाई सँगै गाउन र नाच्न लगाउनुहोस् । यसबाट वातावरण थप रमणीय बन्न जान्छ । बालबालिकाले गाउँदा वा नाच्दा नजाने पनि वा बिग्रिए पनि नकारात्मक टिप्पणी नगर्नोस् । सधैं सकारात्मक उर्जा थप्ने काम गर्नोस् । राम्रो छ, अति उत्कृट आदि भनेर उनीहरुलाई थप प्रोत्साहित गरी थप काम गर्नेतर्फ उत्प्रेरित गर्नोस् ।

१५) लकडाउनको समयमा बालबालिकासँग सँगै बसेर ज्ञानवर्द्धक र सन्देशमूलक चलचित्र पनि हेर्न सकिन्छ । यसबाट नयाँ नयाँ सूचना र सोच लिन तथा सिक्न पनि सकिन्छ ।

१६) त्यसैगरी स्वास्थ्य सचेतनाअन्तर्गत बालबालिकालाई हात धुने तरिकाका बारेमा व्यवहारिक अभ्यास गराउनुहोस् । यो कोभिड–१९ का लागि मात्र हैन अरु समयका लागि पनि काम लाग्छ । त्यसैगरी सेनिटाइजर प्रयोग गर्ने तरिका, मास्क लगाउने र सफा गर्ने तरिका सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्डका बारेमा जानकारी गराउन सकिन्छ ।

१७) घरमै बसेर आधुनिक कम्प्युटर वा अन्य सूचना प्रविधि सिकाउन वा सिक्न सकिन्छ । यसमा विभिन्न ग्राफिक डिजाइन गर्ने, सामाजिक सञ्जाल गुगल, युट्युब वा अन्य ज्ञानका भण्डार वा सामग्री डाउनलोड गरेर पढ्न सकिन्छ । फोटोसपमा गएर विभिन्न चित्र वा ग्राफिक डिजाइनहरू बनाउन सकिन्छ । वास्तवमा आधुनिक प्रविधिको प्रयोगबाट बालबालिका धेरै सुचनामूलक र नयाँ नयाँ प्रविधिमा धेरै फरवार्ड भैसकेका छन् । 

अन्तमा, बालबालिकाप्रति अभिभावकको दायित्व अरु बेलाभन्दा यस लकडाउनको समयमा बढी हुने भएकोले यसलाई सहज, रमणीय, तनावमुक्त र उपलब्धिमूलक बनाउन सकियो भने यो सबैका लागि सुखद विषय पनि हो । भनिन्छ, बालबालिका तथा युवा भविष्यका कर्णधार मात्र हैनन् वर्तमानका साझेदार पनि हुन् । उनीहरुको यस उर्वर र सिकाइको मूल जग बसाल्ने समयको सही सदुपयोग हुन सकेन भने यसले सुदूर भविष्यसम्म पनि नकारात्मक प्रभाव पर्दछ । अतः हामी सबैले यो सम्वेदनशील समयको महत्वबोध गरी बालबालिकाको समय व्यवस्थापन र सिकाइका लागि थप सजग र सम्वेदनशील बन्नु जरुरी छ । भविष्यमा देश हाक्ने यी सारथीको दिनचर्यालाई उपलब्धिमूलक र ज्ञानवर्द्धक बनाउन सकिएमा देशले सही गन्तव्य लिएको ठहर्छ । जय शिक्षा, जय बालबालिका । 

लेखक हाल राष्ट्रिय युवा परिषद् सानोठिमीमा उपसचिव पदमा कार्यरत छन्