चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सरकारले पुनः दरखास्त आह्वान गरेको छ । दरखास्त हालेका ६ जनाको नाम रद्ध गर्दै पुनः सार्वजनिक सूचना जारी गरेको हो । 

गत ४ चैत्रमा बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार सिफारिस समितिमा लोक सेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ । उक्त समितिमा मुख्यसचिव वा निजले तोकेको प्रधानमन्त्री कार्यालयका सचिव र चिकित्सा क्षेत्रका प्राध्यापकमध्ये सरकारले तोकेको महिला एक जना सदस्य हुने व्यवस्था छ ।

                       


समितिले दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा लिखित र मौखिक परीक्षा लिई योग्यता पुगेका आवेदकमध्येबाट उपाध्यक्ष नियुक्तिका लागि सम्भावित तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। सो मध्ये सरकारले एक जनालाई उपाध्यक्ष नियुक्ति गर्ने छ । 

उपाध्यक्ष हुन मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा बीस वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ ।

आयोगको अध्यक्ष प्रधानमन्त्री र सहअध्यक्ष स्वास्थ्य मन्त्री र शिक्षामन्त्री रहने व्यवस्था छ । यसअघि ९ असारमा पहिलो पटक आह्वान गरिएको सूचना अनुसार ६ जनाले दरखास्त हालेका थिए । आवेदन दिनेमा गौरिबहादुर कार्की, डा. निलमणि उपाध्याय, डा श्रीकृष्ण गिरी, डा. प्रमोद शर्मा, डा. पारस पोखरेल, डा रमेश सिंह र डा निलाम्बर झा रहेका थिए ।

 उनीहरुले हालेको दरखास्तमा पर्याप्त पुष्टि हुने प्रमाण नपुगको भन्दै समितिले नयाँ दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।