CMAT

एसईई परीक्षार्थीलाई विज्ञान शिक्षकको सुझाव

Bachelors Portal

विश्वव्यापी महामारीको त्रास फैलिरहेको छ । यस्तो त्रासपूर्ण वातावरणमा थप सङ्क्रमण बढ्न नदिन नेपाल सरकारले लकडाउन गरिरहेको छ जसका कारण चैत्र ६ गतेबाट सुरू हुने भनिएको प्रवेशिका (एसईई) परीक्षासमेत अनिश्चितकालका लागि स्थगित हुन पुगेको छ । एसईई परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुले यस महामारीको कारण सिर्जित आपतकालीन परिस्थितिसँग कति पनि विचलित नभई यस समयलाई पठनपाठनमा आफूलाई व्यस्त राख्ने र परीक्षामा राम्रो उपलब्धि हासिल गर्ने अवसरको रूपमा लिन सक्नुपर्छ । 

कोरोना महामारीको बारेमा खास जानकारी तथा औषधी पत्ता नलागेको सन्दर्भमा वैज्ञानिकहरुका लागि यो एउटा चुनौती तथा अध्ययन अनुसन्धानको विषय बन्न पुगेको छ । उक्त विषयले प्रत्यक्षरूपमा विज्ञानसँग नै सरोकार राख्ने भएकोले विद्यार्थीहरूले पनि यस बारेमा चासो राखी बढीभन्दा बढी जानकारी लिनुपर्छ ताकी उक्त सिकाइ आफूलाई सुरक्षित राख्दै आफ्नो घर, समाजमा जनचेतना फैलाइ महामारी नियन्त्रण तथा रोकथाम गर्ने कार्यमा प्रयोग हुन सकोस् ‌। विशेषगरी विद्यार्थी भाइ बहिनीहरुले तल्लो कक्षादेखि नै विज्ञान र गणितलाई असजिलो विषयको रूपमा लिने गरिएको पाइन्छ । देशको शैक्षिक उपलब्धिलाई हेर्ने हो भने पनि सबभन्दा कम उपलब्धि विज्ञान र गणितमा नै देखिएको हुन्छ । राज्यको शैक्षिक उद्देश्य प्राप्तिमा समेत विज्ञान र गणित नै प्रमुख वाधक तत्वको रूपमा रहेका देखिन्छ । यसै समस्यालाई मध्यनजर गर्दै विज्ञान र गणित शिक्षकको नाताले एसईई परीक्षार्थीलाई लक्ष्यित गर्दै केही उपयोगी जानकारीहरू पस्कने जमर्को गरेको छु । 

सर्वप्रथम विज्ञान र गणित विषयप्रति आत्मविश्वास जगाउने तथा यो समयमा अभ्यास गर्ने प्रशस्त समय भएकोले पर्याप्त अभ्यास गर्ने (गणित र विज्ञान आफैमा पर्याप्त अभ्यास आवश्यक पर्ने विषय हो, अभ्यासविना दखल हासिल हुन सक्दैन), समय तालिका बनाएर स्वअध्ययन गर्ने, पाठ्यपुस्तक, नोट, अभ्यास पुस्तक विशिष्टीकरण तालिकाको अध्ययन गर्ने, खोज गर्ने बानीको विकास गर्ने, विषयवस्तुसँग सम्बन्धित शिक्षकसँग सामाजिक सन्जालमार्फत वा फोनमार्फत प्रत्यक्ष सम्पर्कमा रही नजानेका कुरा सिक्न सकिन्छ । त्यस्तै एसईई मोडल प्रश्नपत्र तथा पुराना प्रश्नहरूको समाधान गरी आफूलाई अद्यावधिक बनाउन सकिन्छ । यसका साथै लकडाउनको समयमा शिक्षकसँग प्रत्यक्ष भेटघाट नहुने, अन्तरक्रिया गर्न नसकिने तथा आजको युग विज्ञान तथा प्रविधिको युग भएकोले प्रविधि तथा टेलिभिजनको पहुँचमा भएका भाई बहिनीहरूको लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमीद्वारा निर्मित एनसिइडी भर्चुअल कक्षाअन्तर्गत अनिवार्य विषयका एसईई तयारी सामग्रीहरू प्रत्येक दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म एनटीभी प्लसबाट प्रसारण हुने हुँदा परीक्षार्थीहरुले सो कक्षाबाट बढीभन्दा बढी लाभ लिन सक्नुहुने छ ।

त्यस्ता कक्षाहरू युट्युबमा ‘एनसिइडी भर्चुअल क्लास’ सर्च गर्दा गणित र विज्ञानका विषयगत सम्पूर्ण पाठहरु तथा सन्दर्भ सामग्री उपलब्ध हुने हुँदा जुनसुकै समयमा जुन ठाउँमा रहेर पनि सिकाइ गर्न सकिन्छ । त्यस्तै अनलाइन सिकाइको लागि निःशुल्क र खुला डिजिटल पुस्तकालय (ईपुस्तकालय), ईपाठ, चिल्ड्रेन्स बुक्स जस्ता सिकाइ सामग्रीको विकास गरिएको छ जसमा गणित र विज्ञानका एकाइअनुसारका सिकाइ सामग्री (प्रश्न र उत्तरकुन्जिका समेत) राखिएका छन् । यस्ता सामग्रीका साथसाथै विषयवस्तुसँग सम्बन्धित दस्तावेज, पत्रपत्रिका, अडियो, भिडियो राखिएका छन् । उक्त सामग्रीको स्वअध्ययन, अवलोकन र अभ्यास गर्न सकिन्छ । मिदास ईक्लास लर्निङ एप्समा राखिएका सम्बन्धित विषयवस्तुको अध्ययन गर्न सकिन्छ । त्यस्तै युट्युब भिडियो अवलोकन गरेर विज्ञानका विभिन्न सामग्री निर्माण गर्न सकिन्छ जसले विषयगत ज्ञानलाई फराकिलो पार्दछ । 

गणित विषयको लागि गणितका आधारभूत ज्ञान तथा सीपसमेत समावेश हुने गरी सुरक्षित, विना शुल्क, जुनसुकै ठाउँबाट नियमित सेसनमा उपस्थित भएर अध्ययन गर्न सकिने गरी लर्निङ् सेन्टरले mathnasium@home मार्फत अनलाइन शैक्षिक सामग्रीहरुको निर्माण गरेको छ । ती सामग्रीको अध्ययनबाट पनि निकै नै लाभ पुग्ने देखिन्छ । यसका साथै आफ्ना शिक्षकहरुसँग भर्चुअल सिकाइ (दोहोरो अन्तरक्रिया)को माध्यमबाट छलफल गर्न सकिन्छ । आफ्ना शिक्षकहरूले तयार गर्नुभएका अनलाइन क्वीज, ईजी कक्षा, गुगल कक्षा (लर्निङ म्यानेजमेन्ट सिस्टममा भाग लिई विज्ञान तथा गणितका विषयगत सामग्रीहरूको ज्ञान लिने र तयारी गर्ने जसले गर्दा मनोरञ्जनात्मक वातावरणमा सिकाइ गर्न सकिन्छ । लकडाउनलाई समस्याको रूपमा नभई अवसरको रूपमा लिन सकिन्छ ।

लेखक सरस्वती माध्यमिक विद्यालय धनगढीका विज्ञान तथा गणित विषयका शिक्षक हुन् ।

Thuprai - Books and E-books
I Tech store