After SEE Portal

चन्द्रशमशेरलाई जुम्रा पठाइयो

Bridge Course

कुरो १९७० ताकाको हो । वीपी कोइरालाका पिता कृष्णप्रसाद कोइराला व्यापारको सिलसिलामा तत्कालीन सप्तरीको चन्द्रगञ्ज (माडर) पुगेका थिए । पछि माडर सिरहामा पर्‍यो । तिनताक सप्तरीका बडाहाकिम थिए– मणिकलाल । कृष्णप्रसादले मणिकलालसँग विद्यालय स्थापनाको प्रस्ताव राखे । मणिकलालले ‘हुन्छ’ त भने तर अनुमति पाउने कुरा त्यति सम्भव थिएन । किनकी त्यो युग भनेको चन्द्रशमशेरको थियो । केही उत्साहित बासिन्दाले जग्गासमेत निःशुल्कमा उपलब्ध गराउने बचन दिए ।  

विद्यालयको नाम पनि टुङ्गो लाग्यो– चन्द्र मणिक कृष्ण पाठशाला । विद्यालय अनुमतिका लागि मणिकलालले प्रधानमन्त्री चन्द्रशमशेरसमक्ष निवेदन पठाए । नेपाली जनता निकै गरिब भएको भन्दै तिनको दयनीय आर्थिक अवस्थाका बारेमा अवगत गराउने उद्देश्यले कृष्णप्रसादले बाकसमा पुराना लुगा राखेर श्री ३ महाराज चन्द्रशमशेरलाई ‘पार्सल’ पठाएका थिए रे । त्यो बेला त सिंहदरबारको बैठक कक्षमा चन्द्रशमशेरले मुद्दा सुन्ने गर्थे । चन्द्रशमशेर मुद्दा सुन्न व्यस्त राममणि आदी (आचार्य दीक्षित) र अष्टमान सिंहले कृष्णप्रसादद्वारा पठाइएको पार्सल खोल्दा पुराना लुगाका साथमा जुम्रा पनि सल्बलाइरहेका देखे रे । चन्द्रशमशेरले भन्सारका ठेकेदारले बहुमूल्य सामग्री पठाएका होलान् भन्ने ठानी खुशी भएका थिए तर बाकस खोल्दा फाटेको चोलो र भादगाउँले टोपी देखेपछि उनको रिसको सीमा नै रहेन । अपव्याख्या गरियो । उक्साइयो । चन्द्रशमशेरको छाती भतभती पोल्न थाल्यो । रुष्ट भए ।

धुर्त चन्द्रशमशेरले कृष्णप्रसादलाई त्यत्तिकै छाडनेवाला त पक्कै थिएनन् । उनले कृष्णप्रसादलाई पक्राउ गर्न फणिन्द्रनाथ शर्मा उपयुक्त हुने सूत्र पत्ता लगाए । चन्द्रशमशेरले कृष्णप्रसादलाई पक्राउ गर्न फणिन्द्रनाथलाई आर्थिक प्रलोभन दिनुका साथै कप्तानगञ्ज भन्सार अड्डाको डिठ्टामा नियुक्तिसमेत दिए । चन्द्रशमशेरको हुकुम नमान्नु उनका लागि समस्या बन्ने थियो । उनी कप्तानगञ्ज पुगे र कृष्णप्रसादलाई सम्पर्क सूत्रमार्फत सम्पर्क गरे । भारतमा गई कृष्णप्रसादलाई भेटे र आफू भन्सारमा आउनुको कारण बेलिविस्तार गरे । उनीहरुले योजना बनाए । फणिन्द्रनाथले प्रहरी तैनाथ गर्दै कृष्णप्रसाद क्वाटरभित्र प्रवेश गरेपछि आफूले इसारा गर्ने र त्यसपछिमात्र ‘पक्राउ गर्नू’ भनेर फणिन्द्रनाथले प्रहरीहरुलाई निर्देशन दिने । कृष्णप्रसाद कप्तानगन्जको भन्सारमा आई फणिन्द्रनाथको क्वाटरमा प्रवेश गरे । उनी क्वाटर पछाडि रहेको घोडा चढेर भाग्न सफल भए । प्रहरीले पक्राउ गर्न सकेन । फणिन्द्रनाथ प्रहरीले कृष्णप्रसादलाई पक्राउ गर्न नसकेको र अब पक्राउ गर्न सम्भव नभएको भन्दै काठमाडौँ फर्किएका थिए ।

त्यसै घटनाका कारण विद्यालयको नामको बीचमा प्रस्ताव गरिएको कृष्णप्रसादको नाम हटाएर चन्द्रशमशेरले विद्यालय सञ्चालनका लागि अनुमति दिए । ‘चन्द्रमणिक पाठशाला’का नामले अनुमति पायो । नामको बीचमा रहेको ‘कृष्ण’ शब्द हटाइदिए चन्द्रशमशेरले ।

सुरुमा राजगुरु हर्कराजले विद्यालयका लागि १० कट्ठा जग्गा दिए । माडरबाट सारस्वत जाने बाटोको पूर्वतर्फको सो जग्गामा विद्यालय स्थापना गरी सञ्चालन गरियो । १९७१ सालमा काँचो इँटको गारो र फुसको छाना भएको तीन कोठे भवनमा विद्यालय सञ्चालन हुन थाल्यो । विद्यालयका पहिलो शिक्षकका रुपमा सिरहा निवासी पद्मनाथ उपाध्यायलाई नियुक्ति गरियो । पछि जुद्धशमशेरको शासनकालमा विद्यालयको नामबाट ‘मणिक’ शब्द हटाइयो ।

चन्द्र मिडिल पाठशालाका नामले परिचित भयो सो विद्यालय । चन्द्र मिडिल पाठशाला खुल्नु अघि उपत्यका बाहिर संस्कृत पाठशाला त थिए, तर आधुनिक शिक्षा दिने पाठशाला थिएन । त्यसैले उपत्यका बाहिर खुलेको पहिलो आधुनिक विद्यालय हो यो । गोकुलप्रसाद शर्मा पनि यही विद्यालयका विद्यार्थी थिए । 

प्रख्यात चिकित्सक अन्जनीकुमार शर्मा स्कुलभन्दा डेढ कोष टाढा बस्थे । अन्जनी र उनका दाजु पर्ने कक्षा ४ का विद्यार्थी थिए । गोकुलप्रसाद कक्षा ६ का विद्यार्थी । हेडमास्टर थिए शोभाकान्त चौधरी । अन्जनी र उनका दाइ हात्तीमा सवार भएर स्कुल आइपुग्थे । ती दिनलाई ८८ वर्षीय गोकुलप्रसाद यसरी स्मरण गर्छन्, “स्कुलमा अन्जनीहरुलाई ल्याइसकेपछि हात्ती चर्न जान्थ्यो । स्कुल साढे ४ बजे छुट्टी हुन्थ्यो । माहुतेले हात्तीलाई फेरी स्कुलमा ल्याउँथे र उनीहरुलाई लिएर घर फर्किन्थ्यो ।”

त्यो स्कुलमा कक्षा ९ सम्ममात्र पठनपाठन हुन्थ्यो । त्योभन्दा माथि पढ्नु परेमा कि काठमाडौँ उपत्यका जानुपर्थ्यो कि भारत । गोकुलप्रसादले कक्षा ९ पूरा गरेपछि कक्षा १० पढ्न भारत जान चाहे । अभिभावकले अनुमति दिएनन् । त्यो बेला कक्षा ९ सम्मको शिक्षा लिए जति पनि पुग्छ भन्ने सोच अभिभावकको थियो । उनका पिताको निधन भयो । भारत जाने सपना अगाडि बढाउन सकेनन् र सिरहामै लेखन्दासको जागिरे थाले ।

गोकुलप्रसादका अक्षर निकै राम्रा । अहिले पनि निकै राम्रो अक्षर लेख्छन् । छापाको जस्तो अक्षर । “अक्षरका कारण झगडियाहरु मसँग नै लेखाउँथे” उनले भने । 

पछि उनी बनारस पुगे । इलाहाबाद गए । स्नातकोत्तर पूरा गरे । थुप्रै पुस्तक लेखिसकेका छन् । कति त पाण्डुलिपि थन्क्याएका छन् । यो उमेरमा अझै उनको लेखाइको जोश जीवित छ । नेपाल राष्ट्र बैँकको जागिर पनि खाए ।

उनी एउटा मुख्य घटना देखेका जीवित मध्येका व्यक्ति पनि हुन् । नेपालमा भएको पहिलो विमान दुर्घटनालाई देख्ने उनी बाहेक सम्भवतः अरु जीवित नहोलान् । घटना २००१ साल पुस २ गतेको हो । विमान दुर्घटना भयो भनेर सिरहामा हल्ला चल्यो । त्यो बेलासम्म नेपाली आकाशमा यदाकदा उडेको विमान देखिन्थे तर नेपाली भूमिमा अवतरण गरेको थिएन । विमान कस्तो हुन्छ भन्ने जिज्ञाशा गोकुलप्रसादलाई पनि भयो । नजिकबाट हेर्न उनले पनि चाहे । त्यो बखत उनी १० वर्षका थिए ।

उनी भन्छन्, “त्यो बेला आजको जस्तो सञ्चार माध्यम थिएन । विमान खसेको खबर सिरहा बजारसम्म पुग्न दुई दिन लाग्यो । २००१ साल पुस ८ गतेको गोरखापत्रमा समाचार छापिएको थियो, “सिरहाबाट करिव चार कोस परतिर पौष २ गते राती अमेरिकन चिनु भएको एउटा हवाइजहाज सय डेढ सय गिद्ध बसिरहेको रुखमा बज्रेर नगिचैको पानीमा गाडिई चूर भएछ । पाइलटको पत्तो छैन । विशेष खबर पछि ।”

उनी एक्लै विमान हेर्न भनी हिँडे । विमानका अस्तिपञ्जर छरिएका थिए । थुप्रै मरेका गिद्ध थिए । गिद्ध बस्ने रुखमा विमान ठोक्किन पुगेको थियो । विमान चालकको अत्तोपत्तो भएन । विमान भेडिया भन्ने ठाँउमा खसेको थियो । त्यो ठाँउ सिरहा बजारबाट दुई घण्टामा पुग्न सकिन्थ्यो । अमिनीका लेफ्टिनेन्ट रुद्रपाणि गौतम र मुन्सी जगदीशनारायण लाल घटनास्थल जाने भए । गोकुलप्रसाद पनि उनैका साथ लागेर घटनास्थल पुगेका थिए ।

“म केटाकेटी भएकाले विमान के कारणले खस्यो, चालकको अवस्था के भयो, किन त्यहाँ विमान ठोक्किन आइपुग्यो, कहाँबाट त्यो आयो आदि कुरा सोधीखोजी नै गरिन” उनले भने । पछि दुई वटा जिपमा विदेशी पनि आइपुगे । जगदीशनारायणले उनीहरुसँग अङ्ग्रेजीमै कुराकानी गरे । स्थानीयको सहायतामा विमानका अवशेषलाई सङ्कलन गरियो । आगो लगाइयो । गोकुलप्रसाद पनि घरतर्फ फिरे । फागुन ११ गतेको गोरखापत्रमा ‘अघि खसेको हवाइजहाजको अन्तेष्टी’ शीर्षकमा समाचार छापियो, “यही मेडियाले पहिले खसेको हवाइजहाज लिन भनी सालमेन पार्टीबाट १२ गतेका दिन सिरहामा आएर हवाइजहाजको जाँच गरी काम नलाग्ने ठहर्‍याइ जम्मै पाट र टोटामा प्याट्रोल खनाइ आगो लगाइ जलाए, भोलिपल्ट आफ्ना मुलुकतिर गए ।”

 

A Levels MA
Thuprai - Books and E-books