Thuprai - Books and E-books
Scholarship edusanjal

चन्द्रशमशेरको ‘जुका नीति’

Admission edusanjal
Schools edusanjal

१९९६ वैशाख २ गतेको गोरखापत्रमा ‘श्री ३ जुद्ध स्कुल खुल्यो’ शीर्षकमा एउटा समाचार छापियो, “विराटनगरमा ९२ सालदेखि एउटा फुसको घरमा ‘आदर्श विद्यालय’ स्थापना भै चन्दाबाट लड्काहरुलाई पढाइने भएको थियो । त्यस विद्यालयमा पढेर धेरै विद्यार्थी पारङ्गत पनि भए । यो बेहोरा श्री ३ महाराजमा जाहेर हुँदा मौसुफबाट सो ‘फुसको घरको ठाँउमा पक्की स्कुल बनाइदी मास्टर खर्च समेत दिनू’ भन्ने हुकुम बक्सेकोले अस्ति चैत २६ गते श्री ३ महाराजको जन्मोत्सवको दिन सो स्कुल तैयार भइ उद्घाटित भयो । स्कुलको नाम ‘श्री ३ जुद्ध हाइस्कुल’ भन्ने रह्यो । त्यस दिन सो स्कुलमा रंगीचंगी झण्डाहरु उडाइ लड्का लड्कीहरुको नाचगान भयो । पण्डित कृष्णप्रसाद कोइरालाले रिपोट पढेपछि आखिरमा बडाहाकिम साहेबबाट श्री ३ प्रभुको जय ध्वनीको साथ एउटा लेक्चर बक्सी स्कुल खोली बक्स्यो । त्यसपछि गरिव गुरुवा, हाकिम, कारिन्दा, साहु महाजनहरुलाई भोज बक्स्यो ।”

कुनै बखतका नेपाली राजनीतिका चर्चित व्यक्तित्व विश्वबन्धु थापा विराटनगरको त्यो स्कुल खुल्दा त्यहीका विद्यार्थी थिए । गोर्खाका बासिन्दा भए पनि कोइराला परिवारसँग निकट भएकाले बसाइ सरेर त्यहाँ पुगेका थिए थापा परिवार । क्रान्तिको आगो कहिले बल्थ्यो, कहिले मधुरो हुन्थ्यो । कृष्णप्रसाद कोइरालाले माफी पाएपछि विराटनगर पुगेर आदर्श विद्यालय स्थापना गरेका थिए । त्यसअघि त्यो स्कुल भारतको टेढीदीपनगरमा थियो । भूमिगतकालमा रहेका बखत स्कुल खोलेका उनले माफी पाएपछि त्यसलाई गृहनगर विराटनगर लिएर गए । 

त्यो बखतको घटनालाई पञ्चायतकालको सुरुका शिक्षामन्त्री बनेका विश्वबन्धु थापाले यसरी स्मरण गर्छन्, “जुद्धशमशेर श्री ३ महाराज भएका बेला विन्ती गरेका रहेछन् कृष्णप्रसादले । त्यसैले जुद्धको सवारी त्यहाँ भयो । त्यो बेला हामी छ कक्षामा पढ्थ्यौँ । जुद्धशमशेरको सवारी भएपछि लाइन लगाएर जयजयकार गराइयो । त्यसवापत मिठाइ खान दिए र राम्रो स्कुल पनि बनाउनू भनेर पैसा पनि दिए । राम्रो काम गर्यौ तिमीहरुले भने । झुप्रोमा थियौ अब पक्की घर पाउने भयौ भनेर नयाँ भवन बनाउन लगाए । जुद्ध हाइस्कुल भनेर नाम राखियो । हामीहरुले हड्ताल गर्यौँ । स्कुलको नाम आदर्श नै हुनुपर्दछ भनेर हड्ताल गरेका थियौँ । कमिटी बस्यो । अन्तिममा श्री जुद्ध आदर्श विद्यालय राख्ने निधो भयो । कति हड्ताल गर्नु भनेर हामीले मान्यौँ ।” 

चन्द्रशमशेरको ‘जुका नीति’ थियो । त्यो चर्चित नीति । आफूले रगत नचुस्ने, जुकालाई रगत चुस्न लगाउने खालेको नीति । प्रष्ट भन्नुपर्दा भैंसीको रगत खानु परेमा भैंसीमा जुका लगाइदिने र त्यसले रगत तान्थ्यो । मोटाउँथ्यो । खस्थ्यो । अनि जुकाको रगतलाई तारेर खान्थे रे । ‘मैले भैंसीको रगत निकालेर पाप गरेको होइन, जुकाले रगत निकालेको’ भन्ने तर्क गरिन्थ्यो रे । त्यसैलाई ‘जुका नीति’ भनिन्थ्यो उबेला । चन्द्रशमशेर पनि ठिक ‘जुका नीती’का पालक । आर्थिक सम्पन्न भएका वा हुनेखानेका छोराहरुलाई जागिर दिने र एउटा बात लगाइदिएर सर्वस्वसहित देश निकाला गरिदिन्थे । यसरी धेरै नेपालीहरु भागेर भारत पस्नुप¥यो । कोइराला परिवार पनि त्यसैगरी भाग्नु परेको थियो । थापा परिवार पनि भाग्नु परेको थियो ।कोइराला र थापा परिवार भातरको टेढीमा भेटिएका थिए । कोशी नदीको छेउको त्यो स्थान । बाढीले केही हुन दिँदैन थियो । जेनतेन जीविकोपार्जन गर्नुपथ्र्याे । त्यहाँ कृष्णप्रसादले खोलेको आदर्श स्कुलका विद्यार्थी थिए विश्वबन्धु थापा ।

चन्द्रशमशेरको मृत्युपछि भीमशमशेर सत्तामा आए । बीपी कोइरालाका ठूला बुबा अर्थात् कृष्णप्रसादका दाइ सरदार थिए । कृष्णप्रसादलाई बिन्ती गरेर माफी दिलाइदिन्छु आइज भनेर भाइलाइ बोलाए । कृष्णप्रसाद र विश्वबन्धुका पिता दुवै काठमाडौँ आइपुगे । भीमशमशेरको दरबारमा भएको त्यो घटनाका बारेमा विश्वबन्धु भन्छन्, “भीमशमशेरले कृष्णप्रसाद पिताजीलाई ‘कहाँ बस्छस् ?’ भने । पिताजीले विराटनगर बस्छु भने । पहिले विराटनगरमा अड्डाखाना थिएनन्, रङ्गेलीमा थियो । विराटनगर किन जान्छस् भनी सोध्दा ‘मेरा दाइ छन्, त्यही जग्गाजमिन हेरेर बस्छु’ भनेपछि उनलाई माफी दिइयो । मेरो बुबाको पालो आयो । हामी गोर्खाका । फेटा लगाउने चलन । कृष्णप्रसाद च्यातिएका लुगा लगाएर गएका थिए । मेरा पिता थापा काजी । राम्रै लुगा लगाएर गएका थिए । मेरा बाले दुःख पाएभन्दा ‘ल यसको अनुहार हेर, रातोपिरो छ, दुःख पायो पो भन्छ, ल यसलाई २० वर्ष थुन्दिनू’ भनिदिए । ठाडै २० वर्षका लागि थुनिदियो ।”

केन्द्रीय जेलमा राखे । त्यसबीचमा भीमशमशेरको मृत्यु भयो । जुद्धशमशेर श्री ३ भए । विश्वबन्धुका भानिज दाइ सरदार थिए । उनले फेरी बिन्दी गरिदिए । उनले ‘मेरा मामालाई यस्तो अन्याय पर्यो सरकार’ भने । त्यस्तै मुद्दामा ‘कोइरालाले माफी पाए मेरा मामाले २० वर्ष जेल पर्नुपर्यो’ भने । जुद्धशमशेरले ‘म पनि त्यही थिए, राजाले भनेपछि मैले बोल्नु भएन, तेरो मामालाई अन्याय भएको हो, छोडिदे भन्’ भनेर आदेश दिएपछि कैदमुक्त भए ।

कक्षा १० सम्मको पढाइ पूरा गरेकाहरुका चार विकल्प हुन्थे– पढाइ विर्सजन गर्ने, एसएलसी परीक्षा दिन काठमाडौँ जाने, वीरगन्ज जाने वा भारत जाने । तिनताक विराटनगरमा दुई खाले विद्यार्थी हुन्थे । एक खाले त्यही जन्मिएर हुर्किएका र अर्का खाले जागिरदारका छोराछोरी । जागिरदारहरु काठमाडौँबाट पनि गएका हुन्थे । उनीहरुका छोराछोरीहरु कतिपय काठमाडौँ आउँथे कति त वीरगन्ज गएर एसएलसी परीक्षामा सम्मिलित हुन्थे । वीरगन्जमा जुद्ध हाइ इङ्लिस स्कुलमा परीक्षा केन्द्र हुन्थ्यो । स्कुलले सेन्टअप परीक्षा लिन्थ्यो र त्यही प्रमाणपत्रका आधारमा एसएलसी वा मेट्रिक दिन पाउने व्यवस्था थियो ।

बनारसको बनारस हिन्दू विश्वविद्यालयले मेट्रिक परीक्षा पनि सञ्चालन गथ्र्याे । नेपालबाट गएकाहरुले त्यहाँ प्राइभेट परीक्षार्थीका रुपमा मेट्रिक दिन पाउँथे । नेपालबाट परीक्षा हुनु पाँच, छ महिनाअघि त्यहाँ विद्यार्थी पुग्थे । आफ्नै खर्चमा जानुपथ्र्याे ।

एउटा विषय नेपाली दिन पाइन्थ्यो । “नेपालको इतिहास, भूगोलको किताब नै थिएन । पढाइ सबै हिन्दीमा हुन्थ्यो” उनले भने । उनका बखत आठ जना परीक्षा दिन गएकोमा सात जना उत्तीर्ण भए । विश्वबन्धु तेस्रा श्रेणीमा उत्तीर्ण भए । उनी २००१ सालका मेट्रिक उत्तीर्ण हुन् । उनको नाम त्यो बेला गोरखापत्रले पनि छापेको थियो ।

भारतको बनारसमा रहेका बखत नेपाल विद्यार्थी सङ्घ स्थापना गरिएको थियो र अध्यक्ष कृष्णप्रसाद भट्टराई बनेका थिए भने महासचिवमा विश्वबन्धु थिए । वीपी कोइरालाका प्रियपात्र उनी पछि पञ्चायतमा प्रवेश गरे । राष्ट्रिय पञ्चायतको अध्यक्ष जस्तो उच्च पदमा पनि आसिन भए । “हिन्दी माध्यममा पढाइन्थ्यो । म शिक्षामन्त्री भएपछि नेपाली माध्यममा गर्नुपर्दछ भनेर निर्णय गरेको थिए । नेपाली भाषामा पठनपाठन अनिवार्य गर्ने नियम पञ्चायतले ल्याएको हो । राष्ट्रियताको जग बसेको पञ्चायतमै हो ।” उनले थपे, “त्यो बेला नुन तेल किन्न त भारतीय मुद्रा चाहिन्थ्यो । त्यसलाई पनि हामीहरुले हटाउन लगाएका हौँ ।”