सिरहा धनगढीमाई शत्प्रतिशत विधार्थी भर्ना नगरपालिका घोषणा

लहान, २३ भदौ ९रासस० ः सिरहा धनगढीमाई नगरपालिकालाई शत्प्रतिशत विद्यार्थी भर्ना नगरपालिका घोषणा गरिएको छ । 

नगरपालिकाभरिमा विद्यालय उमेर समूहका कुनै विद्यार्थी विद्यालयबाहिर नरहेको भन्दै ३९ औँ शिक्षा दिवस तथा ५२ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसर आज यहाँ आयोजित कार्यक्रममा धनगढीमाई नगरपालिकालाई शत्प्रतिशत विद्यार्थी भर्ना नगरपालिका घोषणा गरिएको हो । 

सो अवसरमा धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले नगरपालिकाले अब सीपसहितको शिक्षा प्रारम्भ गरिने बताउनुभयो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले शिक्षा रोजगार सिर्जना गर्ने मात्र नभई संस्कार र व्यवहारसमेत परिवर्तन गर्नुपर्ने भएकाले यो दिवस मनाइएको बताउनुभयो । 

नगरपालिकाभित्र ३३ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये २७ आधारभूत र ६ वटा माध्यमिक विद्यालय छन् । 

कुल विद्यार्थी सङ्ख्या आठ हजार ८३६ विद्यार्थी रहेको धनगढीमाई नगरपालिकामा विशेष भर्ना अभियानको क्रममा एक हजार ७८ विद्यार्थी भर्ना भएका थिए । त्यस क्रममा नगरपालिकाको पहलमा वडाध्यक्षको संयोजकत्वमा टोलटोलबाट विद्यालयबाहिर रहेका विद्यार्थीलाई विद्यालयमा भर्ना गराएका थिए । 

सोही अवसरमा नगरपालिकाले वक्तृत्वकला प्रतियोगितासमेत सञ्चालन गरेको थियो । निजी र सामुदायिक गरी नौ विद्यालय भाग लिएको उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमश ः अभिनाष महतो, सरिताकुमारी सिंह र कञ्चनकुमारी महतो भएको थियो । उनीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।