काठमाडौँ, १३ वैशाख (रासस) : नेपाल प्रहरीले शिक्षा क्षेत्रमा हुन सक्ने अभद्र व्यवहार तथा हिंसाका घटना रोक्न विशेष अभियान थालेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आजदेखि काठमाडौँबाट उक्त अभियान थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सबाट राष्ट्रव्यापी अभियान शुभारम्भ गर्नुभयो ।
सुरक्षित वातावरणमा मात्र बालबालिकाको शैक्षिक विकास सम्भव रहेकाले बालबालिकाको सिकाइ प्रभावकारी बनाइ स्वच्छ समाज निर्माणका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै पर्चा पम्प्लेट वितरण गर्ने, प्रहरीको उपस्थितिमा विद्यार्थीलाई सुरक्षा सम्बन्धीका विभिन्न क्रियाकलापमा सहभागी गराउने, छात्रा लक्षित हिंसा तथा साइबर अपराधका बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समुदाय प्रहरी साझेदारीको अवधारणा र विकासको औचित्यबारे प्रष्ट पार्र्दैै उहाँले बढ्दै गइरहेको सामाजिक विचलन, विकृति र विसङ्गति सुरक्षा व्यवस्थापनको चुनौतीका रुपमा देखा परेको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले प्रहरी विद्यालय सम्पर्क कार्यक्रमलाई सघनरुपमा कार्यान्वयन गर्ने समुदायको सहयोगको आवश्यकता रहेको बताउनुभयो । किष्ट कलेजका प्रिन्सिपल डम्मरसिंह ऐरले प्रहरीले सञ्चालन गर्न लागेको अभियानमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।