पाठ्यपुस्तकका लागि कागज खरिद गर्न टेन्डर आह्वान

जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तक छाप्न कागज खरिद प्रक्रिया अगाडि बढाएको छ ।

केन्द्रले आज तीन हजार मेट्रिकटन कागज खरिदका लागि टेन्डर आह्वान गरेको छ । 

विगतमा साउन, भदौमा मात्र कागज खरिद प्रक्रिया अगाडि बढाइन्थ्यो भने छपाइ कार्य मङ्सिरपछिमात्र हुन्थ्यो । यसले गर्दा समयमा पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न हुन सक्दैन थियो र पाठ्यपुस्तकको हाहाकार भइरहन्थ्यो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले कागज खरिदका लागि टेन्डर आह्वान गरिएको जानकारी दिए ।

उनले आगामी २०८१ सालको शैक्षिक सत्रका लागि जेठ महिनाबाटै पाठ्यपुस्तक छपाइ कार्य थालिने जानकारी दिए । उनले सरकारले निर्णय गरेमा आफूहरुले कक्षा १–१२ कै पाठ्यपुस्तक छाप्न तयार रहेको बताउँदै भने, “आगामी वर्ष वैशाख १ गते सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध गराउनेछौँ ।”

जनक शिक्षाले गत वर्ष तीन वटा मेसिन थपेको थियो । अहिले पनि २४ घण्टासम्म प्रेस सञ्चालन हुँदै आएको छ । प्रतिदिन दुई लाख ४० हजार थान पाठ्यपुस्तक छापिदै आएको छ । अङ्ग्रेजी माध्यमका कक्षा १–१० का पाठ्यपुस्तक आगामी दुई हप्ताभित्र छपाइ गरिसक्ने जनाइएको छ । कक्षा १–५ मा २० हजार सेट र कक्षा ४–१० मा २५ हजार सेट अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक छपाइ हुनेछ ।

यस वर्ष निजी मुद्रण संस्थाले कक्षा १–५ का एक करोड १८ लाख थान र जनक शिक्षाले छापेका कक्षा ६–१० का एक करोड ५५ लाख थान पाठ्यपुस्तक ७७ वटै जिल्लामा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सूचीकृत एक हजार २६७ स्थानीय विक्रेतामार्फत विक्री वितरण गरिएको छ ।