२०७२ को विनाशकारी भूकम्पले धेरै भौतिक संरचना ध्वस्त पार्यो । भूकम्पपछि ध्वस्त भौतिक संरचना पुनःनिर्माण गरियो । ती संरचना भित्र विद्यालय भवन पनि पुननिर्मित भए । भवन आकर्षक तथा सुविधा सम्पन्न ठडिए तर भवन विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि हुन सकेन । कतिपय विद्यालयमा त भएका विद्यार्थी पनि घट्न थाले ।
भूकम्पपछि रामेछापका ८७ माध्यमिक विद्यालयको नयाँ भवन बन्यो । ती विद्यालयमा विद्यार्थीको सङ्ख्या दिनानुदिन घट्दै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
भवन त बन्यो गुणस्तर जस्ताको त्यस्तै रह्यो । सामुदायिक विद्यालयमा पढाउने शिक्षक, विद्यालय सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएका जनप्रतिनिाध, स्थानीय दलका नेताले सामुदायिक विद्यालयर्ला विश्वस गरेनन् । पैसा हुनेले निजी तथा सहर केन्द्रीत विद्यालय रोज्न थलेपछि दुरदराजका विद्यालय रित्तिन थालेका छन् । शैक्षिक गुणस्तर नहुनु, जनसङ्ख्या वृद्धिदर न्यून हुनु र सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप हुनु लगायतका कारणले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुका मुख्य कारण भएको जिल्ला शिक्षा तथा समन्वय एकाइ रामेछापका प्रमुख भरतबहादुर भट्टराईले बताए।
राससका अनुसार यसअघि जिल्लामा चार सयभन्दा बढी विद्यालय भए पनि विद्यार्थी कम भएकै कारण समायोजन भएर ३६० को सङ्ख्यामा झारिएका थियो । तर अझै विद्यार्थीको अभावमा ती विद्यालय एकअर्कामा समायोजन भई घट्ने अवस्थामा पुगेको उनले जानकारी दिए । यस्ता विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै जान लागेपछि सुधारको प्रयासका लागि जिल्ला शिक्षा समन्वय एकाइ, विभिन्न पालिकामार्फत हुने गरेका तालिम, गोष्ठी, अन्तक्रिया एवं छलफलले पनि खासै काम गर्न सकेको छैन ।
पूर्वशिक्षक गुञ्जबहादुर श्रेष्ठले सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने र गाउँमा समानुपतिक विकास नहुनुनै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जाने गरेको बताउछन् ।
जिल्लामा पाँच नमूना माध्यमिक विद्यालय छन् एक÷दुई वटाबाहेक ती विद्यालयले पनि खासै गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थी आकर्षण गर्न सकेका छैनन् ।
मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुगमन तथा नियमन गर्ने गरेका सबै विद्यालयसँग सम्बन्धित काम पालिकास्तरीय शिक्षा शाखाले गर्न थालेपछि अझै शैक्षिक गुणस्तर खस्कँदै गएको अभिभावकको बुझाइ छ ।
माध्यमिक तहसम्म निःशुल्क शिक्षा भने पनि सामुदायिक विद्यालयले पनि जथाभावी विभिन्न बहानामा शुल्क असुल्ने गरेको र घरमा रहेका आफूजस्ता अभिभावक सौखिन भएका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या नबढेको अभिभावक शान्ति प्रकाश दाहालले बताए ।
सबै तहका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउने खालको दक्ष शिक्षक नहुनु, शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमा नपढाउनु, शिक्षक नियुक्ति गर्दा अनुभवी र दक्ष एवं राम्रा शिक्षकलाई भन्दा हाम्रा÷(आफ्ना, आफन्त) शिक्षकलाई प्रक्रिया मिलाएर नियुक्ति गर्ने गलत अभ्यास बढेको कारण सामुदायिक विद्यालयको साख गुमेको अभिभावको धारणा छ । अभिभावक सञ्जय वाग्लेले शिक्षक सेवा आयोगबाट आधारभूत वा माध्यमिक तह पास गरेर आएका शिक्षकमध्ये पनि पहुँचवालालाई मात्र आफ्नो पालिकामा ल्याउन पहल गर्नु नै शैक्षिक गुणस्तर खस्कनु र विद्यार्थीको सङ्ख्या घट्नुका प्रमुख कारण भएको बताए।
यसो त कक्षा १ देखि १२, सम्म निःशुल्क पाठ्यपुस्तक, ५ कक्षासम्म दिवा खाजाको व्यवस्था, टोलटोलबाट विद्यार्थी ल्याउन विद्यालयमा बसलगायतका सुविधा पनि नभएको भने होइत तर यी सुविधा हुँदाहूँदै पनि विद्यार्थीको सामुदायिक विद्यालयमा आकर्षण बढ्न सकेको छैन ।
संस्थागत विद्यालयसँग नमूना माविको रुपमा रहेको मन्थली मावि मन्थली र मावि डहुलेभन्दा बाहेकका अन्य माध्यमिक विद्यालयले गुणस्तरमा भने प्रतिस्पर्धा गर्न सकेका छैनन् । त्यही कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न नसकेको हो ।
आफूले पढाउने विद्यालयमा आफ्ना बालबालिका अधिकांश शिक्षकले नपढाउने गरेकाले पनि शैक्षिक गुणस्तर खस्केको अभिभावकको आरोप छ ।
दक्ष तथा अनुभवी एवं युवापुस्ताका शिक्षकलाई नयाँ नियुक्ति दिने र २० वर्ष वा सोभन्दा बढी समयसम्म शिक्षण गरेका शिक्षकलाई पेन्सन दिनुपर्ने अभिभावक नारायणबाबु बस्नेतले बताए । ‘सधै राम्रा भन्दा हाम्रा शिक्षक नियुक्तिमा पहल गरिन्छ ।’ उनले भने, ‘खाली भएको दरबन्दी लुकाएर राहात, करारलगायतका विभिन्न शीर्षक दिएर शिक्षक नियुक्ति दिने परम्परा रहेसम्म सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको विश्वास फर्कन सक्दैन ।’