गलकोट, १९ वैशाख (रासस): बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन निर्माण भएको छ । पछिल्लो समय विद्यार्थीहरुको चाप बढ्दै गएपछि विद्यालय भवनको आवश्यकता खड्किएको थियो ।
धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) र नेपाल ट्रस युकेको सहयोगमा रु ३६ लाख ५० हजारको लागतमा सो विद्यालय भवन निर्माण गरिएको हो ।
विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा असहज भएको भन्दै उक्त संस्थाले विद्यालयको सुविधासम्पन्न पाँचकोठे भवन निर्माण गरेको डिआइआरडिसीले जनाएको छ ।
अधिकांश मजदूरका छोराछोरी अध्ययन गर्ने उक्त विद्यालयको सुविधा सम्पन्न भवन निर्माणपछि पठनपाठनमा सहज हुने डिआइआरडिसीका अध्यक्ष केवी राना मगरले बताउनुभयो ।
“हामीले गरीब तथा विपन्न परिवारले अध्ययन गर्ने विद्यालयमा सहयोग गर्दै आएका छौँ”, मगरले भन्नुभयो, “विद्यालयको शैक्षिक गुणस्तरका लागि यो भवनले महत्वपूर्ण भूमिका खेल्नेछ ।”
मगरका अनुसार विद्यालयलाई अपाङ्ग मैत्री बनाउनका लागि सुविधा सम्पन्न ह्विलचियर ¥याम्पसमेत निर्माण शुरु गरिएको छ ।
कक्षा १ देखि ८ सम्म अध्यापन गराउँदै आएको विद्यालयमा रहेका १४० विद्यार्थीमध्ये १३ जना शारीरिक अपाङ्गता भएका विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक धनकुमारी पराजुलीले बताउनुभयो ।
पूर्वाधारको अभावमा विद्यार्थीहरुलाई असहज तरिकाले अध्यापन गराउँदै आएकामा सुविधा सम्पन्न भवन निर्माण भएपछि सहज भएको पराजुलीले बताउनुभयो । सुविधा सम्पन्न भवनको बुधबार श्रमिक दिवसका अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुभयो ।