साउनभित्रै कक्षा १२ को परीक्षा गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएसैंगै राष्ट्रिय परीक्षा बोर्डले साउनको चौँथो हप्ता देखि परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।
बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको सो प्रस्तावप्रति सीसीएमसी सकारात्मक देखिएको छ । सीसीएमसीले अनुमति दिने बितिकै परीक्षा सञ्चालन गराउने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि मन्त्रीपरिषद्को निर्णय बोर्डमा लिखित रुपमा आएपछि बोर्डलाई परीक्षा सञ्चालन गर्ने बोटो खुल्छ । मन्त्री परिषद्को निर्णय आधिकारिक रुपमा बोर्डमा आउने बित्तिकै बैठकबसी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ । सम्भवतः भोलि साझ सम्म बोर्डमा आधिकारिक जानकारी आउने बोर्डको विश्वास छ ।“सीसीएमसीको निर्णय बोर्डमा आउने बितिकै परीक्षा तालिका सार्वजनिक गरिने छ ।” उनले भने, “हामी साउनको तेस्रो साता परीक्षा सञ्चालन गर्ने सोचमा छौं ।”
परीक्षा नियन्त्रक कृष्ण शर्माले भने, “परीक्षा केन्द्र कायम गरेरै परीक्षा सञ्चालन गर्ने निष्कर्षमा पुगेका छौँ । अब छिट्टै निर्णय हुनेछ ।” उनले गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन र लिखित परीक्षाको विधि नदोहोर्याइ निर्धारित पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन गर्ने बताए । उनले उच्च शिक्षामा अध्ययनका लागि विद्यार्थीहरुलाई निकै ढिला भइसकेकोले निकासका लागि परीक्षा साउनभित्रै सञ्चालन गर्नुपर्ने चुनौती रहेको बताए ।
परीक्षा नियन्त्रक शर्माले ‘होम सेन्टर’ कायम गरी परीक्षा सञ्चालन गर्न समस्या नहुने तर्क गर्छन् । “होम सेन्टर भएमा परीक्षार्थीलाई आफ्नै विद्यालयमा गएर परीक्षा दिन समस्या हुँदैन” उनले भने, “कक्षा १२ कोमात्र परीक्षा हुने भएकाले सामाजिक दूरी कायम गर्न पनि समस्या हुँदैन । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न सकिन्छ ।”