After SEE Portal

ब्ल्याक डेथ नबनोस् कोरोना कहर

Bridge Course

विश्वमा विभिन्न प्रकारका माहामारीले मानव सभ्यतालाई सङ्कटमा पारेको इतिहास छ । विभिन्न भाइरस तथा ब्याक्टेरियाले आक्रमण गरी मानव जातिलाई तहसनहस बनाएको पाइन्छ । सन् १३४७ देखि १३५२ सम्म एउटा माहामारीले युरोपमा लगभग २५ देखि ३० मिलिएन अर्थात् तीन करोड मानिसलाई मारेको थियो । यो माहामारीलाई ‘ब्ल्याक डेथ’ भनिन्छ । उपियाँको दुई हजार पाँच सय प्रजाति मध्ये एक प्रकारको प्रजातिबाट सरेको यो रोगले त्यस समयमा ठूलो आर्थिक, मानसिक, सामाजिक र मानवीय क्षति गरायो । हाड जोर्नी दुःख्ने, ज्वरो आउने, घाँटीको भाग र छाला कालो भई मृत्यु हुने भएकोले यसलाई ‘ब्ल्याक डेथ’ भनिएको थियो । यो रोगबाट सङ्क्रमित मध्ये दुई तिहाइको मृत्यु भएको थियो । 

यो मध्य एसियाबाट सुरु भई मङ्गोल लडाकु तथा व्यापारीको माध्यमबाट क्रिमियामा पुगेको थियो । यसमा बैसिलस ब्याक्टेरियाको प्रवाह तीव्र गतिमा भई मानिसको मृत्यु भएको थियो । खैरो रङ्गको मुसा वर्गको लोखर्केमा भएको उपियाँबाट मानिसमा आई सो उपियाँमा भएको ब्याक्टेरियाका कारण त्यतिका मानिसको ज्यान लियो । ‘ब्ल्याक सी’ मा चल्ने पानीजहाज हुँदै यो माहामारी इटालीबाट युरोपमा फैलियो । यो रोग मुसाबाट जहाजको माध्यमबाट इटाली प्रवेश गरेको थियो । यो रोग लागेको क्षेत्रका देशहरुमा ५० प्रतिशतसम्म जनसङ्ख्या मृत्युका कारण घटेको थियो । मध्ययुगिन युरोपको उक्त समयमा ठुलो समस्या आएको थियो । यो माहामारीले राज्य तथा विद्रोहीबीच पनि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको थियो । ठूला ठूला सहर तथा गाउँ परित्यक्त भएका थिए । सन् १३४७ देखि १३५२ सम्मको पाँच वर्षमा युरोप महादेशमा यस माहामारीका कारण जति मानिस मरे त्यति नै जनसङ्ख्या पुग्न युरोप महादेशमा दुई सय वर्ष लाग्यो । मृत्युका कारण काम गर्ने मानिसहरु पाइएनन् । उत्पादन ठप्प भयो । खानेकुराको अभाव भयो । सबैतिर सन्त्रास फैलियो । यसले मानव सभ्यतामा नराम्रो असर पार्‍यो । 

सन्दर्भ वर्तमानको

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा एक जना व्यक्तिमा भएको कोरोना भाइरसको सङ्क्रमण अहिले संसारभर फैलिएको छ । आजसम्म मर्नेको सङ्ख्या झण्डै साढे ६० हजार पुग्न लागिसकेको छ । अहिलेसम्म गरिएका प्रायः सबै खोज र अनुसन्धान प्रभावकारी देखिएको छैन । हरेक दिन फलानो देशका वैज्ञानिकले कोरोना भाइरसलाई मार्ने औषधि पत्ता लगाए भन्ने सनसनीपूर्ण समाचार आउँछन् तर ती वास्तविकताभन्दा टाढा छन् । उपचार र स्वास्थ्य सुविधाको पक्ष कमजोर र निरीह छ । 

नेपालको सन्दर्भमा हालसम्मको अवस्था ठिकै भए पनि भविष्यमा इटाली जस्तो नहोला भन्न सकिन्न । झाइरसको सङ्क्रमण अन्य देशबाट आएका व्यत्तिमा मात्र नभई उनीहरुको माध्यमबाट अन्य कति जनामा सरिसकेको छ ? लेखाजोखा हुनै बाँकीछ । हामी अझै गम्भिर भएका छैनौँ । यसलाई मजाकका रुपमा लिएका छौँ । गाउँगाउँ जाने, डाँडाकाँडा डुल्ने गरेको देखिएको छ । समूहमा लकडाउन सफल पारौं भन्दै व्यङ्ग्य गर्दै थुप्रै व्यक्तिसँगै उभिएर सेल्फी खिचेको फोटो सामाजिक सञ्जालमा पर्याप्त देख्न पाइन्छ । भेला, बैठक बाक्लिएको महशुस गरिएको छ । कुखुरा, खसी, बोका, राँगा भैंसी काटेर भोज गर्ने क्रम गाँउघरमा रोकिएको छैन । दसैं र तिहार एकैपटक आएजस्तो गरिएको छ । यसले एकान्त बासभन्दा पनि सामूहिकतातर्फ गएको भान भएको छ । 

गाँउबस्ती ध्वस्त हुने लक्षण देखिएको छ । एक्लै बस्न नसक्ने, वल्लाघर पल्लाघर, तल्लाघर माथ्लो घर गरेर लखर लखर हिँडिरहेका छौँ । यस्तै अवस्था कायम रहीरहने हो भने केही दिनमा भयावह परिस्थिति आउन सक्छ । यस्तो अवस्था गाँउबाटै सुरु हुने शङ्का उब्जाएको छ । भावनामा बगिरहेका छौँ । सबैलाई छकाइरहेका छौँ र काललाई निम्तो दिइरहेका छौँ । 

सरकारले दक्षिणको सबै नाकामा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा बस्नु नै उत्तम उपाय हो । त्यहाँबाट भाग्न पाउनपर्छ, घर जान पाउनुपर्छ भन्ने सोचमा हामी छौँ । सबै आफ्नै देशमा बस्न पाउन पर्छ तर अहिले संसारभर रहेका नेपालीलाई स्वदेशमा फर्काउन सम्भव छैन । जो जहाँ छ त्यहाँ सुरक्षित बस्ने हो । जहाँ छौँ त्यहाँ बसेर सिर्जनशील काम गर्नुपर्दछ । घरभित्रै रमाउन सिक्नुपर्दछ ।

अहिले अमेरिका संसारमा सबैझन्दा बढी कोरोना सङ्क्रमित व्यत्ति भएको देश बनेको छ । इटालीमा लास उठाउन सकिएको छैन । आफ्नै परिवारका सदस्यहरुको मृत शरीर हेरेर बस्नुको उफाय छैन । यो समय ‘ब्ल्याक डेथ’को जस्तो होइन । यसको सङ्क्रमण दिन दुई गुणा रात चौगुणाको दरले बढेको छ । सङ्क्रमण बढेमा नियन्त्रण गर्न हाम्रो सामर्थ्य छैन । जति यसलाई नियन्त्रण गर्न सकियो भने बाँच्न पाउनेछौँ भन्ने हामी सबैले बुझ्न सक्नुपर्दछ । 

लेखक कागेश्वरी मनोहरास्थित बालविकास माध्यमिक विद्यालयका माध्यमिक शिक्षक हुन् ।

 

A Levels MA
Thuprai - Books and E-books