
काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या अत्यधिक बढेको छ । पछिल्लो तथ्याकं अनुसार झण्डै ६४ हजार विद्यार्थीहरु विदेश अध्ययनका लागि भन्दै ‘नो अव्जेक्सन लेटर’ लिएका छन् । आर्थिक वर्ष २०७५-२०७६ मा नो अब्जेक्सन लेटर ‘एनओसी’ लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार असार मसान्तसम्म अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ । ८ हजार ५ सय २३ जनाले जापानको लागि एनओसी लिएका छन् ।
अमेरिका लागि १ हजार ४ सय ९१ र बेलायतका लागि ३ सय ५० जना विद्यार्थीले एनओसी लिएका थिए । एनओसी लिएका विद्यार्थीहरु विदेशमा जाने र उतैतिर रोजगारीमा लाग्ने बताइएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७२–०७३ मा ३२ हजार ४ सय ८९ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए भने ०७३–७४ मा सो संख्या बढेर ५० हजार ७ सय ३७ पुगेको थियो । ०७४ वैशाखदेखि ०७५ असार १९ गतेसम्ममा विदेश पढ्न जानका लागि नो अब्जेक्सन लेटर लिनेको संख्या ७१ हजार ७ सय ४३ पुगेको छ ।