After SEE Portal

भक्तपुर नगरपालिकाद्वारा यो वर्ष ११९ जनालाई शैक्षिक ऋण प्रदान

Bridge Course

भक्तपुर नगरपालिकाले यो वर्ष ११९ जना विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर शैक्षिक ऋण प्रदान गरेको छ ।

नगरपालिकाभित्र स्थायी बसोवास गर्दै आएका र स्वदेशमा नै उच्च शिक्षा अध्ययन गर्ने चाहने विद्यार्थीहरूलाई नगरपालिकाले सहुलियत ब्याजदरमा शैक्षिक ऋण वितरण प्रदान गर्न सम्झौता सुरु गरेको हो ।

शैक्षिक ऋणको लागि आवेदन परेकामध्ये अन्तवार्ताबाट छनोट गरी नगरापनलिकाले शैक्षिक ऋण प्रदान गरेको नगरपालिकाले जानकारी दियो ।

देशमा नै सक्षम र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमाजनशक्ति अभाव हुन नदिने उद्देश्यले यो कार्यक्रमको सुरुवात गत वर्षदेखि नै लागु गरिएको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

भक्तपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको उनले जानकारी दिए । उनले आर्थिक कारणले गर्दा कोही पनि पढाईबाट बञ्चित हुन नपरोस् भनी शैक्षिक ऋणको अवधारणा अगाडि सारेको बताए । आफ्नो विषयमा दक्षता हासिल गरी देश र समाजको सेवाको लागि काम गर्न मार्गनिर्देश समेत गरे ।

जनताको आधारभूत आवश्यकताभित्र पर्ने शिक्षा र स्वास्थ्य निकै महगिँदै गएको वर्तमान अवस्थामा नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीको निम्ति छात्रवृत्तिको पनि व्यवस्था गरेको बताए । प्रमुख प्रजापतिले भक्तपुर नपा ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको बताए ।

भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै शैक्षिक ऋण, छात्रवृत्तिलगायत प्रदान गर्दै आइरहेको चर्चा गर्दै भक्तपुर नपाले सञ्चालन गरेका शैक्षिक संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीहरूमा निकै प्रतिस्पर्धा हुने गरेको बताए ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर न्यून ब्याजदरमा रु. पाँच लाख सम्मको रकम वितरण कार्य अरु स्थानीय तहको लागि सिक्न योग्य भएको बताए । भक्तपुर नपाले चालेको यो कदमले देशको सेवामा समर्पित सभ्य, सुसंस्कृत र सक्षम नागरिक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित गरेको थियो । निर्देशिकामा स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु. पाँच लाखसम्मको ऋण दिने निर्णय व्यवस्था गरेको छ ।

निर्देशिका अनुसार नपाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको छ । नगरप्रमुख सुनिल प्रजापतिले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरीब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ ल्याइएको बताए ।ऋण दुरुपयोग हुनेप्रति सचेत हुँदै आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books