A Levels MA

बंगलादेशको विश्वविद्यालयको ठगी धन्दा, कालोसूचीमा परे पनि झुक्याएर विद्यार्थी बटुल्दै

कालोसूचिमा परेको बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (यूएसटीसी) द्धारा नेपाली विद्यार्थीलाई प्रलोभन देखाएर ठगिरहेको छ ।

कालोसूचीमा परेको बंगलादेशस्थित एक विश्वविद्यालयले नेपाली बजारमा चिकित्सा शिक्षा पढ्न योग्य विद्यार्थी तान्ने होडबाजी थालेको पाइएको छ । राजधानी दैनिकमा  प्रशान्त वली लेख्छन् बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (यूएसटीसी)ले चिकित्सा शिक्षा अध्ययनका लागि आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ । विश्वविद्यालय कालोसूचीमा परेको नेपाल मेडिकल काउन्सिलले पुष्टि गरेको छ । नेपाल मेडिकल काउन्सिलले बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (यूएसटीसी)मा विद्यार्थीलाई अध्ययनका लागि अनुमति नदिएको बताएको छ ।

काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले सो विश्वविद्यालयमाथि अझै अध्ययन जारी रहेको बताए । उनले भने, ‘बंगलादेशस्थित नेपाली दूतावासले अनुमति प्रदान गर्न भनेको थियो । तर, औपचारिक निर्णय अझै भएको छैन । क्वालिटीका हिसाबले ठीक छ या छैन भनेर काउन्सिलका तर्फबाट औपचारिक निर्णय भएको छैन ।’नेपालस्थित बंगलादेशी राजदूतावासले बंगलादेशका परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै अध्ययन अनुमतिका लागि सोधेको थियो । तर, बंगलादेशका परराष्ट्र मन्त्रालयले अहिलेसम्म बंगलादेशस्थित नेपाली दूतावासलाई अध्ययन अनुमतिका सन्दर्भमा केही जानकारी गराएको छैन ।

सो विश्वविद्यालयले ‘एडमिसन फर एमबीबीएस’ भन्दै सार्वजनिक सूचना जारी गरेको छ । सो विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीसहित आज (शुक्रबार) कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डीजीएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बीएम एन्ड डीसी)ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीनवटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको थियो ।

एसियन मेडिकल कलेज, अइची मेडिकल कलेज उत्तरा, बसुन्धरा एड–डिन मेडिकल कलेज, अब्दुल हमिद मेडिकल कलेज, ब्रह्मानबारिया मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, केयर मेडिकल कलेज, पार्कभ्यु मेडिकल कलेज, यूएस बंगला मेडिकल कलेज, चत्ताग्राम इन्टरनेसनल मेडिकल कलेज, विक्रमपुर भुइयान मेडिकल कलेज, मोनोअरा सिक्देर मेडिकल कलेज, नर्थन इन्टरनेसनल मेडिकल कलेज, केयर मेडिकल कलेज, सहबुद्धिन मेडिकल कलेज, अब–दिन बसुन्धरा मेडिकल कलेज, साफेना डेन्टल कलेज ढाका, नर्थन मेडिकल कलेज, सिटी मेडिकल कलेज, नाइटिंगल मेडिकल कलेज, सभार बीजीसी ट्रस्ट मेडिकल कलेजलार्ई भर्ना गर्ने अधिकार दिइएको छैन ।यस्तै, नेपाल मेडिकल काउन्सिलले जलालाबाद रागिब–राबेया मेडिकल कलेज, युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, सिल्हेत युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (यूएसटीसी) गोनोसास्थाया समाज भित्तिक मेडिकल कलेजलाई पनि विद्यार्थी भर्नाका लागि अनुमति दिइएको छैन ।

काउन्सिलमा दर्ता नभएको मेडिकल कलेजमा पढ्न जान नहुने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए । परराष्ट्र मन्त्रालयले २४ वैशाख २०७१ मा बंगलादेशको सरकारी मेडिकल कलेजमा एमबीबीएस र डेन्टल कलेजमा बीडीएस विषय अध्ययन गर्न मन्त्रालयबाट छनोट भएका विद्यार्थीलाई मात्रै पठाउनुपर्ने निर्णय गरेको थियो ।

विदेश अध्ययनमा जानुअघि नै अध्ययन अनुमतिपत्र र मेडिकल काउन्सिलबाट इलिजिबिलिटी लिनुपर्ने प्रावधान छ । युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (युएसटीसी)बाट एमबीबीएस अध्ययन गरेका डा. यम दुवाले पहिले अध्ययन गरेका विद्यार्थीबीचको जम्काभेट मात्रै हुने बताए ।उनले भने, ‘आज (शुक्रबार) विद्यार्थीहरूबीच गेटटुगेदर मात्रै हो । सामान्य औपचारिक कार्यक्रम मात्रै हुन्छ ।

चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले अवैध मेडिकल कलेजमा भर्ना हुन नहुने बताए । उनले भने, ‘विद्यार्थीहरू भ्रममा पर्नुहुँदैन । वैध कलेजमा भर्ना हुनुपर्छ । विद्यार्थीलाई कसैले पनि झुक्याउन पाउँदैन ।’ डाक्टर पढ्न ५ हजार नेपाली बिदेसिए चिकित्सा शिक्षा अध्ययनका लागि ६ वर्षको अवधिमा झन्डै ५ हजार नेपाली बिदेसिएका छन् । एमबीबीएस र बीडीएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी बिदेसिएको पाइएको छ ।

पछिल्लो तथ्यांकअनुसार ४ हजार ९ सय ६३ जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बाहिरी मुलुक गएका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार सन् २०१३ मा ५ सय ६५ जना, सन् २०१४ मा १ हजार ३ सय ७८, सन् २०१५ मा १ हजार ४ सय ६१, सन् २०१६ मा ४ सय ७८ जना बिदेसिएका छन् । यस्तै, सन् २०१७ मा ४ सय ९५ र सन् २०१८ मा ५ सय ८६ जना बिदेसिएका छन् ।

एमबीबीएस र बीडीएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी बिदेसिन थालेपछि विदेशमा अध्ययन गर्न जानका लागि नेपालमा लिइने प्रवेश परीक्षा उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले पछिल्ला दिनमा विदेश पढ्न जानेको संख्या केही घटेको पाइएको छ ।चिकित्सा शिक्षा अध्ययनका लागि नेपालबाट अधिकांश विद्यार्थी बंगलादेश, चीन र भारत जाने गरेका छन् ।

Thuprai - Books and E-books