Bachelors Portal

२५ दिनदेखि अनिर्णयको बन्दी कृषि विश्वविद्यालय

Managed Admission 2022

शक्ति संघर्षको चेपुवामा रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय पिल्सिएको छ । विगत २५ दिनदेखि सत्ता गठबन्धनको बन्धक बनेको विश्वविद्यालयमा अझै शैक्षिक वातावरण कायम हुन सकेको छैन । एमाले र काङ्ग्रेस समर्थक दुई समूहको झगडालाई राजनैतिक मलजल मिलेपछि विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्य ठप्प पारिएको छ ।

विश्वविद्यालयले असुरक्षाको कारण देखाएर गत भदौ १५ गते शैक्षिक तथा प्रशानिक गतिविधि अनिश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ । विश्वविद्यालयको छात्रावासमा एमाले र काङ्ग्रेस निकट विद्यार्थीविच भदौ १३ गते झडप भएको थियो । झडप हिंसामा बदलिने सम्भावना देखिएपछि विश्वविद्यालय प्रशासनले १४ गते छात्रावास खाली गराएको थियो । १५ गते विश्वविद्यालयका पदाधिकारीको बैठक बसिरहेको समयमा काङ्ग्रेस नेताको निर्देशनमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थीको एक समूहले ताला लगाएको थियो । ‘विद्यार्थीबीच भएको झडपले हिंसात्मक रुप लिएको छ, केही विद्यार्थीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने केही सामान्य घाइते भएका छन् ।’ ती पदाधिकारीले भने, ‘विश्वविद्यालयका संरक्षक तथा कुलपति भने तनावग्रस्त विश्वविद्यालयलाई हेरेर तुक्का घोकेर बसी रहेका छन् ।’

भदौ १२ गते साँझ विश्वविद्यालयको कञ्चनजंगा होस्टेलमा खाना खाँदा हल्ला भएको भन्दै सगरमाथा होस्टेलमा रहेकाबीच भनाभन भयो। भोलिपल्ट भदौ १३ गते दिउँसो साढे ३ बजे धौलागिरमिा बसिरहेका नेविसंघका विद्यार्थीलाई सगरमाथा होस्टेलमा रहेका अनेरास्ववियुले एक्कासि आक्रमण गरेको नेविसंघले आरोप लगाएको छ। नेविसंघले हल्ला गरेको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएपछि दुई पक्षबीच भनाभनमा सकिएको विवादले भोलिपल्ट उग्ररूप लिएको थियो । लाठी, ढुंगा, रडसहित विद्यार्थी आक्रमणमा उत्रिएका थिए ।  आक्रमणबाट कृषि संकायमा अध्ययनरत कमन दाहालको आँखा फुटेको छ। अर्का विद्यार्थी प्रितम भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ।

असुरक्षाको कारण देखाउँदै दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले कलेजका विभिन्न एकाइ र कार्यक्रमका विभागसहित मुख्य कार्यालयमा तालाबन्दी गरेको छ । 

घटनामा संलग्न रहेको आरोपमा महेश खड्का, एकराज पराजुली, बवन पुरी, चिरन खनाल, प्रशन्न पोखरेल, विनोद भण्डारीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले पक्राउ गरेको पोखरेल, भण्डारी र खनाल अदालतबाट तारेखमा छुटेका छन्। बाँकी फरार छन्।

विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले सरोकारवालासँग छलफल र संवाद जारी रहेको बताए । ‘हामीले बनाएको आन्तरिक छानबिन समितिले पनि प्रतिवेदन दिएको छ। तर, कारबाहीका लागि हाम्रो दायरा नभएकाले प्रधानमन्त्री, गृह र शिक्षामन्त्रीलाई जानकारी गराएको छु। जिल्लामा पनि सरोकारवाला पक्षसँग संवादमै छौं’, उपकुलपति  रेग्मीले भने, ‘फेरि झडप नहोस्, पठनपाठन राम्रोसँग सुचारु होस् भनेर त्यसको वातावरण तयार गर्न हामी लागेका छौं।’

जिल्ला प्रशासन कार्यालय चितवनले विश्वविद्यालयसँग छलफल गरेर टुंगो नलागेपछि असोज ५ गते शनिबार जिल्ला प्रशासनमा बैठक राखेको थियो । बैठकमा कुनै विषय टुङ्गो नलागेपछि  विश्वविद्यालयको तनाव अझै सकिएको छैन ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा शारदा थपलियाका अनुसार घाइते विद्यार्थीको उपचारका लागि सक्दो सहयोग गर्ने कार्यकरी परिषदले निर्णय गरेको जानकारी दिइन् । ‘भदौ १३ पछि उत्पन्न परिस्थितिबाट घाइते भएका विद्यार्थीको उपचारकालागि सक्दो सहयोग गर्ने कार्यकारी परिषदले निर्णय गरेको छ ।’ उनले भनिन्, ‘उच्च स्तरीय छानविन समितिको सिफारिस आधारमा कारबाही प्रक्रिया गरिनेछ, छात्रवासको प्राविधिक चेकजाँच र व्यवस्थापन गरेर मात्र सञ्चालन गरिने छ ।’

Select college / campus