एमफिल–पिएचडी अध्ययनरत तीन विद्यार्थीलाई ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’प्रदान

दर्शनाचार्य–विद्यावारिधी (एमफिल–पिएचडी) मा अध्ययनरत तीन जना विद्यार्थीलाई   ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’प्रदान गरिएको छ ।

 मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्गले सो आवार्डबाट पुरस्कृत  भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु विश्वविद्यालयका विद्यार्थी हुन् ।

 भाषा विज्ञान नेपालको ४५औं अन्तर्राष्ट्रिय सम्मेलनमा तीनै जनालाई सो पुरस्कार प्रदान गरिएको छ ।  मङ्सिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतिकरणको आधारमा उनस्हरुलाई नगद रू १० हजार, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत गरिएको छ ।

‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले सो अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै ‘बहुभाषिक कक्षाकोठमा सिकाइमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रुपात्मक तथा वर्णनात्मक प्रेरणार्थक सङ्केतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतिकरणको आधारमा गर्गले आवार्ड पाएको त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागका उपप्राध्यपक एवं कार्यक्रम आयोजक भाषा विज्ञान समाज नेपालका महासचिव डा तारामणी राईले बताए ।

हरेक वर्षको अङ्ग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउने गरेका छन् । यो अवार्ड नेपालको भाषाबारे अध्ययन, अनुसन्धान र लेखनमा लागेका भाषा वैज्ञानिकहरुले पाउने गरेको महासचिव डा राईले बताए ।  

डा समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा दानराज रेग्मी र डा भिमलाल गौतम (त्रिभुवन विश्वविद्यालय) रहेको मूल्याङ्कन समितिको सिफारिसका आधार अवार्ड वितरण गरेको हो । सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायत लगायत १० देशका भाषा वैज्ञानिकहरुको सहभागिता रहेको महासचिव डा राईले बताए।