Bachelors Portal

विश्वविद्यालय सञ्चालन प्रक्रिया सुरु गर्न ध्यानाकर्षण

सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया तत्कालअघि बढाउन ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्य धर्मराज पाठकले कहिले मेडिकल कलेज र कहिले विश्वविद्यालय स्थापना गर्ने भन्दै राज्यको रु सात अर्ब लगानी भइसकेको गेटामा निर्माण भएका संरचनामा तत्काल विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गराए ।

सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापनामा केन्द्र सरकारले विभेद गरेको भन्दै उनले प्रतिनिधिसभामा छलफलका क्रममा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक तत्काल पारित गरेर विश्वविद्यालय स्थापनाको काम अगाडि बढाउन माग गरे ।

प्रदेशसभा सदस्य जानकी बमले देशका अरु छ प्रदेशमा ‘एमबिबिएस’को अध्ययन अध्यापन भइरहे पनि केन्द्रको विभेदकारी नीतिका कारण सुदूरपश्चिम प्रदेशमा यो विषयको अध्ययन नभइरहेकाले गेटामा तत्काल विश्वविद्यालय सञ्चालन गर्न माग गरे ।

स्वास्थ्य शिक्षा प्रदान गर्ने देशका विभिन्न २५ स्वास्थ्य संस्थालाई दुई हजारभन्दा बढी कोटा अध्ययनका लागि छुट्याइएको समाचार सार्वजनिक भएसँगै गेटामा विश्वविद्यालय स्थापनाका लागि जनस्तरबाट गठन भएको सङ्घर्ष समितिले विश्वविद्यालय स्थापनाका लागि पुनःदबाबमूलक कार्यक्रम गरिरहेको छ ।

Thuprai - Books and E-books