भीमदत्तनगर, २७ माघ (रासस) ः नागरिक–सैनिक सम्बन्ध सुदृढीकरणका लागि नेपाली सेनाले आज सरस्वती पूजाको दिन विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गरेको छ । सेनाको भगतपुर ब्यारेकस्थित सिंहशार्दुल गुल्मले कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा रहेको शान्ति माध्यमिक विद्यालयमा पुस्तकालय हस्तान्तरण गरेको हो ।
पुस्तकालयलाई पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले उद्घाटन गर्नुभएको छ । टोलकै नामबाट ‘अंशुबर्मा पुस्तकालय’ स्थापना गरिएको सिंह शार्दुल गुल्मका गुल्मपति सेनानी विदुरध्वज अधिकारीले जानकारी दिनुभयो ।
पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद र सहयोगबाट प्राप्त गर्र्नाका साथै फर्निचरको समेत सेनाले व्यवस्था गरेको छ । “सेनाले नागरिकसँगको सम्बन्ध थप स्थापित गर्न विभिन्न सामाजिक काम गर्दै आएको छ ।”
सोही कार्यक्रममा विद्यालयका तर्फबाट गुल्मपति अधिकारीलाई सम्मानपत्रसहित अभिनन्दन गरिएको हो । कार्यक्रममा पुनर्वास नगरपालिका–१ का वडाध्यक्ष प्रतापबहादुर चन्द, विद्यालयका प्रधानाध्यापक राजेन्द्र रोकायालगायतको सहभागिता रहेको थियो ।