हामी नयाँ कोर्सका कि पुरानो ? (पाठक प्रतिक्रिया)

सम्पादक ज्यू ! नमस्कार ।

तपाईँ मार्फत् म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भागवता अर्याललाई केही प्रश्न सोद्न चाहन्छु । पहिलो प्रश्न तपाईँहरुको घरमा छोराछोरी छन् कि छैनन् ? छन् भने कति कक्षा पढ्न् ? कक्षा ११ पढ्छन् भने कुन पुस्तक पढ्छन् ? म अहिले अलिकति कुण्ठित छु । व्यग्र छु । त्यतिकै तनावमा पनि छु । त्यसकारण सोधाइमा गल्ति भए क्षमा चाहन्छु ।

म गरिब किसान बाबुआमाको मिहिनत र परिश्रमको पैसा खर्च गरेर एसईई सम्म दिएर अस्ति असोजमा मात्र कक्षा ११ मा पढ्न भनेर भर्ना भए । कलेजले पनि अनलाइनबाट कक्षा लियो । मेरो मिहनत र क्षमताले भ्याएसम्म मिहिनत गरें फलस्वरुप कलेजको पहिलो आन्तरिक परीक्षामा व्यवस्थापन समूहको होटल मेनेजमेन्टमा ४ जीपीए ल्याए । यसो भनी रहँदा तपाईँहरुलाई लाग्न सक्छ यो ठिटाठिटीले गफ दिइरहेछन् तर होइन । साच्चै हो । सरले फोन गर्नुहुन्छ र भन्नुहुन्छ भोलि तिमीहरुको बुक कुन पढ्ने निर्णय हुन्छ तर त्यो भोलि किन आएन ? जहिले मिति मात्र तोकियो ।

हजुरहरुलाई अवगत नै छ नि अहिले समय प्रतिकूल छ । विद्यालय वा कलेज गएर पढ्ने अवस्था छैन । घरमा पनि पढ्नेलाई के पढ्ने ? कसरी पढ्ने छुट्याउन सकिन । म पढ्न चाहन्छु । मिहिनत र परिश्रमले मेरा आमाबुबाको थाकेको र श्रम र पसिनाले चाउरी परेको अनुहारमा हाँसो भर्न चाहन्छु । तर यसका लागि पढ्नुपर्छ । काम गर्नुपर्छ । खै त हजुरहरुले यो कुरा बुझ्नु भएको । मेरा दिदीदाजुहरुले अघिल्लो वर्ष साउनदेखि नै कक्षा ११ पढ्नु भएको थियो तर मैले अहिलेसम्म पढ्न पाइन । सबैलाई थाहा छ, यो वर्ष कोरोनाका कारण शैक्षिक सत्र कहिले सुरु भएर कहिले सकिन्छ त्यो थाहा छैन । बिचमा पनि तपाईँहरुले पढ्न दिनु भएन । तपाईँहरु युद्ध राज्यसंग गर्नुस न किन हाम्रो भविष्यसंग गर्नुहुन्छ । किन हामीलाई फूटवल मैदान बनाउनु भएको ?

मैले सुनेको यस पटक कक्षा ११ मा सामाजिक तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयमा थप गरिएको छ रे । गणितलाई ऐच्छिक विषयमा राखिएको छ रे । जनक शिक्षा सामग्री केन्द्रले हाम्रा तीनवटै पुस्तक छापी पनि सकेको छ रे । तर हामीले त्यो बुक हेर्न पाएनौं । यस्तो नगरी दिनोस् । म फेरी पनि भन्छु युद्ध राज्यसंग गर्नुुस् है भागवता अर्याल ज्यू हाम्रो भविष्यसंग होइन ।

मन्त्रालयलाई पनि सोधाइ छ, हाम्रो भोलि अब कस्तो हुन्छ । कुर्सि फेरिए जस्तै नीति फेरिने संस्कार विकसित भएको हाम्रो देशमा नयाँ कि पुरानो कसले निर्णय गर्न । मैले कानुन पढेको छैन भर्खर एसईई मात्र गरेको हुँ । त्यसैले सुनेको कुरा मात्र गर्दैछु । सम्मानित अदालतले हाम्रो भविष्यसंग जोडिएको देख्दा सामान्य तर विषम परिस्थिति सिर्जना गर्न सक्ने यो पेसीलाई किन सातौं पटक सारेको होला ? कहिले फैसला हुँदो हो । सायद यो वर्ष सकिएपछि ।

सरकारले नयाँ पाठ्क्रमअनुसार नै सबै विद्यालयले कक्षा ११ मा पठनपाठन गराउन कात्तिक ३ गते निर्देशन दिइ सकेको छ । हामीलाई पनि सरले नयाँ करिकुलमबाटै पढाउनु हुन्छ । हामीलाई सबै विषयको तीनचार युनिट सम्म पढाइ सक्नु भएको छ । अब पुरानै कोर्स पढाउँ भन्नु भयो भने हामीले के गर्ने ? मैले समाचार सुनेको पाठ्यक्रम विकास केन्द्रले यो विषयको किनारा तत्काल लगाओस् भनेर आवश्यक प्रमाण दाबी अदालतमा प्रस्तुत गरिसकेको छ रे किन पेसी सरेको होला ? यसको जवाफ कसले दिन्छ । अनि हामी कुन कोर्स पढ्नु नयाँ कि पुरानो ? यसको जवाफको पखाईमा छु । सम्पादक ज्यू तपाईँको अनलाइन मार्फत् यी प्रश्न उहाँहरुसंग पुर्यादिनु भयो भने आभारी हुनेछु ।

कक्षा ११मा अध्ययनरत विद्यार्थी

नवीन प्रधान

कोटेश्वर २४