उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न र विद्यालयलाई शान्ति क्षेत्रको रूपमा कायम राख्न र उक्त क्षेत्रमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले अपिल गरेको छ ।
निर्वाचन तालिका अनुरुप सम्पन्न मनोनयन दर्ताको क्रममा कतिपय स्थानमा बालबालिकाको प्रयोग गरिएको, कार्यक्रमहरूमा बालबालिकाको प्रयोग गरिएको प्रति बालबालिका सिजपको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विगतका निर्वाचनमा समेत बालबालिकालाई जुलुसमा सहभागी गराइएको, दलगत प्रचारप्रसारका लागि बालबालिकाहरूलाई ट्याक्टर लगायतका सवारी साधनमा जोखिमपूर्ण रूपमा यात्रा गराइएको, विद्यालयका सवारी साधनहरूको प्रयोग गरिएको, दलगत प्रचारप्रसारका लागि झण्डा समेत बोकाई बालबालिकाको प्रयोग गरिएको लगायतका घटनाहरू सार्वजनिक भएका सिजपले जनाएको छ ।
बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई चुनौती दिदै कानुन विपरीत हुने यस्ता क्रियाकलापहरूप्रति सिजप गम्भीर रहेको जनाएको छ ।
सम्पूर्ण राजनीतिक दलहरूमा निर्वाचन आचारसहिता २०७८ को पालना गर्न र बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ तथा दफा ६६ र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ समेतको विरुद्ध हुने गरी कुनै पनि क्रियाकलापहरू नगर्न र बालबालिकाको मनोभावना, उनीहरूको सुरक्षाका साथै विद्यालयको शैक्षिक कार्यक्रमहरूमा प्रत्यक्ष असर पर्ने कुनै पनि गतिविधि नगर्न सिजपले अपिल गरेको छ ।