Bachelors Portal

एपेक्स कलेज र आईएनजीबीच साझेदारीको घोषणा

एपेक्स कलेजले इन्नोभेट नेपाल ग्रुप (आईएनजी) सँग साझेदारीको घोषणा गरेको छ ।

दुवै संस्थाको साझेदारीमा आईएनजीको नेतृत्वमा अन्तर्राष्ट्रिय पद्धति र अभ्याससहितको नवीनतम व्यवस्थापन र आईटी पाठ्यक्रम सम्मिलित अध्यापन गराउने गरी सहमति गरिएको हो ।

साझेदारीले एपेक्स कलेजमा उपलब्ध हुने सिकाइ, प्रविधि, माध्यम र श्रोतसाधनको थप विस्तार हुने  सहमतिपछि वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कलेजले २३ वर्षअघि पोखरा विश्वविद्यालयको सम्बन्धनमा बिबिए र बिसिआइएस कार्यक्रममार्फत आफ्नो सेवा आरम्भ गरेको थियो ।

यो कलेजले हाल मास्टर अफ बिजनेश एडमिनिस्ट्रेसन (एमबिए), एमबिए इभिनिङ, ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन (बिबिए), बिबिए इन ब्यांकिङ एन्ड इन्स्योरेन्स, बिबिए इन ट्राभल एन्ड टुरिज्म र ब्याचलर अफ कम्प्युटर सिस्टम एन्ड इन्फर्मेशन टेक्नोलोजी (बिसिएसआइटी) गरेर छ ओटा कार्यक्रम संचालन गर्दै आएको छ ।

इन्नोभेट नेपाल ग्रुप (आइएनजी) अन्तराष्ट्रिय योग्यता र विश्वव्यापी विज्ञतालाई स्थानीय सन्दर्भसँग मिश्रण गर्दै नेपाल लगायत केही एसियाली मुलुकहरुमा उच्च शिक्षामा नवीनतम प्रविधी भित्र्याउने संस्थाका रुपमा चिनिँदै आएको विज्ञप्त्मिा उल्लेख छ ।

 इन्नोभेट नेपाल ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकी भन्छन्, ‘आईटी र व्यवस्थापन दुवैतर्फ व्यवहारिक, व्यवसाय लक्षित शिक्षामा जोड दिने संस्थाका रूपमा आईएनजी चिनिएको छ । हाम्रा संस्थाहरूले विशेष अध्ययन अनुभव प्रदान गर्दै आएका छन् ।’

एपेक्स कलेजका निर्देशक सम्भव सिरोहिया भन्छन्, ‘पछिल्ला दुई वर्षमा हामीले के महसुस गर्यौं भने एपेक्स र आईएनजीले नेपालमा मानव पूँजी विकास गर्ने समान उदेश्य लिनुका साथै शैक्षिक विशिष्टता हासिल गर्ने र विद्यार्थीहरूलाई कक्षा कोठामा सीमित नराखी विविध प्लाटफर्महरू उपलब्ध गराउने साझा चाहना राखेका छन् ।’

‘हाम्रा दुवै संस्थाहरूले विद्यार्थीहरूका पहल, कार्यक्रम र अतिरिक्त कृयाकलापहरूलाई सक्रिय रूपमा हौसला प्रदान गर्दै आएका छन् । विद्यार्थीको क्षमता विकास र सफलताका लागि यो महत्त्वपूर्ण पाटो पनि हो ।’

एपेक्स कलेजका अध्यक्ष डा. मिनेन्द्र रिजालले एपेक्स र आइएनजीु साझेदारीले नेपालका शैक्षिक संस्थाका लागि कोसेढुङ्गाको काम गर्ने बताए ।

Thuprai - Books and E-books