प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सबै परीक्षा स्थगित गरेको छ । सीटीईभीटीबाट परीक्षामा सामेल हुने विद्यार्थी संख्या बढी भएको र कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको हुनाले तत्कालका लागि अर्को निर्णय नभएसम्म परीक्षा स्थगित गरेको हो ।
सीटीईभीटीले १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने यस अघि सूचना जारी गरेको थियो । त्यसैगरी परिषदले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि हाललाई परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए ।
‘संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा परीक्षा गराउन सकिँदैन भनेर स्थगित गर्ने निर्णय गरेका छौं ।’ उनले भने, ‘परीक्षार्थी संख्या पनि ठूलो छ । सूचना भोलिको गोरखापत्रमा प्रकाशित हुन्छ ।’
परिस्थिति सहज हुनासाथ एक हप्ता वा दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने परीक्षा नियन्त्रक केसीले जानकारी दिए ।