सबै वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ता सक्नै पर्ने

२०७८ जेठको पहिलो हप्तामा सञ्चालन गरिने भनिएको विद्यालय तहको वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ताबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकामा क्रियाशील शिक्षकका पेसागत संघ संगठनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

संघ संगठनले भर्खरै प्रेस विज्ञप्ती जारी गरी विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिनका लागि उक्त प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

‘समयमै परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने र नतिजा प्रकाशन पश्चात संक्रमणको अवस्था विद्यमान रहिरहे वैकल्पिक विधिबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सञ्चालनका लागि विद्यालयलाइ निर्देशन गर्ने अपिल गरेका छौं । ’विज्ञप्तिमा भनिएको छ, ‘वैकल्पिक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीहरूलाई सहज तवरबाट इन्टरनेटको सुविधा प्राप्त गर्नका लागि प्रबन्ध मिलाई दिन ध्यानाकर्षण गराउँछौं ।’

विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड १९ को महामारीको दोस्रो रूप युके भेरियन्ट विशेष गरी पछिल्लो समय, नेपालमा पनि तीव्र गतिमा फैलिरहेको हुँदा विषम परिस्थितिमा राज्यका जिम्मेवार निकायहरू संवेदनशील नदेखिन विडम्बनापूर्ण अवस्था प्रति शिक्षकका पेसागत संघसंगठनले दुःख प्रक्ट गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक विज्ञप्ती जारी गरिरहेको छ भने जनस्वास्थ्य विज्ञहरू विद्यालयमा अध्ययनरत बालबालिकाहरू उच्च जोखिममा रहेको कुरा बताइरहेका छन् तथापि यतातर्फ कसैको ध्यान जान सकिरहेको अवस्था नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अभिभावकहरू पनि आफ्ना बालबालिकाहरूलाई विद्यालयमा पठाउन डराइरहेको अवस्थाले गर्दा कक्षाकोठामा विद्यार्थीको संख्या दिनानुदिन घटिरहेको छ ।

कक्षाकोठामा विद्यार्थीको न्यून उपस्थितिले पनि के जनाइरहेको छ भने विद्यार्थीहरू पढ्ने मनस्थितिमा छैनन् भने अर्को तर्फ जोखिमका बिचमा कक्षाकोठामा जाने शिक्षकहरूको मनोबल पनि उच्च नदेखिएको नेपाल शिक्षक संघ महानगर समिति, काठमाडौंका अध्यक्ष नारायण गौतमले बताए ।

यस्तो विषमअवस्थामा पठनपाठन सञ्चालन गर्न कति न्यायोचित र श्रेयस्कर छ ? देशको संवैधानिक व्यवस्था अनुसार संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई विद्यालय सञ्चालन र बन्द गर्ने अधिकार प्रत्यायोजित गरिसकेको र स्थानीय तहले समयमै उचित निर्णय लिन नसक्दा महानगरका कुनै विद्यालय सञ्चालन हुने र कुनै विद्यालय सञ्चालन हुन नसक्ने अवस्था देखिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका महानगर समिति अध्यक्ष बाबुराम घिमिरेले बताए ।

विद्यार्थी एवम् अभिभावकहरूमा अन्योलको अवस्था सिर्जना भएकाले यस्तो अवस्थामा सम्बन्धित तहले जिम्मेवारी बोध गरेर एउटा निष्कर्षमा पुग्न निकै ढिलो भइसकेको नेपाल राष्टिय शिक्षक संगठन महानगर समिति अध्यक्ष डिल्ली शर्माले बताए ।