‘अक्षरा बाल साहित्य महोत्सव’ सम्पन्न

काठमाडौंको कागेश्वरी मनोहरास्थित अक्षरा विद्यालयले २४ विद्यालयका करिब सात सय विद्यार्थी सामेल गरेर ‘अक्षरा बाल साहित्य महोत्सव’ को आयोजना गरेको छ । करिव ४ हजार दर्शकले अवलोकन गरेको सो महोत्वसमा लेखकसँग साहित्य संवाद, साहित्यिक कार्यशाला, सांगीतिक प्रस्तुति, पपेट शो, पुस्तक प्रदर्शनीलगायतका विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

हिजो सम्पन्न सो महोत्सवमा तीन सत्रमा विभिन्न १३ वटा भाषा एवम् साहित्य शिक्षणसम्बन्धी कार्यशाल आयोजन गरिएको अक्षराकी प्रिन्सिपल अञ्जु भट्टराईले जानकारी दिइन् ।

विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले उद्घाटन गरेको महोत्सव करिव ५ घण्टा चलेको थियो । एक दिने बाल साहित्यिक महोत्सवमा पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई, चर्चित साहित्यकार अमर न्यौपानेलगायत विभिन्न लेखक तथा साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकारको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सर्जक र सहभागी शिक्षक, विद्यार्थी  तथा अभिभावकले जीवनमा साहित्यको महत्व, साहित्यमा कसरी रूची जगाउने, आफूलाई कसरी अभिव्यक्त गर्ने, लैंगिक समानतालगायतका विषयमा अन्तक्रिया भएको थियो ।