प्रदेश २ मा कृषि र विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालन गरिने

प्रदेश नं. २ मा कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालन गरिने भएको छ । यसका लागि प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र पर्साको विरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालनको तयारीम प्रदेश सरकार जुटेको हो ।

कृषि क्षेत्रको विकास गरी प्रदेशको आर्थिक सम्वृद्धि हासिल गर्ने लक्ष्य सहित प्रदेश सरकारले विश्वविद्यालयको अवधारणा अघि सारेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा अनुरुप विश्वविद्यालय सञ्चालनको तयारीका लागि प्रदेश सरकार आर्थिक स्रोत संकलनको तयारीमा जुटेको छ । प्रदेश सरकारलाई दुइटै विश्वविद्यालय सञ्चालनका लागि ५० करोड रुपियाँ बजेटको आवश्यकता रहेको छ ।

एउटा विश्वविद्यालय सञ्चालनको पूर्वाधार तयारीका लागि रु. २५ करोड जुटाउन प्रदेश सरकार लागिरहेको आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । रकमको चाँजोपाँजो मिल्ने बित्तिकै सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको समेत उनले जानकारी दिए ।

उनले भने “विश्वविद्यालय स्थापनाका लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यकको लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । यसका लागि रु २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले बताए ।

Thuprai - Books and E-books