Bachelors Portal

कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय को शैक्षिक भवनको शिलान्यास

हेटौँडा, ९ असार (रासस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौँडाको शैक्षिक भवनको आज एक समारोहबीच शिलान्यास गर्नुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रु १३ करोडको लागतमा निर्माण हुने उक्त भवन २० कोठासहितको पाँचतले हुनेछ । हेटौँडा १० स्थित फरेष्ट्री कलेजको हातामा करीब दुई कट्ठा जमीनमा सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौँडामा स्नातक तथा स्नातकोत्तर गरी ४२३ र विद्यावारिधिका दुई जना विद्यार्थी अध्ययनरत छन् ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले गुणस्तरीय एवं प्राविधिक शिक्षाको विकासमा प्रदेश सरकारले जोड दिएको उल्लेख गर्दै शिक्षाको विकासमा कुनै पनि किसिमको भेदभाव र पक्ष विपक्ष गर्न नहुने बताउनुभयो ।

प्रदेश सरकारले विश्वविद्यालय खोल्ने तयारी गरिरहेको बताउँदै उहाँले विगतमा सञ्चालन भइरहेको फरेष्टी कलेजको भवन जीर्ण भइसकेको र प्राकृतिक सम्पदा नासिँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

उद्योग, पर्यटन तथा वनमन्त्री अरुण नेपालले समृद्धिका लागि वन र कृषिलाई जीवनको आधार बनाउनुपर्ने बताउँदै त्यसमा विज्ञ विशेषज्ञले नयाँ दृष्टिकोण ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । वन र कृषिको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य रामचन्द्र राईले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी आर्थिक समृद्धि र विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँले शिक्षा क्षेत्रको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउँदै शैक्षिक पूर्वाधार विकासमा यो भवनले ठूलो सहयोग पुग्ने बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले यस विश्वविद्यालयले कृषि र वनको अध्ययन अनुसन्धान तथा शैक्षिक विकासतर्फ जोड दिएको बताउँदै यस क्षेत्रमा १० भन्दाबढी परियोजना सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सांसद जुनेली श्रेष्ठ, पूर्वसांसद ललित बस्नेत, सुभाषचन्द्र ठकुरी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर मनराज कोलाक्छपति लगायतले कृषि तथा वन क्षेत्रको विकासका लागि यो विश्वविद्याय सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

Thuprai - Books and E-books