शिक्षकलाई मुड्की हानेपछि

२००३ साल पुस २४ गते । कठाङ्ग्रिदो जाडो । उबेला जनसङ्ख्या पनि यति बिघ्न थिएन नि । तुलनात्मकरूपमा उबेला निकै चिसो । एसएलसी परीक्षा केन्द्र तोकिएको सरस्वति सदनमा विद्यार्थीहरु जम्मा भइसकेका थिए । दरबार हाइस्कुल, पाटन हाइस्कुल, जुद्ध पब्लिक हाइस्कुल र भक्तपुरको पद्म हाइस्कुल । यी बाहेक स्कुल नपढेका अर्थात प्राइभेट परीक्षार्थी पनि थिए । सरस्वति सदन भर्खरै बनेर तयार भएको थियो । नयाँ भवनमा एसएलसी परीक्षा दिन पाउने भनेपछि विद्यार्थीहरुको फुर्ति बढेकै थियो । 

तीमध्येका एक थिए– प्रमोदशमशेर जबरा । परीक्षा केन्द्र र उनको घरको दूरी बढीमा तीन सय मिटर । वीरशमशेरको हिटी दरबार उनको घर । नारायणहिटी दरबारको सामुन्ने थियो । दुई वर्षअघिमात्र त्यो दरबार भत्काइयो । वीरशमशेरका पुस्ता हुन् प्रमोदशमशेर । आर्थिकरूपमा निकै सम्पन्न परिवार थिए ।

उपत्यका बाहिरका २००१ सालमा परीक्षा केन्द्र कायम गर्न थालिएको थियो । सुरूमा वीरगन्जको त्रिजुद्ध हाइस्कुलमा परीक्षा केन्द्र कायम गरिएको थियो । पछि विराटनगरको जुद्ध हाइस्कुल पनि परीक्षा केन्द्र बन्यो । २००३ सालमा वीरगन्ज परीक्षा केन्द्रका कोही पनि उत्तीर्ण हुन सकेनन् भने विराटनगर परीक्षा केन्द्रका एक जना पहिलो र तीन जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका थिए ।

उबेलाको फष्र्ट क्लास अर्थात् कक्षा १० मा पढ्दै गर्दा प्रमोदशमशेर एक महिना विरामीका कारण थलिए । स्कुल जान सकेनन् । “विरामी नभएपछि स्कुल छुट्यो” उनले भने, “प्राइभेट दिने भनेर लहड चल्यो । पढ्न त नियमित विद्यार्थी नै भएर पढेको थिए । तर विरामी भएकाले प्राइभेट परीक्षार्थीका रूपमा परीक्षा दिए ।”

घरबाट टाढा नभए पनि उनी त्यसबेला घोडा चढेर नै स्कुल जान्थे । उनी कक्षा ६ बाट दरबार हाइस्कुलमा पढ्न थालेका थिए । त्यो भन्दा तलका तहमा घरमै ट्युसन पढेका थिए । दरबार हाइस्कुलका मास्टर वाशुदेव भट्टराई उनलाई ट्युसन पढाउन जान्थे । वटुटोलमा बस्दै आएका वाशुदेव विहान र साँझ हिटी दरबार पुग्थे र प्रमोदशमशेरलाई ट्युसन पढाएर फर्किन्थे । उनले मासिक एक सय रुपियाँ पाउँथे । त्यो रकम निकै ठूलो हुन्थ्यो उबेला ।

एसएलसी सेन्टअप परीक्षाको चलन सुरूदेखि नै थियो । कात्तिकमा हुन्थ्यो सेन्टअप परीक्षा । त्यो परीक्षा उत्तीर्ण हुनेहरूलाई त्रिचन्द्रको लाइबे्ररीको हलमा राखेर एसएलसी परीक्षाका लागि फाराम भराउने चलन हुन्थ्यो । फारामको १५ रुपियाँ र डिटेल मार्कसिटका लागि भनेर चार रुपियाँ लिइन्थ्यो । २००३ सालको एसएलसी परीक्षा सुरुमा पुस १७ गतेबाट सञ्चालन हुने भनेर परीक्षा तालिका सार्वजनिक गरिएको थियो । त्यस दिन सबै परीक्षार्थी परीक्षाकेन्द्रमा पुगेका थिए तर आठ दिनपछि सारिएको नयाँ तालिका देखेपछि परीक्षार्थीहरू फर्किनु प¥यो । शिक्षा विभागका डाइरेक्टर मृगेन्द्रशमशेर थिए । उनका छोरा आदित्यशमशेर पनि परीक्षार्थी थिए । आदित्यशमशेर ज्वरो आइ थलिएपछि उनका कारण परीक्षा सारिएको थियो । ”पुसको त्यस्तो जाडोमा एसएलसी परीक्षा दिनुपरेको थियो । बाफ रे बाफ ! कस्तो चिसो । परीक्षामा लेख्न निकै समस्या पथ्र्याे” उनले स्मरण गरे २००३ सालमा १७५ जना परीक्षार्थीले परीक्षा दिएका थिए ।

परीक्षाको नतिजा २००३ साल चैत १३ गते अपरान्ह सुनाइयो । प्रमोदशमशेर पनि उत्तीर्ण भए । दरबार हाइस्कुलका उपेन्द्रमान मल्ल सर्वाेत्कृष्ट भए । त्यो बेला प्रथम दर्जामा उत्तीर्ण हुनु भनेको फलामको च्युरा चपाएकोभन्दा बढी कठिन हुन्थ्यो । दरबार हाइस्कुलबाट दुई जना र बाँकीबाट एक एक जनामात्र पहिलो दर्जामा उत्तीर्ण भए । प्रमोदशमशेर दोस्रो दर्जामा उत्तीर्ण भए । प्राइभेट परीक्षार्थी सबै दोस्रो दर्जामा उत्तीर्ण भए, कोही पनि पहिलो हुन सकेन, तेस्रो पनि भएनन् ।

उत्तीर्ण हुनेहरूलाई हेडमास्टरले बोलाएर शिक्षा डाइरेक्टरदेखि प्रधानमन्त्रीका दरबारसम्म लिएर जान्थे र फलानोले फलानो श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरे भनेर भनिदिन्थे । विद्यार्थीहरूले दाम राखेर दर्शन गर्नुपर्ने चलन । राणाजीका छोरा उत्तीर्ण भए दोसल्ला पाउँथे । बालकृष्ण समले एक प्रसङ्गमा आफ्नो पुस्तकमा लेखेकै छन्, “कलकत्ताबाट पनि समाचार आइपुग्यो म प्रथम श्रेणीमा उत्तीर्ण भएछु । प्रधानमन्त्री महाराज चन्द्रशमशेरले रीतिअनुसार मलाई आठ सय रुपियाँको दोसल्ला दिए ।” १९७८ सालमा आठ सय रुपियाँको महत्व कति हुन्थ्यो भन्नै परेन । आठ सय रुपियाँ पर्ने दोसल्लामा पक्कै पनि केही न केही जडित हुन्थ्यो होला ।

प्रमोदशमशेरका अभिभावक र प्रधानमन्त्री पद्मशमशेरबीच सम्बन्ध सुमधुर थिएन । मोहनशमशेरसँग सम्बन्ध राम्रो थियो । परिवारले पद्मशमशेरलाई नरूचाउने भएकाले प्रमोदशमशेर दोसल्ला थाप्न सिंहदरबार गएनन् । “दाम राख्न जानु अनिवार्य थिएन । आउनू भनिन्थ्यो । प्रायः सबै जाने चलन हुन्थ्यो” उनले थपे, “म गइन । दोसल्ला पनि लिइएन । मोहनशमशेर प्रधानमन्त्री भएपछि दोसल्ला दावी गरे । मैले दोसल्ला लिएको थिएन भने । प्रधानमन्त्रीले दोसल्ला प्रदान गरे ।” एसएलसी परीक्षा उत्तीर्ण गरेपछि प्रधानमन्त्रीका हातबाट दोसल्ला लिनु राणा परिवारका लागि महत्व राख्थ्यो । त्यसैले पनि उनले त्यो दोसल्ला छोडेनन्, लिइछाडे ।

दरबार हाइस्कुलमा प्रायः बंगाली शिक्षक थिए । विद्यार्थीलाई निकै कुट्थे पनि । त्यो बखतका नामुद शिक्षक थिए अमरेन्द्रराज वशु । यिनी पनि बंगाली । सबैले अमर बाबु भन्थे । सारा विद्यार्थीले उनका हातबाट कुटाइ खाएकै थिए । सानोतिनो कुरामा पनि विद्यार्थीलाई कुटिहाल्ने । प्रमोदशमशेर उनका हातबाट कुटाइ खान वञ्चित भएनन् । उनले पनि खाए । “एक दिन पर्लजङ्गलाई अमर बाबुले पिटे । पर्लजङ्ग महसुर थिए । उनले अमर बाबुलाई बेस्सरी मुड्कीले हानिदिए । त्यस दिनबाट अमर बाबुले अरू विद्यार्थीलाई कुट्न छाडे” त्यसबेलाको घटना प्रमोदशमशेरलाई स्मरण छ । पर्लजङ्ग राणा २००४ सालमा एसएलसी परीक्षा उत्तीर्ण भएका थिए । केही महिनाअघिमात्र उनको निधन भएको छ । साहित्यकारहरूमध्ये गोपाल पाँडे असीमले पढाउँथे । उनले नेपाली विषय पढाउँथे । नाम चलेका अन्य साहित्यकारहरूले भने त्रिचन्द्र कलेजमा अध्यापन गर्ने गरेका थिए । बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा लगायत । 

मोहनशमशेरले प्रधानमन्त्री थिए । प्रमोदशमशेर त्रिचन्द्र कलेजका विद्यार्थी । हरेक शनिबार यिनी मोहनशमशेरको दरबारमा पुग्थे । उनले प्रमोदशमशेरलाई पढाइ खर्च भनेर तीन, चार सय रुपियाँ दिन्थे । त्यो रकम मोहनशमशेरको निजी खर्चबाट दिने गरेका थिए । जोड्दा वर्षभरिमा झण्डै चार हजार रुपियाँ जति पुग्थ्यो । त्यो रकम उनका लागि निकै ठूलो हुन्थ्यो । तीन, चार वर्षसम्म उनले पढाइ खर्च लिइरहे ।

मोहनशमशेरले उनलाई मोटरसाइकल पनि किनिदिएका थिए । भीएसए १२५ सीसीको नयाँ मोटरसाइकल त्यो बेला डेढ हजार रुपियाँमा पाइन्थ्यो । प्रमोदशमशेरको मोटरसाइकलको नम्बर २२२ थियो । नम्बरको अघिल्तिर केही लेख्ने चलन हुन्थेन, मात्र २२२ लेखिएको हुन्थ्यो । कलेज आउजाउ गर्ने साधन मोटरसाइकल बन्यो । त्यो बेला मोटरसाइकल सवार गर्ने भनेपछि शान नै बेग्लै । उनले भने, “मेरो मोटरसाइकलको नम्बरबाटै त्यो बेला कतिवटा थिए भन्ने अनुमान गर्न सकिन्छ । एक सय वटा थन्किएका थिए होलान्, एक सय वटा सडकमा गुड्थे होलान् । फाट्टफुट्ट मात्रै देखिन्थे ।” 

पेट्रोल नयाँ सडकमा पाइन्थ्यो । नेपाल आयल स्टोर । लोकनाथ जोशीको थियो त्यो पम्प । नयाँ सडकबाट खिंचापोखरी जाने बाटोतर्फ अमेरिकी पुस्तकालय रहेको ठाँउ नजिकै थियो पम्प । अर्काे पम्प थियो दरबारमार्गबाट बागबजार छिर्ने मोडमा । त्यो पम्पमा हरिनारायणले इन्धन बेच्थे । अर्काे पम्प कालीमाटीमा पनि थियो । मोटरसाइकल बेच्ने पसल नयाँ सडकमा थियो र अर्काे लाजिम्पाटमा । लाजिम्पाटमा कुलबहादुरले मोटरसाइकल बेच्थे । प्रमोदशमशेरले पनि त्यही किनेका थिए । कुलबहादुरको मोटर ग्यारेज पनि थियो । मोटर साइकल बिग्रिएपछि मर्मत गर्ने ठाँउ केही थिए ।

२००७ साल फागुन ४ गते तत्कालीन राजा त्रिभुवन सपरिवारका साथ भारतबाट स्वदेश फिर्ने दिन । आज राजा स्वदेश आउने भन्ने हल्ला उपत्यकामा सल्कियो । स्वागत गर्न बासिन्दाहरु गौचर विमानस्थल पुगे । प्रमोदशमशेर पनि पुगे । प्रधानमन्त्री मोहनशमशेर पनि स्वागतका लागि जानु औपचारिक थियो । मोहनशमशेर र प्रमोदशमशेर आमनेसामने भए । प्रमोदशमशेरलाई देखेर मोहनशमशेर झस्किए । भोलिपल्ट प्रमोदशमशेर मोहनशमशेको दरबारमा पुग्दा प्रधानमन्त्रीले “अब आउनुपर्दैन” भनिदिए । “मलाई त्यहाँ देखे । यो पनि त्रिभुवनतर्फ मिलेको छ भनेर उनका सुराकी कसैले पोल लगाइदिएको होलान् । मलाई दरबारमा देखेपछि मोहनशमशेरले किन दुःख गर्छाै अब आउनु पर्दैन भने । त्यस दिनबाट म सिंहदरबार जान बन्द भयो ।”