शैक्षिक शत्र २०८० सम्ममा सबै विषयको नयाँ पाठ्यक्रम लागु हुने (कक्षा ११ का नयाँ पाठ्यसामग्री सहित)

समयानुकूल पाठ्यक्रमको परिमार्जन गर्नुपर्छ भन्ने पाठ्क्रम निर्माणको सर्वमान्य सिद्धान्त अनुरुप शैक्षिक वर्ष २०८० सम्ममा पाठ्यक्रम विकास केन्द्रले विद्यालयको सबै तह र विषयको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । केन्द्रले यो वर्षैदेखि कक्षा १ र ११ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुरुप शैक्षिक वर्ष २०७७ मा कक्षा १ र ११ बाट सुरु गरी शैक्षिक वर्ष २०८० सम्ममा विद्यालय तहका सवै कक्षामा नयाँ पाठ्यक्रम लागु गर्ने केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए ।

निर्देशक भट्राईका अनुसार केन्द्रले सातै प्रदेशका २८ ओटा विद्यालयमा कक्षा ६—८ को नयाँ पाठ्यक्रम परीक्षणका लागि पठाएको छ । शैक्षिक वर्ष २०७६ मा परीक्षणका लागि स्वीकृत भएका कक्षा ६—८ का पाठ्यक्रम शैक्षिक वर्ष २०७७ मा सातै प्रदेशका २८ ओटा विद्यालयमा परीक्षण प्रयोग गरिने भएको हो । यो पाठ्क्रम, शैक्षिक वर्ष २०७८ बाट क्रमशः देशभर लागु हुने भएको छ ।

त्यसैगरी, शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३, ६ र १२ तथा २०७९ सालमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनेछ । २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्ने निर्देशक भट्टराईले जानकारी दिए ।

परिवर्तित पाठ्यक्रम अनुसार कक्षा ११ र १२ मा अनिवार्य विषयका रुपमा नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित विषयमध्ये एक गरी जम्मा तीन विषय अध्ययन गर्न पाउने भएका छन् ।

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित विषयमध्ये कुनै एक विषय छनोट गरी अध्ययन गर्ने विद्यार्थीहरूले अनिवार्य विषयको रूपमा छनोट नभएको विषय ऐच्छिक विषयको रूपमा समेत पढ्न पाउने गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा व्यवस्था गर्ने सम्बन्धमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले निर्णय गरिसकेको छ । केन्द्रले पछिल्लो समय २०७७–२०७९ सम्मका लागि कक्षा ११ का २६६ विषयका पाठ्यसामग्री समेत तयार गरिसकेको छ ।

यस्ता छन् कक्षा ११ का नयाँ पाठ्यसामग्रीहरुः

Thuprai - Books and E-books