After SEE Portal

अनुमानका भरमा शिक्षकको कासमू

Bridge Course

अनुमानका भरमा विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादन मूल्याङ्कन हुँदै आएको छ ।

विद्यार्थीको सिकाइ उपलब्धिलाई अक्षराङ्कनबाट प्रतिशतमा ढाल्ने भरपर्दाे सूत्र तर्जुमा हुन नसक्दा अनुमानकै भरमा कासमू गरिँदै आएको छ ।

यस क्रममा केही पालिकाका शिक्षा प्रमुखसँग सम्पर्क राख्दा सम्बन्धित विषयको भौगोलिक एकाइको औसत उत्तीर्ण प्रतिशतवापत सरदर ४०–५० अङ्कलाई आधार मान्ने गरेको बताए । प्रायः पालिकाहरूले विषयगत सिकाइको औषत जीपीए २.५ प्राप्त गरेका शिक्षकलाई पूरै तीन अङ्क उपलब्ध गराउने र सोभन्दा कम जीपीए ल्याउनेलाई दुई अङ्क दिने अभ्यास गरेको पाइएको छ ।

नियमअनुसार वैशाखको पहिलो सातासम्म शिक्षकले सुपरीवेक्षकसमक्ष पेस गर्नुपर्ने र यसरी पेस गरिएको दुई महिनाभित्र कार्यसम्पादन मूल्याङ्कन गरिसक्नुपर्ने हुन्छ । गत शैक्षिक सत्र गएको वैशाखसम्म सकिएकाले जेठ महिनाभरि कासमू फाराम भर्ने अवसर उपलब्ध गराइएको थियो । असारमा पेस भएका फाइल यतिबेला पालिकाहरूमा थन्किएका छन् । केही पालिकाले औषतमा ४० देखि ५० अङ्क दिएर फाइल टुङ्ग्याइसकेको बताएका छन् भने कतिपयले माथिबाट आउने स्पष्ट आदेशको प्रतीक्षामा आफू रहेको र केहीले पुरानै विधिअनुसार टुङ्ग्याउने बताएका छन् ।

शिक्षक सेवा आयोगले भने कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवासम्बन्धी कार्यविधिअनुसार गर्न पालिकालाई जानकारी दिइसकेको जनाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख धीरेन्द्र शर्मा लम्सालले मूल्याङ्कन गर्न कठिन भएको बताए । “सिकाइ उपलब्धिलाई एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (इमिस)सँग जोड्न सकिएको छैन” उनले भने ।

रुपन्देहीको देवदह नगरपालिकाका शिक्षा प्रमुख टीकाराम शर्माले सिकाइ उपलब्धिको औषत जीपीएका आधारमा मूल्याङ्कन गर्ने गरिएको बताउँदै भने, “शिक्षक सेवा आयोगले सूत्रका बारेमा परिपत्र गर्नुपर्छ, होइन भने हामीले प्रयोगमा ल्याएको विधिअनुसार नै मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।”

नियमअनुसार अध्यापन गरेको विषयको कक्षागत औषत उत्तीर्ण प्रतिशतलाई सम्बन्धित विषयको भौगोलिक एकाइको औषत उत्तीर्ण प्रतिशतले भाग गरी प्राप्त नतिजालाई तीनले गुणा गर्नुपर्ने हुन्छ । पालिका प्रमुखहरुको चासो, चिन्ता र समस्या भनेकै सम्बन्धित विषयको भौगोलिक एकाइको औषत उत्तीर्ण प्रतिशतका बारेमा देखिएको छ ।

विगतमा औषत उत्तीर्ण प्रतिशत स्रोतकेन्द्रस्तरमा रहन्थ्यो भने अब पालिकास्तरमा रहने गरेको छ । कासमूमा सिकाइ उपलब्धिका लागि तीन अङ्क, विशेष जिम्मेवारीका लागि एक अङ्क र अनुसन्धानका लागि एक अङ्क कायम गरिएको छ ।

शिक्षक सेवा आयोगका एक पदाधिकारीले डीप्लसभन्दा माथिका विद्यार्थीको मात्र औषत उत्तीर्ण प्रतिशत निकाल्नुपर्ने तर्क गरे । उनले शिक्षकले अध्यापन गर्ने विषयको डीप्लसभन्दा बढी ल्याउने विद्यार्थी सङ्ख्यालाई पालिकाभरि डीप्लसभन्दा बढी ल्याउने विद्यार्थी सङ्ख्याले भाग गरी प्राप्त भएको अङ्कमा एक सयले गुणा गरेमा सम्बन्धित विषयको भौगोलिक एकाइको औषत उत्तीर्ण प्रतिशत निकाल्न सकिने बताए । तर यो सूत्र भरपर्दाे र काम नलाग्ने भएको दावी पालिकाका शिक्षा प्रमुखको छ ।

बर्दियाका एक पालिकाका प्रमुखले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “यस्तो पनि मूल्याङ्कन विधि हुन्छ र ? अनुमानका भरमा कासमू गर्नु गलत कार्य हो भन्ने जान्दा जान्दै हामीले यस्तै गरी काम चलाउँदै आएका छौँ । केन्द्रले यस बारेमा स्पष्ट कार्यविधि नबनाइदिँदा समस्या आएको हो ।”

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले सहजीकरण गर्न कार्यविधि तयार गरी पालिकाहरूमा पठाइसकिएको बताए ।

कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवासम्बन्धी कार्यविधि, २०७९ तल पीडीएफमा हेर्न सकिनेछ ।

बढुवा कार्यविधि, २०७९

 

 

 

A Levels MA
Thuprai - Books and E-books