उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)

मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ । पेसा मुख्यतः आफ्नै लागि एक निश्चित आयस्रोत र जीवन निर्वाहको बाटो हुन जान्छ । आफ्नो दैनिक व्यवहारका लागि मात्र गरिएको कामले पनि कतिपय अवस्थामा जानीनजानी समाजको वृहत्तर भलाइको निम्ति योगदान पुर्याउन पनि सक्दछ । यसले आफूलाई मात्र नभएर समाजकै लागि मार्गदर्शन गर्न सक्दछ ।  शिक्षाले समाज रूपान्तरणमा कसरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ भन्ने दृष्टान्त टीकाराम रेग्मीको उपन्यास “उज्यालोतिर”ले दिएको छ ।

स्नातक तह पूरा गरी कलेजबाट बिदा हुँदै गर्दा सरिता, प्रयास र प्रभा तीनजना विद्यार्थी साथीहरूबीच भएको वार्तालापबाट उपन्यासको प्रारम्भ भएको छ । स्नातक तहको प्रमाण पत्र हात परेपछि आआफ्नै रुचि र अवस्थानुसार तीनैजना विद्यार्थीले भिन्न बाटो रोज्दछन् । साथीहरूको स्नातकोत्तर गर्ने कुराले सारितालाई भित्रैसम्म बिझाउन पुगेको थियो । आफूलाई आमाले कस्तो अवस्थाबाट यस तहसम्म पढाएकी थिइन् भन्ने कुराको चित्र मानस्पटलमा घुम्दा सरिताले बनावटी जवाफ दिएर टार्ने प्रयत्न गरेको पाइन्छ । साथी प्रभाले जस्तै उसले पनि शिक्षकको जागीर खानु नपरोस् भन्ने कामना गरेकी सरिता आखिर आफ्नै गाउँको विद्यालयमा शिक्षण पेसामा आबद्ध हुन्छे । प्रभाले खुलेर भन्थी – मास्टरको टपरे पेसा जिन्दगी गरिन्न । यस सन्दर्भमा मनमा उस्तै चिार भए तापनि प्रकट रूपमा भने सरिता चुप रहने गर्थी ।   विद्यालय जीवनदेखि नै सुरु भएको सरिता र प्रयासबीचको प्रेम सम्त्रन्ध कलेज जीवनको अन्त्यसम्म आइपुग्दा निक्कै राम्ररी झाङ्गिए जस्तो देखिए पनि परिणम हेर्दा एकतर्फी रहेछ कि जस्तो देखिन्छ । जमिन्दार परिवारको प्रेमी प्रयास सरिताले आफ्नो रुचिअनुसारको व्यवहार गरोस् भन्ने सामन्ती चाहना राख्दथ्यो तर सरिता त्यति बेहोसी देखिन्न । प्रयास आफ्ना हरेक अस्वाभाविक प्रस्तावमा सरिता असहमत हुँदा निराश हुने गरेको देखिन्छ । र, अन्त्यमा, कुलतको सिकार भएको, छोराको यही दुखद् अवस्थाले वृद्धावस्थाका बाबुआमासमेत निरीह अवस्थामा पुगेको दुखद् सन्देश सुन्नु पर्दछ । 

काल्पनिक र रोमान्सपूर्ण जीवन जिउने लक्ष्यअनुरूप आफ्नो दिनचर्या बनाएकी थिई प्रभाले । समयले आफ्नो बाटो गलत भएको, आफैंले खिसीट्युरी गरेको, होच्याएको शिक्षकको पेसा अँगालेकी सरिता भने त्यसै क्षेत्रमा पनि सबैकी प्रिय हुँदै गएकी, सम्मानित हुँदै गएकी पाउँदा सरिताको फ्यान भएर आफैंले घृणा गरेको पेसामा आबद्ध हुन आउँछे । सरिताको विवाह पनि विचार मिल्ने स्कुलका एक सहकर्मीसँग हुन्छ । यी उपन्यासका प्रमुख पात्रहरु हुन् तर यसको लक्ष्य र कथानक भने अत्यन्त व्यापक र उद्देश्यमूलक छ ।

यस उपन्यासका मुख्य पात्रहरु शिक्षक हुन् । स्कुल भवन परिसर र शिक्षकका शैक्षिक क्रियाकलाप उपन्यासको विषयवस्तु हो । प्रभावकारी कक्षा सञ्चालन र सिकाइका विविध क्रियाकलाप बारे शिक्षकहरूको पुरातन र नवीन सोचका बीचको द्वन्द्व र त्यसको समाधान यसको कथानक हो । सरिताले स्कुल शिक्षकको रूपमा प्रवेश पाएपछि नयाँ र पुरानो शिक्षणसिकाइ प्रक्रियामा शिक्षकहरूबीच द्वन्द्व शुरु हुन्छ र त्यसैको समाधान – विद्यालयको वृहत्तर प्रगतिसहित उपन्यासको अन्त्य हुन्छ ।

सरिता पहिले आफैँले पढेको स्कुलमा प्राथमिक तहकी शिक्षिकाको रूपमा नियुक्ति पाएपछि शिक्षण पेसालाई नै अँगाल्ने र परम्परागत सिकाइ प्रक्रियामा आमूल परिवर्तन गर्ने निर्णय गर्छे । त्यस सम्बन्धमा उसले निरन्तर अध्ययन अनुसन्धान गर्न थाल्दछे । एक, दुई शिक्षकबाहेक स्कुलका सम्पूर्ण शिक्षक समुदायका आँखाको तारो बन्दछे । प्रधानाध्यापकबाट समेत ‘तपाईंको उमेर भन्दा बढी समयको अध्यापन अनुभव भएका गुरुहरू हुनुहुन्छ, उहाँहरूसँग सल्लाह गर्नुहोस् । अन्यथा मलाई विश्वास लाग्दैन, ... बालबालिका बिग्रलान्, होशियार हुनुहोस्’ भनी उसलाई सचेत गराइन्छ । ‘केही समय दिनुभयो भने परिणाम देखिएला’ भनी सरिता आफ्नो उद्देश्यप्रति दृढ देखिन्छे ।

बाल मनोविज्ञान, मायालु व्यवहार, आवश्यकताको पहिचान र रमाएर सिक्ने वातावरणको तयारीलाई सरतिाले सिकाइको पूर्व शर्तको रूपमा राखेकी थिई । यिनै सर्तहरूका आधारमा उसले शिक्षण सामग्रीको व्यवस्था गर्ने र सिकाइ प्रक्रियालाई लागू गर्ने गर्थी । फलस्वरूप विद्यार्थीहरू रमाइलो साथ शिक्षण क्रियाकलापमा संंलग्न हुने गर्थे र उनीहरूको सिकाइ गुणात्मक हुन थालेको थियो । शिक्षामा गुणात्मक परिवर्तन ल्याउन एउटा शिक्षकको सङ्घर्ष, उसले सामना गर्नु पर्ने चुनौतीहरू, उसको आत्मविश्वास, धैर्यता र लगनशीलता नै यस उपन्यासका महत्वपूर्ण पक्षहरू हुन् । उपन्यासको कथानक अत्यन्त स्वाभाविक ढङ्गले अघि बढेको छ र विषयवस्तुको प्रस्तुतिकरण तर्कपूर्ण भएकोले पाठकको ध्यान कतै विकेन्द्रित नभै विद्यालयमा सुन्दर सिकाइ वातावरण अङ्गीकार गरेकाले आफ्ना सन्तान कस्ता हुने होलान् भन्ने चिन्ता नरहेको महत्वपूर्ण सन्देश दिँदै उपन्यास समाप्त हुन्छ  । 

चार दशकभन्दा बढी शैक्षिक क्षेत्रमा बिताएका एक अनुभवी विज्ञ शिक्षकद्वारा लेखिएको, विद्यालयहरूमा परम्परागत निर्देशित सिकाइको सट्टा उद्देश्यमूलक शिक्षण प्रक्रिया लागू गर्नुपर्ने आवश्यकता दर्शाउने योे सुन्दर मौलिक शैक्षिक उपन्यास हो । नेपाली साहित्यका परम्परागत उपन्यासभन्दा भिन्न दृष्टिकोणले लेखिएको हुँदा पुस्तक सबैलाई रोचक नलाग्न पनि सक्छ, तर शिक्षक वा शिक्षक हुन चाहने प्रत्येकले, अभिभावकले, शिक्षाविद्हरूले नपढी नहुने उपन्यास हो यो । शिक्षा मात्र होइन, विज्ञान, वित्त, बैङ्किक, कृषि, स्वास्थ्य आदि सबै क्षेत्रमा साहित्यले प्रवेश पाउनु पर्दछ । यस कलमकारले २०५४ सालमा एउटा ‘जागीर’ नाउँको वित्तीय क्षेत्रसँग सम्बन्धित कथा लेखी मिर्मिरे पत्रिकामा छपाएको थियो । तर यो कस्तो रह्यो भन्ने बारे यसले अहिलेसम्म कतैबाट केही टिप्पणि पाउन सकेको छैन । अन्त्यमा, शिक्षा, सिकाइ र शिक्षकको इज्जत राख्ने एउटा गहकिलो पुस्तकको सफलताको कामना गर्दछु । 

उज्यालोतिर (उपन्यास)

लेखकः– टीकाराम रेग्मी

प्रकाशकः– सुनवर्सी बुक हाउस, काठमाडौं

पृष्ठ सङ्ख्याः–३९५ र अतिरिक्त १७ गरी ४१२

मूल्यः– रु.५५५

 

Thuprai - Books and E-books