धमाधम वार्षिक परीक्षाको निर्णय गर्दै स्थानीय तह

कोरोनाका कारण शैक्षिक आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएका समयमा केही स्थानीय पालिकाले संविधान प्रदत्त आफना अधिकारलाई सदुपयोग गर्दै चालु शैक्षिक सत्रको बार्षिक परीक्षाको विकल्प निकाल्न सुरु गरेका छन् ।

केहीदिन अघिमात्र काठमाडौं महानगरपालिकाले अनलाइन, अफलाइन तथा अन्य विकल्पको प्रयोग गरी जेठभित्र कक्षा आठ बाँहेकका सबै वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिइसकेको छ । काठमाडौं महानगरजस्तै पोखरा महानगरपालिका नगर कार्यपालिकाकोको हिजोको निर्णयले विद्यालयलाई औपचारिक तथा अनौपचारिक तरिकाले वार्षिक परीक्षा सञ्चालन गरी वार्षिक परीक्षाको नतिजा प्रकशन गर्न विद्यालयलाई निर्देशन दिएको छ । महानगरले  विद्यालयहरुले सञ्चालन गर्ने शैक्षिक सत्र २०७७ का वार्षिक परीक्षाहरु कोभिड १९ को महामारीका कारण भौतिक उपस्थितिमा सञ्चालन गर्न सम्भव नदेखिएकाले  यस्तो निर्देशन दिएको हो ।

विद्यालयले यस पूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक एवं आन्तरिक मूल्याङकनका आधारमा विद्यार्थीको मूल्याङकन गरी वार्षिक नतिजा प्रकाशन गर्ने र शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना संवन्धी कार्य आसार एक गतेबाट मात्र सुरु गर्ने गरी निर्णय  गरेको छ । महानगरले  कक्षा ८ को वार्षिक परीक्षा संवन्धमा नगर स्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी पुनः सूचना प्रकाशन गर्ने भएको छ ।

त्यस्तै, इलाम नगरपालिकाले पनि आफ्नो मातहतका सबै विद्यालयलाई कोभिड १९ को संक्रमण दर दिनानुदिन बढ्दै गइरहेको र यसको प्रत्यक्ष प्रभाव बालबालिका तथा अभिभावकहरुमा समेत परेको हुँदा भौतिक रुपमा विद्यालयहरुमा उपस्थित भएर वार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न हालको अवस्थामा कठिनाइ भएकोले विद्यालयहरुले शैक्षिक सत्र २०७७ को वार्षिक मूल्याङ्कन गरी जेठ मसान्तभित्र नतिजा प्रकाशन गर्न इलाम नगरपालिकाले विद्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले सबै विद्यालयलाई यस शैक्षिक सत्रमा सञ्चालन भएको त्रैमासिक परीक्षा, निरन्तर विद्यार्थी मूल्याङ्कनलाई आधार मानी वा अन्य वैकल्पिक प्रक्रियाबाट मूल्याङ्कन गरी जेष्ठ मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने र आषाढ महिनाको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउन सबै विद्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाको हिजोको निर्णयानुसार कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयानुसार अर्को सूचना प्रकाशन गरिने र अन्य कक्षाको निर्देशनअनुसार गर्न निर्देशन दिएको छ ।

Thuprai - Books and E-books